एमाले महाधिवेशन

ओली छलफलमै, रावलले माग्न थाले भोट

चितवन । महाधिवेशनका लागि तोकिएको अन्तिम दिनसम्म पनि नेकपा (एमाले)ले अझैसम्म नयाँ नेतृत्व टुङ्ग्याउन सकेको छैन । १९ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ३०१  सदस्यीय केन्द्रीय कमिटी टुङ्ग्याउने जिम्मा पाएका पार्टी अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग लगातार संवादमा छन् । तर पनि सहमति जुट्न सकेको छैन । त्यसो त ओलीलाई खास गरी रावल, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू र संस्थापन पक्षलाई मिलाएर लानुपर्ने चुनौती छ ।

आफ्नै समूहलाई मिलाउन नसकिरहेका ओलीले अहिले पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतसँग सौराहाको पार्क सफारी होटलमा छलफल गरिरहेका छन् । एमालेमा रहेका पूर्वमाओवादी धारले एक उपाध्यक्ष, एक उपमहासचिव र एक सचिव मागेको एक नेताले बताए । उनकाअनुसार अहिले ओली-पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूबीच यही विषयमा छलफल भइरहेको छ ।

जसै ओलीले आफ्नै ‘टिम’ निर्माण गर्न सकिरहेका छैनन् । वरिष्ठ उपाध्यक्ष र अध्यक्षपछिका कार्यकारी पद महासचिवमा ओलीनिकट नेताहरूले ‘बार्गेनिङ’ गरिरहेका छन् । आफ्नै ‘टिम’ मिलाउन धौधौ परेका ओलीले अहिले पूर्वमाओवादी धारका नेताहरूसँग छलफल गरिरहेका छन् ।

ओली छलफलमा व्यस्त हुँदा अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले भने तीव्र प्रचारप्रसार थालेका छन् । आइतबार बिहानै घोषणापत्रसमेत सार्वजनिक गरेका रावलले बन्द सत्र स्थलमा पर्चारपम्पलेट बाँडिसकेका छन् । कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएका रावलले वर्तमान अध्यक्ष ओलीले नै छोड्नुपर्ने तर्क दोहोर्‍याउँदै आएका छन् । उनलाई मनाउन ओलीले अनेक तरिका अपनाइरहेका छन् । ओलीले विभिन्न नेताहरूलाई रावलकहाँ पठाइरहेका छन् । यद्यपि रावलले एउटै जवाफ दिँदै आएका छन्, ‘मैले ब्याक गियर लगाउँदिनँ ।’

यसपछि ओलीलाई थप सकस भएको छ । यद्यपि ओलीले रावलको अडानलाई ठूलो रूपमा नलिएको उनी निकट एक नेता बताउँछन् । त्यसलाई ठूलो रूपमा लिनुपर्दैन । यो मिलिहाल्ने कुरा हो, ‘ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘यो मिल्छ ।’ तर, रावललाई ओलीसँग भेट गराउने कोसिस भइरहेको छ ।  ओली छलफलमा व्यस्त हुँदा रावलले चुनावको प्रचार प्रसारसमेत गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *