कसरी बन्यो एमाले महाधिवेशनको चर्चित स्टेज ?

पोखरा । अहिले चर्चा चितवनकै छ । एमाले महाधिवेशन र महाधिवेशनभित्रका आन्तरिक व्यवस्थापनको चहलपहल मिडियाभरि छ । मञ्च तयार भइसकेको छैन, अन्तिम चरणमा छ । नेता कार्यकर्ताहरू चितवनमा ओइरिन थालिसके । मञ्च बनाइएको ठाउँका फोटा, चितवन छिर्ने बाटो र छिरेपछिको साजसज्जा सामाजिक सञ्जालमा बढी रुचाइएका र आलोचनात्मक तस्बिरहरू हुन् ।

नेकपा एमालेको दशौँ महाधिवेशनको जुन मञ्च बन्दैछ, यसको मुख्य डिजाइनर पोखराका इन्जिनियर हुन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसका पूर्वडिन डा. भरत पहारी र उनको टीमले करिब ३ महिनाको तयारीमा मञ्चको डिजाइन गरेका हुन् । ‘पहिले नै कन्सेप्ट बनाइरहेका थियौँ । पार्टीले तीन महिनाभित्र महाधिवेशन गर्ने भनेर मिति तोक्यो । अनि हाम्रो टीम खटियो,’ उनले भने, ‘यो मञ्च सामान्य मञ्चमात्रै होइन । यसमा धेरै बिम्बहरू मिसिएका छन् ।’

खासगरी अन्तरराष्ट्रिय मञ्चहरू निर्माण गर्दा प्रतिक चिह्नको प्रयोग गरिन्छ । एमालेले पनि यो महाधिवेशनमा गैंडा मानवलाई प्रतिक चिह्न बनाएको छ । ‘समाजमा सहिष्णुता स्थापित गर्न हामीले गैंडा मानवलाई प्रतिक बनाएका छौँ । यो भनेको प्रकृति र सभ्यतालाई जोडेको हो । हामीले सधैँ भन्ने गरेको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा समाजले आफ्नै बनाओस् भनेर अलि बढी मुखरित गरेका छौँ,’ पहारी भन्छन्, ‘एमालेले वैचारिक रुपमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुराको सिम्बोल, लेआउट, सेट र लोकेसनमा डिफाइन गरेका छौँ । अहिले राजनीतिक पार्टीहरुमा वैचारिक प्रष्टता आवश्यक छ ।’

हेर्दा जति आकर्षक मञ्च बनेको छ, उत्तिकै सामाजिक संस्कारहरू बिम्बित पनि छ । ‘राजनीतिको केन्द्रबिन्दु विकास हो । विकासलाई राजनीतिले केन्द्रबिन्दु मानेन । हामीले विकासमा केन्द्रित गर्नका लागि चितवन भनेको प्राकृतिक संरचनाको कुरा हो भनेर यसलाई वातावरणमैत्री ढंगले सम्बोधन गर्ने प्रयास गर्‍यौँ । मञ्च पनि वातावरणमैत्री छ,’ उनले थपे, ‘मञ्च वरिपरि प्राकृतिक संरचनासँग जोडिएका चित्रमात्रै छन् । राजनीतिलाई प्रतिविम्बित गर्ने भनेको उत्साह भर्नु भन्ने हो । मञ्चको चारैतिर उत्साहको प्रतिक रातो रंग प्रयोग गरेका छौँ ।’

मञ्चमा संस्कृति र सभ्यता झल्किने गरी सजावटको प्रवन्ध मिलाइएको छ । ‘एमालेको परिचय भनेको सूर्य चिह्न हो । सबै क्षेत्रमा सूर्यलाई प्रतिविम्बित गरेका छौँ । लेआउट पूर्व-पश्चिम छ । मञ्च उत्तर-दक्षिण फर्किएको छ । नारायणीको किनारसँग समानान्तर छ,’ पहारी अघि भन्छन्, ‘बढीभन्दा बढी जनतालाई म्यासेज प्रतिविम्बित हुने गरी लेआउट गरेका छौँ । विकासका लागि प्रस्थान बिन्दु पहिल्याउने गरी सहरको सौन्दर्यीकरणलाई ध्यान दिएका छौँ ।’

उनको टीममा डिजाइनर बिनोद श्रेष्ठ र महेन्द्र श्रेष्ठ पनि छन् । मञ्च बनाउन ५ सयभन्दा बढी स्वयंसेवक र कामदारहरू खटिए । मञ्च निर्माणमा ५० लाखभन्दा बढी खर्च भएको पहारीले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “कसरी बन्यो एमाले महाधिवेशनको चर्चित स्टेज ?

  1. धेरै राम्रो काम अनि शन्देशमुलक पनि, हाम्रो पृय कमरेड बिनोद श्रेष्ठ ज्युलाई विशेष धन्यबाद भन्छु जो मदन भन्डारीको पालादेखी यस्तो काम गर्न माहिर हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *