राखेप सदस्य सचिवको दाबेदारमा दीपक विष्टदेखि छुम्बी लामासम्म

काठमाडौँ । तत्कालीन सदस्य सचिवको बर्खास्तीको एक महिनापछि नयाँ सदस्यसचिव नियुक्तिको लबिङ तीव्र बनेको छ । गत १ कार्तिकमा बसेको मन्त्री परिषद् बैठकले राखेपका तत्कालीन सदस्यसचिव केशव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेपछि नयाँ सदस्यसचिव नियुक्तिको प्रक्रिया शुरू भएको हो ।

खेलकुद मन्त्रालयले नयाँ सदस्यसचिवकोलागि आवेदन माग गरेकोमा १८ जनाले आवेदन दिएका छन् । मन्त्रालयले ४ मंसिरमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम ७ दिन भित्र योग्यता पुगेका उम्मेदवारलाई सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरेको थियो ।

मन्त्रालयले सह-सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ रहेको तीन सदस्यीय ‘सदस्य सचिव सिफारिस समिति’ गठन गरिएको थियो । आवेदन दिएका १८ जनाको कार्य योजना प्रस्तुतिपछि मन्त्रिपरिषद्मा केही नाम सिफारिस गरिने र त्यसैमध्येबाट १ जना सदस्यसचिव नियुक्त गरिने मन्त्रालयले जनाएको छ ।

१० मंसिर सम्ममा आवेदन दिएका १८ जना दाबेदारले अब सिफारिस समिति समक्ष आफ्नो राय सहित कार्य योजना पेश गर्नेछन् । आवेदन दिएका १८ जनामा पूर्व ओलम्पियन दीपक विष्टदेखि माओवादी केन्द्र निकट टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामासम्म रहेका छन् । माओवादी केन्द्रका मन्त्री रहेकाले माओवादी निकटले नै सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको मन्त्रालय श्रोत बताउँछ ।

यस्ता छन् सदस्यसचिवका आवेदकहरू
अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, दीपक विष्ट, भरत चालिसे, छुम्बी लामा र सुनिल नकर्मी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *