एमाले महाधिवेशन : छैन उम्मेदवारीको उत्साह, ओलीकै मुख ताक्दै नेताहरू

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन संघारमै आइपुगेको छ । वडा अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटपछि क्षेत्र‚ जिल्ला र प्रदेशको अधिवेशन नगरी सिधै केन्द्रीय महाधिवेशन गर्न लागेको एमालेभित्र चुनावी रस्साकस्सी भने सुरु भइसकेको देखिँदैन । अधिवेशन सुरु हुन १ दिनमात्र बाँकी हुँदा पनि एकाधबाहेक नेताहरू खुलेर बोलेकै छैनन् । भीम रावलले अध्यक्षमा, महेश बस्नेतले सचिवमा र केही नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

माधवकुमार नेपाल-झलनाथ खनाल समूह पार्टीबाट अलग्गिएपछि हुन लागेको यो महाधिवेशनलाई एमालेले एकताको महाधिवेशन भनेको छ । तल्लो तहका कमिटी प्रायः सर्वसम्मत रूपमै टुङ्ग्याएको एमालेले केन्द्रीय कमिटीमा पनि त्यस्तै गर्न चाहे पनि त्यो सम्भव होला भनिहाल्न सकिँदैन ।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सफल होला एमाले ?
एमालेले यो महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व टुङ्ग्याउने विषयलाई पहिलो प्राथमिकता भनेको छ । तर, यो सम्भावना कम भएको नेताहरू नै स्विकार्छन् । सचिव प्रदीपकुमार ज्ञवालीले भने, ‘सम्भवतः हामी सर्वसम्मत रूपमै अघि बढ्नेछौँ । यदि भएनै भने पनि त्यो पार्टी अध्यक्ष कमरेडले मिलाउनुहोला । तर, अहिलेको माहोललाई हेर्ने हो भने सर्वसम्मत रूपमा पदाधिकारी चयन हुने विषय अलिक गाह्रो नै होला ।’

त्यसो त १५ सदस्यीय एमाले पदाधिकारी चयन हुनुपर्नेमा ५० भन्दा बढी नेताहरू विभिन्न पदका आकांक्षी छन् । अध्यक्षदेखि नै सुरु भएको यो शृङ्खला सचिवसम्मै छ । एमालेले अध्यक्ष, उपाध्यक्षसँगै ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव गरेर जम्मा १५ सदस्यीय केन्द्रीय पदाधिकारी बनाउनेछ । यसमा आकांक्षीहरू धेरै हुँदा समस्या देखिएको हो ।

ओलीले पदाधिकारीबारे मुख खोलेका छैनन् । सुरुदेखि नै सर्वसम्मत रूपमा टुङ्ग्याउने भनिएकाले नेताहरूले पनि केही भन्न सकिरहेका छैनन् । नेताहरूले पनि मुख नखोलेका कारण उनीहरूले ओलीले भनेकैमा चित्त बुझाउने एक नेता बताउँछन् । ‘म अध्यक्ष कमरेडसँग धेरै समयदेखि छु । आकांक्षीहरू आउनुहुन्छ । राजनीतिक गफगाफ हुन्छ । पदकै विषयमा कुरा हुँदैन । यो भनेको उहाँहरूले अध्यक्षलाई तपाईँले जे भन्नुहुन्छ त्यसमै मान्छौँ भन्नुभएको हो ।’

अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास
यो महाधिवेशनले एमालेको अध्यक्षमा केपी शर्मा ओली दोहोरिने कुरामा कुनै शंका छैन । ओली सर्वसम्मत रूपमा अध्यक्ष हुन चाहन्छन् । उनको त्यो चाहना पूरा होला/नहोला भन्ने मात्र हो; अध्यक्ष हुनेमा कुनै शंका नरहेको परिदृष्यले नै देखाउँछ । उनी निकटको मात्रै होइन‚ लामो समय ओलीको विरोधी कित्तामा राजनीति गरेका नेताहरू नै एमालेमा ओलीको विकल्प नरहेको भन्दै ओलीलाई रिझाउने योजनामा लागेका छन् ।

अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बनाउनकै लागि पार्टीको पहिलो विधान महाधिवेशनमा आफू अनुकूल व्याख्या गराउँदै आफू ७० वर्ष पुग्नुअगावै महाधिवेशन सम्पन्न गराउँदैछन् । असोज १७ गते विधान महाधिवेशनलाई समापन गर्दै ओलीले भनेका थिए, ‘पार्टीलाई बहुमत दिलाएर मात्रै बिदा हुन्छु ।’ उनी आगामी फागुनमा ७० वर्ष पुग्दैछन् । एमाले विधानअनुसार ७० वर्ष पुगेपछि पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ ।

अहिले उपाध्यक्ष रहेका भीम रावलले १०औँ महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी आफ्नो घोषणामा अडिइरहे भने अध्यक्षका लागि पनि चुनाव हुनेछ । जसले केपी शर्मा ओली सर्वसम्मत एमाले अध्यक्ष हुन पाउने छैनन् । भलै चुनावबाट रावलले ओलीलाई हराउने सम्भावना केवल गणितीयमात्रै छ ।

वरिष्ठ उपाध्यक्ष : नयाँ पद, तीन आकांक्षी
यस पटकदेखि थपिएको वरिष्ठ उपाध्यक्ष पदमा को आउने भन्नेमा पनि दह्रो शक्ति संघर्ष छ । सुवास नेम्वाङ, ईश्वर पोखरेल र रामबहादुर थापा मुख्य दाबेदार छन् । तर उनीहरूमध्ये कसलाई ओलीले साथ दिने हुन् भन्नेबारे भने भनिहाल्न अहिल्यै हतारो हुने ओलीनिकट एक केन्द्रीय सदस्यले बताए ।

नेम्वाङ लामो समयदेखि ओलीको विश्वासपात्र र अत्यन्तै निकट रहेका नेता हुन् । नेम्वाङलाई ओलीले के गर्छन् ? भन्ने प्रश्न पनि उत्तिकै पेचिलो बनेको छ । नेम्वाङ वरिष्ठ उपाध्यक्षमा गएनन् भने उनी वरिष्ठ नेता बन्ने सम्भावना पनि रहेको नेताहरू बताउँछन् । यसबारे जिज्ञासा राख्दा उनी भन्छन्, ‘मैले त दाबी पनि गरेको छैन । यसको व्यवस्थापन सबै अध्यक्षज्यूले गर्नुहुन्छ । मैले त्यसरी सोचेकै छैन ।’ यद्यपि वरिष्ठ नेताको रूपमा यो महाधिवेशनबाट कोही न कोही नेताहरू रहन सक्ने भने उनी बताउँछन् ।

अहिलेका महासचिव पोखरेलले भने आफू महासचिवमा नदोहोरिने भन्दै वरिष्ठ उपाध्यक्षका लागि लबिङ थालिसकेका छन् । उता ०७७ फागुनमा एमालेमा प्रवेश गर्दै ओलीले रामबहादुर थापालाई यो सर्त राखेको बताइन्छ । असोज १७ गते सम्पन्न पहिलो विधान महाधिवेशनले यो पद नेताहरूको व्यवस्थापनकै लागि सिर्जना गरेको भएपनि कसले बाजी मार्छन् भनिहाल्न सकिने अवस्था छैन ।

एमालेमा ४ उपाध्यक्षको व्यवस्था छ । रघुजी पन्तदेखि लालबाबु पण्डितसम्म ८ जना जति उपाध्यक्षका आकांक्षी छन् । उपाध्यक्षमा केही अहिलेकै अनुहार दोहोरिने सम्भावना भएको पनि एमाले नेताहरू बताउँछन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मकालुखबरसँग आफू उपाध्यक्ष नै दोहोरिन तयार रहेको बताएकी छन् । ९औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित बामदेव गौतमले पार्टी परित्याग गरिसकेका छन् भने भीम रावलले अध्यक्षको दाबी गरेका छन् ।

सबैभन्दा रस्साकस्सी महासचिवमा
अध्यक्षपछिको सर्वाधिक शक्तिशाली पद महासचिवमा यसपटक पनि रोचक भिडन्त हुने देखिन्छ । महासचिवका उम्मेदवारी घोषणा कसैले गरिसकेका छैनन्‚ तर सुरेन्द्र पाण्डे, विष्णु पौडेल र शंकर पोखरेल मुख्य दाबेदारका रूपमा छन् । उम्मेदवारी घोषणा नगरे पनि उनीहरूले आन्तरिक तयारी तीव्र पारिसकेका छन् । दुवै नेता अध्यक्ष केपी शर्मा ओलीसँग दिनहुँजसो छलफलमा छन् । दुवैले आफैँ बन्ने दाबी गरिरहेका र ‘तपाईँ बन्नुस्’ भन्ने स्थिति अति कममात्र रहेको नेताहरू बताउँछन् ।

माओवादीसँगको एकतापछि महासचिवको जिम्मेवारी पाएका पौडेल यसपटक आफू महासचिव बन्नैपर्ने लाइनमा छन् भने पोखरेल पनि ‘ओलीको विश्वास पाउने आश’मा देखिन्छन् ।

पौडेल नेकपाको महासचिव बनिसकेका नेता हुन् भने पोखरेल ओलीका अति प्रियमध्ये एक नेता हुन् । गोदावरीको विधान महाधिवेशनका बेला आफ्नो प्रतिवेदन ओलीले बिचमै पोखरेललाई प्रस्तुत गर्ने जिम्मेवारी दिएका थिए । पोखरेललाई राष्ट्रपतिसमेत रहेकी उपाध्यक्ष विद्यादेवी भण्डारीको समेत दह्रो साथ रहेको बताइन्छ । कतिपयले त ओलीले पोखरेललाई आफ्नो उत्तराधिकारीको रूपमा खडा गर्नेसम्मको विश्लेषणसमेत गर्छन् ।

ओलीकै आग्रहमा ०७४ सालको आमनिर्वाचनमा पोखरेल प्रदेश सभामा बसे । मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा गएका उनी साढे ३ वर्ष मुख्यमन्त्री बनेका थिए । पार्टीको ९औँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका छन् । त्यतिबेला दुई जनाका लागि भएको निर्वाचनमा घनश्याम भुसाल र पौडेल विजयी भएका थिए ।

नेता सुरेन्द्र पाण्डे पनि महासचिवको दाबेदारीमा छन् । नेता पाण्डे नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले मात्र पराजित भएका थिए ।

लामो समय माधवकुमार नेपालसँग नजिक रहेका पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी एमाले महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । उनी नेकपा कालमा महासचिव हुने अन्तिम तयारीमा रहे पनि ओलीले पौडेललाई रोजेका थिए । पछि एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल–झलनाथ खनाल समूहबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए । अहिले उनी पनि ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् ।

पाण्डेकै गृह जिल्ला चितवनमा हुन लागेको महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुनसक्ने अनुमान गरिन्छ ।

तीनै नेताहरू महासचिवका आकांक्षी भए पनि एमालेभित्र पौडेल महासचिव, पोखरेल उपमहासचिव र पाण्डे अन्य जिम्मेवारीमा रहने विकल्पका बारेमा पनि आन्तरिक तयारी गरिएको एमाले उच्च स्रोत बताउँछ ।

सात सचिवमा दाबेदार धेरै
एमालेले यस पटकबाट ७ सचिवको व्यवस्था गरेको छ । पदमात्र होइन‚ सचिवका आकांक्षी पनि धेरै छन् । बहालवाला सचिवहरू प्रदीप ज्ञवाली, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायत दोहोरिने कुरा त छँदैछ, महेश बस्नेतले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसबाहेक शेरधन राई, रघुवीर महासेठ, शेरबहादुर तामाङ, भानुभक्त ढकाल, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, पद्मा अर्याल, गुलाबजंग शाह, आनन्द पोखरेल, खगराज अधिकारी, लगायत नेताहरूले पनि आफू सचिव बन्नुपर्ने जिकिर गरिरहेका छन् ।

यस्तै, पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले पनि सचिव हुन चाहेका छन् । साहले मकालुखबरसँग आफूले कुनै पद नमागेको तर सचिव पद दिइए स्विकार्ने बताए ।

७ जना सचिवका लागि दुई दर्जनभन्दा बढी नेताहरू आकांक्षी छन् । यसो हुँदा एमाले सचिवमा समेत रोचक प्रतिस्पर्धा हुने देखिएको छ । ज्ञवाली र विष्टलाई उपमहासचिव वा उपाध्यक्षमा सेटल गर्नेबारेमा पनि आन्तरिक छलफल भइरहेको नेताहरू बताउँछन् ।

ओलीनिकट स्रोतका अनुसार खासगरी पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू र बहालवाला सचिवहरूलाई मुख्य प्राथमिकतामा राखिएको छ । ओलीनिकट एक नेताले मकालुखबरसँग भने, ‘सचिवमा धेरै कमरेडहरूबीच प्रतिस्पर्धा हुनेजस्तो देखिएको छ । हामीले सबै पदाधिकारी सर्वसम्मत रूपमा ल्याउने भनेका थियौँ । त्यो सम्भावना कम देखियो । तर, सर्वसम्मत रूपमै छान्ने कोसिस गर्नेछौँ । यदि चुनावमै जानुपर्ने भयो भने पनि हामी त्यसलाई मिलाएर गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *