हाम्रो पुस्ताले जस्तो दुःख अबको पुस्ताले व्यहोर्न नपरोस् : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो आफ्नो पुस्ताले व्यहोर्नुपरेको जस्तो दुःख अबको पुस्ताले भोग्न नपरोस् भन्नेमा प्रतिबद्ध रहेको बताएका छन् ।

चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले हिजो राजनीतिक परिवर्तनका लागि आफूहरु जेलनेल बस्नुपरेको स्मरण गर्दै अब त्यस्तो अवस्था नआओस् भन्नका लागि प्रतिबद्ध रहेको बताएका हुन् ।

‘दलहरूबीच संवाद र छलफलमार्फत समस्याको समाधान निकाल्न चाहन्छौँ,’ उनले भने, ‘हामी सबै जेल बसेका साथीहरू हौँ, सँगै भोगेका हौँ, हिजो भोगेका दुःखलाई ध्यानमा राखेर भोलि नेपालीले दुःख नपाओस् भनेर ध्यानमा राख्नु पर्छ ।’

सम्बोधनका क्रममा प्रधान मन्त्री देउवाले दलहरूको बिचमा निरन्तर सहकार्यका आधारमा विमतिहरूलाई संविधानमा भएको व्यवस्थाअनुसार टुङ्गो लगाई सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्ने बताए ।

सबै मिलेर संविधान सभाबाट ल्याएकाले संविधानलाई संस्थागत गर्नु सबै दलको दायित्व भएको बताएका छन् ।

थिति बसाल्ने काममा साथ दिन उनले एमालेलाई आग्रह गरे । नागरिकलाई जीवन रक्षा गर्ने कार्यलाई दलहरू तथा दातृ निकायले गरेको सहयोगको उनले प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *