जाजरकोटबाट आएका कार्यकर्ता भन्छन्- ‘ओलीलाई हेर्न र स्वागत गर्न आतुर छौँ’

चितवन । जाजरकोटबाट चितवन आएका कार्यकर्ताले आफूहरू अध्यक्ष केपी शर्मा ओलीलाई हेर्न आतुर रहेको बताएका छन् । नेकपा एमालेको १० औँ अधिवेशनका लागि आएका उनीहरूले मकालुखबरसँगको कुराकानीमा अध्यक्ष ओलीलाई हेर्न र स्वागत गर्न आतुर रहेको बताएका हुन् ।

जाजरकोट एमाले उपाध्यक्ष बेदबहादुर शाहीको नेतृत्वमा उनीहरू तीन दिन लगाएर महाधिवेशन स्थल पुगेका थिए । टोलीका एक सदस्य परे दमाईले ओलीलाई हेर्न र स्वागत गर्न आएको बताए । ‘ओली आउँदा धूमधाम बाजागाजा बजाएर स्वागत गर्ने अर्क सदस्य तुले नेपाली बताउँछन् । ‘हामी उहाँलाई बाजागाजा बजाएर स्वागत गर्नेछौँ र भेट्नेछौँ,’ नेपालीले भने, ‘उहाँ हाम्रो लागि भगवान् सरह हुनुहुन्छ ।’

ओली नै पुनः अध्यक्ष बन्नुपर्ने बताएका उनीहरू ओली अध्यक्षबाट हट्दा जाजरकोट पछि पर्ने बताउँछन् । ‘हामीलाई सुविधा दिने भनेकै ओलीले हो । उहाँ अध्यक्ष बन्नुभएन भने हामी पछि पर्छौँ, जाजरकोट पछि पर्छ,’ टोलीका अर्का सदस्य धनसिंह परियारले भने, ‘त्यो भएर हामी ओली नै आउनुपर्नेमा छौँ । बाटो पनि उहाँकै कार्यकर्ताले बनाएका छन् हाम्रो ।’ उनीहरूको दाबी छ, ‘पुरै जाजरकोट ओलीको पक्षमा छ, पुरै गाउँ नै ओलीको हो त्यहाँ त ।’

एमाले उपाध्यक्ष भीम रावलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएको जानकारीसमेत उनीहरूलाई छ । यद्यपि रावलले ओलीलाई कहिल्यै नजित्ने विश्वासमा उनीहरू अडिग छन् भन्छन् ‘रावलको काम छैन । आउने ओली नै हुन् । फेरि यो त हुनुपर्‍यो नि ।’

ओली भेट्न मात्रै आफूहरू आएको उनीहरू बताउँछन् । उनीहरूको चिन्ता छ ओली भेट्न पाउने कि नपाउने भनेर । टोलीका अर्का सदस्य धनलाल नेपाली सुनाउँछन् । ‘भेट्न चाहिँ पो पाइने हो कि होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *