अन्तरवार्ता

चुनाव भए वरिष्ठ उपाध्यक्षमा उठ्छु : नेम्वाङ

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा आजबाट शुरु हुँदैछ । देशभरबाट प्रतिनिधिहरू चितवन पुगिसकेका छन् । प्रतिनिधिसँगै नेता कार्यकर्ताहरू पनि बिहीबार नै चितवन पुगेका छन् । एकता महाधिवेशनको रूपमा लिएको नेकपा एमालेले १० औँ महाधिवेशनमा नयाँ नेतृत्व कसरी छान्ला आम नागरिकको चासोको विषय बनेको छ । नेकपा एमालेबाट माधवकुमार नेपाल विभाजित भएर नयाँ पार्टी खोलेपछि अहिले एमालेको नेतृत्व सर्वसम्मत होला की चुनावी प्रक्रियामै जाला त ? यस बारेमा मकालुखबरले नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङसँग कुराकानी गरेको छ ।

यो महाधिवेशनबाट नेतृत्व चयन कसरी गर्नुहुन्छ ?

हामी महाधिवेशनमा अगाडी बढिसकेका छौँ । पार्टीमा हामी एकीकरण गर्दै यहाँसम्म आएका छौँ । माओवादीसँग एकीकरण भएपछि पनि अदालतले दुई पार्टी गरायो तर पनि हामी एकीकृत पार्टीकै रूपमा अघि बढ्यौँ ।

धेरै साथीहरू पार्टीमै रहनु भयो । हाम्रा बिचमा पनि आन्तरिक समस्याहरू आइपर्थ्यो त्यो समस्या हुँदै हामी अगाडी बढेका छौँ । चुनौतीहरूका बिच यहाँसम्म आएका छौँ ।

हामीले विगतमा पनि भनिसकेका हौँ, हाम्रो १०औँ महाधिवेशन एकता, सहमति र समझदारीको महाधिवेशन हुन्छ भनेर । मेरो एउटै दृढ अडान भनेको यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्छ ।

यो चुनौतीलाई चिर्नका लागि अहिलेको अध्यक्ष केपी ओलीको अर्को विकल्प भएन । त्यसैले केपी ओलीको नाममा सर्वसम्मत नेतृत्व बनाउँदै अघि बढ्ने हाम्रो उद्देश्य हो ।

तपाईँले एकता महाधिवेशन भनिरहँदा तपाई वरिष्ठ नेता बन्न लाग्नु भएको हो ?

सर्वसम्मत नेतृत्व बनाउन अघि बढी रहँदा अन्तिमसम्म कोसिस गर्दा पनि यदि सर्वसम्मत नेतृत्व हुन सकेन भने त्यति बेला लोकतान्त्रिक विधि प्रक्रियाबाट टुङ्गोमा पुग्नुपर्ने हुन्छ । हामीले त्यसको लागि तयारी पनि गरेका छौँ ।

सर्वसम्मत ढङ्गले विधान महाधिवेशनबाट विधान बनाएका छौँ । महाधिवेशन स्थलमा भोटिङ मेसिनको समेत व्यवस्था गरिएको छ । ९० वटा भन्दा बढी भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। यो चुनावी प्रक्रियामा गइयो भने मैले पनि कुनै पदमा उम्मेदवारी दिने बारेमा सोच्नु पर्ने हुन्छ । त्यसको लागि सर्वसम्मतिका लागि थलो यही महाधिवेशन नै हो ।

सर्वसम्मतको लागि धेरै समय छैन, सर्वसम्मतको लागि प्रयास जारी नै राख्नु पर्छ भन्नेमा हामी छौँ । सर्वसम्मति नहुँदा निर्वाचन प्रक्रियामा जानु पर्ने हुन्छ । त्यस्तो अवस्थामा आफू के मा उम्मेदवार बन्ने भन्ने बारेमा साथीहरू, इष्टमित्र आफन्तसँग सल्लाह पनि गरिरहेको छु।

कदाचित निर्वाचनमा जानुपर्ने अवस्था आयो भने म निर्वाचन प्रक्रियामा जान्छु तर कुनमा जान्छु भनेर अहिले नै भन्दिन । तर मलाई साथीभाइले निर्वाचनमै जानु पर्ने अवस्था आयो भने वरिष्ठ उपाध्यक्षमा उठ्नु पर्छ भनेर सल्लाह दिएका छन् ।

तपाईँहरू अध्यक्षमा केपी ओली भन्दै हुनुहुन्छ, ओलीलाई चुनौती दिँदै भीम रावलले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ त ?

म अरू कसैको बारेमा टिप्पणी गर्न चाहन्न । उहाँहरूको आफ्नो इच्छा र मान्यता हो सम्मान नै गर्छु । अहिलेको अवस्थामा पार्टी भित्र देखिएको चुनौतीको सामना गर्नको लागि केपी ओली नै अध्यक्षमा सर्वसम्मत नेतृत्व नै बनाएर जाँदा राम्रो हुन्थ्यो भन्ने मेरो भनाई हो ।

रावल जी सँग त मेरो अहिले कुनै कुरा भएको छैन, उहाँले घोषणा गर्नु भन्दा अघिसम्म कुरा भएको थियो त्यसयता भएन । अहिले चैँ मेची देखि महाकालीसम्मका केन्द्रीय तहका कम्रेडहरु लाग्नु भएको छ, हेरौँ त्यसको परिणाम के कस्तो हुन्छ ।

एकताको महाधिवेशन भन्नुहुन्छ, त्यस्तो सम्भावना देखिँदैन, १५ पदाधिकारीका लागि धेरै आकाङ्क्षी हुँदा पार्टी भित्र त झन् विवाद बढ्ला नि ?

लोकतान्त्रिक पार्टीमा यो त स्वाभाविक र सामान्य कुरा हो । कि हामी सर्वसम्मतिबाट नेतृत्व चयन गर्छौ त्यो भएन भने निर्वाचनबाट टुङ्गो लगाउँछौँ । हामी त प्रक्रियाबाट स्वच्छ ढङ्गबाट गइरहेका छौँ । अरूतिर हेर्नुस् त के के भइरहेको छ । हामीले त राम्रोसँग विधि बनाएर अघि बढेको छौँ । मान्छेहरू छक्क परेका छन् ,कस्तो मज्जाले सम्बोधन गर्दै आएका छन् भनेर ।

यसलाई हामी व्यवस्थित ढङ्गले टुङ्गोमा पुर्‍याउँछौँ । यो सबै समस्या र चुनौतीको बिच लाइनमा एमाले उभिएको छ। हाम्रा पार्टीका कम्रेड सबैलाई के थाहा छ भने नेकपा एमाले जनताबाट नेतृत्व निर्वाचित भएर पनि केन्द्रीय सरकारबाट विस्थापित गरियो, प्रदेशबाट विस्थापित गरियो त्यो के बाट भन्दा जनतामा गएर जनताको मतबाट हैन, संसद्बाट हारेर हैन सर्वोच्च अदालतको आदेशबाट विस्थापित गरियो ।

आश्चर्यजनक ढङ्गबाट सर्वोच्चको आदेशबाट जनताको जनादेश नै नभएका मित्रहरू सरकारमा आसीन हुनु भयो तर त्यो हामीले स्वीकार गरेका छौँ । स्वीकार गर्दागर्दै पनि अहिलेको अवस्था र यथार्थ हाम्रा साथीहरूले बुझ्नु भएको छ। गठबन्धनको नाममा चुनावमा जाने भनेर भनिरहेको अवस्थामा पहिला आफू बलियो त हुनु पर्‍यो नि । त्यो भनेको पहिला एमाले बलियो हुनु पर्‍यो, बलियो हुनका लागि नेतृत्व बलियो हुनु पर्छ । अरूलाई चोरको दोष लगाउनु भन्दा आफ्नो थैली नै पहिला बलियो बनाउनु पर्‍यो नि, मेरो कुरा यति हो ।

माओवादीबाट आएका नेताको व्यवस्थापन कसरी गर्ने कुरा छ ?

त्यही भएर त हामीले सर्वसम्मतिको कुरा गर्दै आएका हौँ नि । राष्ट्रिय महाधिवेशन एकताको, सहमति र समझदारीको महाधिवेशन हुन्छ भनेका हौँ । रामबहादुर थापा र मेरो बिचमा कुनै त्यस्तो समस्या छैन मैले ढुक्कले भन्दै आएको छु । सर्वसम्मतिबाट नेतृत्व बनाऊँ भन्ने हाम्रो कुरा हो, अन्तिमसम्म पनि प्रयास गरौँ भएन भने लोकतान्त्रिक विधि प्रक्रियाबाट अघि बढौँ ।

तपाईँलाई वरिष्ठ नेता र रामबहादुर थापालाई वरिष्ठ उपाध्यक्ष बनाउने बारेमा पनि छलफल भएको छ भन्छन् त ?

पार्टी भित्र धेरै कोणहरूबाट छलफल भएका छन् । पार्टीलाई सर्वसम्मत नेतृत्व चयनका लागि हामीले प्रयास गरिरहेका छौँ । सबै मिलाएर जानु पर्छ भनेर लागिरहेको अवस्था हो । यो गर्दा हुन्छ की त्यो गर्दा हुन्छ की भनेर छलफल भइरहेको छ ।

छलफल भएको कुरालाई अहिले यही नै हुन्छ भनेर भनिहाल्ने अवस्था छैन । यो महाधिवेशन एकता महाधिवेशन हो । यो महाधिवेशनबाट निस्किएको निष्कर्षबाट देश र जनतालाई नयाँ सन्देश दिनु पर्ने छ ।

देश र जनताको लागि काम गर्न सक्ने पार्टी यही हो भनेर जनतालाई नयाँ सन्देश दिन चाहन्छौँ । हाम्रै नेतृत्वमा देशको विकास सम्भव छ, हाम्रै बुतामा हामी सरकार बनाएर देशको विकासमा लाग्न सक्छौँ भनेर देखाउनु छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *