यामीको ३३औँ जन्मदिन

काठमाडौँ । बलिउड अभिनेत्री यामी गौतमले आज आफ्नो ३३औँ जन्मदिन मनाइरहेकी छन् । यामीले सन् २०१२ मा चलचित्र ‘विक्की डोनर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उक्त चलचित्रमा उनी आयुष्मान खुरानाको अपोजिटमा देखिएकी थिइन् ।

आफ्नो डेब्यू चलचित्रमा नै यामीले ठुलो जोखिम उठाइन् किनभने यो चलचित्रको विषय सामान्य बलिउड चलचित्रको भन्दा अलि फरक थियो । यो चलचित्र भारतीय समाजमा कुरा गर्न समेत अप्ठ्यारो मानिने बाँझोपन र शुक्रकीट दानको विषयमा आधारित थियो ।

एक कार्यक्रममा यस चलचित्रको विषयमा कुरा गर्दै यामीले भनेकी थिइन् , ‘जब मैले अडिसन दिइरहेको थिएँ‚ मसँग बलिउड चलचित्रमा डेब्यू गर्ने बाहेक कुनै विकल्प थिएन । किनभने मैले लामै समय सङ्घर्ष गरेर पनि चलचित्र पाउन सकेकी थिइनँ ।’

‘मैले सबै कुरा एक्लै गरेँ, त्यो बेला मेरो पछाडि कोही पनि थिएन, कसैको साथ थिएन । जब मैले ‘विक्की डोनर’का लागि अडिसन दिएँ‚ तब बल्ल मैले कास्टिङ डाइरेक्टरलाई चलचित्र के विषयमा बन्ने हो भनेर सोधेकी थिएँ‚’ उनले भनिन्‚ ‘कास्टिङ डाइरेक्टरले कुनै प्रतिक्रिया दिएनन् र मुस्कुराए मात्रै । चलचित्रका लागि छानिएपछि मलाई यसको विषयमा थाहा भयो । मैले यो कुरा अब अभिभावकलाई बताउन जरुरी छ । मेरो बुबाले मलाई चलचित्रको बारेमा सोध्नुभयो र मैले उहाँलाई चलचित्रको स्क्रिप्ट नै दिएँ । स्क्रिप्ट पढेर आमाबुवाले चलचित्र धेरै राम्रो रहेको बताउनुभयो ।’

यो चलचित्र निकै सफल भयो । यसले आयुष्मान र यामीको करियरलाई उचाई दियो । त्यसपछि यामीले बदलापुर, काबिल, उरीः द सर्किजल स्ट्राइक, बालाजस्ता चलचित्रमा काम गरिन् ।

यामीका लागि वर्ष २०२१ विशेष रह्यो । उनले ४ जुनमा चलचित्र निर्माता आदित्य धरसँग विवाह गरिन् । यामीको गृह नगर हिमाचल प्रदेशको विलासपुरमा विवाहको सम्पूर्ण कार्य गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *