संख्या थपेपनि पदाधिकारी टुङ्ग्याउन ओलीलाई सकस

चितवन । एमालेको नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी टुङ्गो लगाउन सकस परेको छ । पदाधिकारीमा सकेसम्म चुनाव नगर्ने र सर्वसम्मत गर्ने प्रयास भइरहेको बताइए पनि त्यो सम्भावना कमै मात्र रहेकाले आकाङ्क्षीहरू अध्यक्ष केपी शर्मा ओलीको टिममा पर्ने कोसिस गरिरहेका छन् ।

१९ सदस्यीय पदाधिकारी टुङ्ग्याउने कोसिसका कारण पनि बिहान १० बजेपछि शुरू हुने भनिएको बन्द सत्र ५ घण्टा ढिलो गरी शुरू भएको छ । पदाधिकारीबारे अध्यक्ष केपी शर्मा ओलीले लगातार नेताहरूसँग परामर्शमा छन् । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि विधान महाधिवेशनको निर्णय परिवर्तन गर्दै ४ जना पदाधिकारी थपेपनि नेताको व्यवस्थापनका लागि अध्यक्ष ओलीलाई हम्मे परेको छ ।

ओलीले महासचिव ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ्ग, शंकर पोखरेललगायतका नेताहरूसँग छलफल गरिरहेका छन् । नेम्वाङ्ग र ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्षको दाबेदार हुन् । उनीहरूलाई मिलाउन ओलीलाई सकस परिरहेको छ । श्रोतकाअनुसार उनले नेम्वाङलाई राष्ट्रपति बनाउने सर्तमा मनाउने कोसिस गरे पनि नेम्वाङले नमानेको र नयाँ चुनावपछि एमालेकै राष्ट्रपति हुने भन्ने कुनै ग्यारेन्टी नभएको जवाफ दिएका छन् ।

ओलीलाई महासचिवमा पनि कसलाई समर्थन गर्ने भन्ने समस्या परेको छ । आकाङ्क्षीहरू विष्णु पौडेल र शंकर पोखरेललाई भेटेर एकै पदमा नउठ्न सुझाव दिएपनि दुबैजना महासचिवको दाबीबाट पछि नहटेपछि कसरी व्यवस्थापन गर्ने भन्ने तनाव ओलीलाई भएको छ । महामन्त्रीमा सुरेन्द्र पाण्डे पनि दाबेदार छन् ।

यस्तै सचिवमा पनि धेरै आकाङ्क्षी हुँदा समस्या भएको छ । एमालेले शुक्रबार राति मात्र विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाएको थियो । नेताहरूको व्यवस्थापनका लागि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो बनाइएको छ । यस्तै २२५ सदस्यीय केन्द्रीय कमिटीलाई पनि ३०१ सदस्यीय बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *