एमाले महाधिवेशन

पदाधिकारीमा रस्साकस्सी, अर्को प्यानल बन्न सक्ने !

चितवन । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ । सर्वसम्मत गर्ने प्रयास भइरहेपनि नेताहरूले नै १९ सदस्यीय पदाधिकारी चयन गर्न निर्वाचन हुने सम्भावना बढेको बताएका छन् । आकांक्षीहरू धेरै भएकाले पद थप गर्दा पनि व्यवस्थापन गर्न सकस भएपछि निर्वाचन हुने सम्भावना बढेको हो ।

सचिवमा उम्मेदवारी दिने बताएका नेता गोकुल बाँस्कोटाले निर्वाचन हुने सम्भावना बढेको संकेत गरे । यसअघि, असोजमा सम्पन्न पार्टीको प्रथम महाधिवेशनले १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउने निर्णय गराएपनि आकांक्षी धेरै भएपछि शुक्रबार सौराहामै बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै १९ सदस्यीय पदाधिकारी हुने बनाएको छ, जसलाई आजको बन्द सत्रले अनुमोदनसमेत गरेको छ ।

यद्यपि अझै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी टुङ्ग्याउन सकिरहेका छैनन् । खासगरी कार्यकारी पदको नेतृत्व टुङ्ग्याउन ओलीलाई सकस परिरहेको छ । अध्यक्षमा आफैँ सर्वसम्मत रूपमा दोहोरिने उद्देश्यका साथ विधान महाधिवेशनमा आफू अनुकूल राजनीतिक विश्लेषण गराएका ओलीलाई बहालवाला उपाध्यक्ष भीम रावलले चुनौती दिँदै अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराउने बताएका छन् ।

यससँगै अध्यक्ष पददेखि नै नेतृत्व टुङ्ग्याउन सकस परेको हो । रावलले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । मकालुखबरसँग रावलले भने, ‘फिर्ता लिन उम्मेदवारी दिने होइन नि । ५ भोट मात्रै आए पनि आओस्, फिर्ता लिन्नँ ।’ त्यसो त ओलीले रावललाई वरिष्ठ उपाध्यक्षको प्रस्ताव गरेका छन् । यद्यपि रावलले अस्वीकार गरेका छन् । ओलीनिकट एक नेताले भने, ‘उहाँलाई अध्यक्ष नै चाहिने रे । कम्प्रोमाइज गर्नुहुन्न रे । अब यसलाई टुङ्ग्याउने जिम्मा अध्यक्ष कमरेडकै हो ।’ यससँगै अध्यक्ष पदमै निर्वाचन हुने सम्भावना बढेको छ ।

पार्टीको दोस्रो ठूलो पद वरिष्ठ उपाध्यक्षमा समेत रस्साकस्सी देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ्ग र ईश्वर पोखरेलले दाबी गरिरहेका छन् । यसअघि घनश्याम भुसालले पनि वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिने अडान लिएपनि सुवासचन्द्र नेम्वाङ्गले भेटेर ‘तपाईँ उपाध्यक्षमै उठ्नुस् भनेपछि भुसाल उपाध्यक्षका उम्मेदवार बन्न तयार भएका छन् ।

यसअघि ओलीले नेम्वाङ्गलाई भेटेर पार्टीले बहुमत ल्याएर सरकारमा गएपछि राष्ट्रपति बनाउने आश्वासन दिएको तर उनले त्यसलाई अस्वीकार गरेको उनीनिकट श्रोतले बताएको छ । उनले ओलीलाई भेटेर ‘अहिलेसम्म तपाईँलाई समर्थन गरेँ अब मलाई पनि सहयोग गर्नुपर्‍यो’ भनेको उनी निकट श्रोत बताउँछ । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङ यससँगै योसँगै वरिष्ठ उपाध्यक्षमा नेम्वाङ र पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुने सम्भावना बलियो बन्दै गएको छ ।

अध्यक्षपछिको प्रमुख कार्यकारी पद महासचिवका लागि पनि शंकर पोखरेल र विष्णु पौडेल एकले अर्कोलाई नछोड्ने अडानमा छन् । अध्यक्ष ओलीले एकै पदमा नउठ्न दुबै जनालाई भनेपनि उनीहरूले मानेका छैनन् । महासचिवमा सुरेन्द्र पाण्डे पनि उठ्ने तयारीमा छन् । ओलीले पोखरेल र पौडेललाई मिलाउन नसक्ने अवस्था बन्दै जाँदा निर्वाचन हुने सम्भावना बढेको एमालेका नेताहरू बताउँछन् ।

यी दाबेदारहरूका कारण अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिव साथ दिने बाहेकका नेताहरूको गठबन्धन हुनसक्ने सम्भावना पनि बढेको छ । तर नेता नेम्वाङले भने यसलाई अस्वीकार गरे । मकालुखबरको जिज्ञासामा नेम्वाङले भने, ‘अब हामी सर्वसम्मतिबाट अगाडि बढ्ने भन्दैछौँ, तपाईँ समीकरणको कुरा गर्नुहुन्छ । यो त सिर्फ तपाईँहरूको व्याख्या हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *