वायु प्रदूषणले निसासिरहेको दिल्ली

गुलप्रीत सिंह दिल्ली साउथ क्याम्पसको मेट्रो स्टेसनअघि एउटा थोत्रो र फोहोर ओछ्याउनीमाथि बसेर पेट भर्नका लागि मागेर जीविका चलाउने गर्छिन् । उनीजस्तै लाखौँ मजदुरहरू दिल्लीमा ज्यालादारी गर्नकै लागि प्रदूषण मिश्रित हावामा श्वास फेर्न बाध्य भएको र यसको अर्को कुनै विकल्प नभएको ८४ वर्षीय वृद्धले बताए ।

गुलप्रीत सिंह बताउँदै थिए‚ ‘म यहाँ बसेर खाना मागिरहेको हुन्छु । केही समय पर्खिएपछि मलाई मान्छेहरू आएर खानेकुरा दिन्छन् ।’ त्यत्ति भनेपछि उनको आवाज सुन्न सकिएन । केही मिटरको दूरीमा चलिरहेको अटोरिक्साको बाक्लो धुँवाले उनको आवाज दबियो । दिल्ली बर्सेनि विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा एक नम्बरमा आउँछ ।

भारतको नेसनल एयर क्वालिटी इन्डेक्सअनुसार नोभम्बरमा दिल्लीमा सुरु भएको वायु प्रदूषणको स्तर अहिले सास फेर्नै नै घातक हुने अवस्थामा पुगिसकेको छ । तर दिल्लीका स्थानीय बासिन्दा भने यस परिस्थितिसँग अभ्यस्त भइसकेका छन् । उनीहरूले प्रदूषित हावामा श्वास फेर्नु पनि आफ्नो दैनिकी भएको स्वीकार गरिसकेका छन् । तर अहिले भने परिस्थिति झन् जटिल बन्दै गइरहेको छ ।

धुवाँमा निसासिरहेको दिल्ली
दिल्लीको एक व्यस्त चोकमा सवारीसाधनलाई निर्देशन दिने एक प्रहरीले हिउँद सुरु भएसँगै दिल्लीको प्रदूषणस्तर असह्य भएको बताए । उनी भन्छन्, ‘मलाई सवारीलाई निर्देश गर्न सिठ्ठी फुक्नुपर्ने कारणले गर्दा मास्क खोलिरहनुपर्छ । प्रदूषणले गर्दा अब मेरा लागि यो पेसा नै डरमर्नु बनिसकेको छ ।’

उनले थपे, ‘वरपरको सवारी साधनबाट यस्तो धुवाँ निस्किन्छ कि श्वास फेर्नै गाह्रो हुन्छ । आँखा पोलेर हेर्नै सकिँदैन ।’

३९ वर्षिया सामाजिक अभियान्ता निलम जोशी भन्छिन्, ‘जब म कामका लागि घरबाट निस्किएर रेल स्टेसन पुग्छु; बाहिर निस्किनासाथ प्रदूषण महसस भइहाल्छ । बिहान सबेरै उठ्नेबित्तिकै प्रदूषणले नै घेरेको अनुभूति हुन्छ । बिहानैदेखि सुरु भएको प्रदूषणसँग बेलुका बल्लतल्ल शरीर अभ्यस्त भएको हुन्छ । तर अर्को दिन बिहान अर्कै स्तरको प्रदूषण सुरु हुन्छ‚’

प्रदूषित हावासँग बाँच्नै गाह्रो हुने भइसकेको भन्दै उनी भन्छिन्‚ ‘विगत ६ वर्षदेखि म दिल्लीमा बसिरहेकी छु । हरेक वर्ष प्रदूषण फरक तरिकाले उच्च बिन्दुमा पुगेको हुन्छ । घटेको कुनै वर्ष छैन । प्रत्येक वर्ष चाडपर्वहरू प्रदूषणका कारणले बिग्रिएको हुन्छ ।’

२८ वर्षीया अमनप्रीत कौरले अमेरिकाबाट दिल्लीका लागि उडान भरेकी थिइन् । उनी दिल्लीको रोहिणी क्षेत्रकी उडान परिचरसमेत हुन् । अमेरिकाबाट दिल्लीमा अवतरण गर्दा उनी वायुको गुणस्तरमा भएको भिन्नता देखेर चकित परिन् । ‘दिल्लीको हावामा प्रदूषणको स्तर यति भयानक थियो कि दिल्ली पुग्नेबित्तिकै मलाई लगातार खोकी लागिरहेको थियो । यहाँको हावामा यति धेरै प्रदूषण छ कि रातको समयमा सवारीसाधनको प्रकाशमा बाटो पहिचान गर्न सकिदैन‚’ उनी भन्छिन्‚ ‘जब घाम अस्ताउँछ चारैतिर धुँवा मडारिएको मात्र देखिन्छ । अब दिल्ली बस्नु एकदम डरलाग्दो काम भइसकेको छ ।’

श्वास फेर्ने मेरो अधिकार
१८ वर्षीया आदित्य दुवे विगत २ वर्षदेखि पर्यावरण कार्यकर्ताको रुपमा काम गर्दै दिल्ली प्रदूषणविरुद्ध कारवाही गर्न लबिङ गर्दै आएका छन् ।

प्रत्येक वर्ष दिल्ली शहरको घाटीमा धमिलो धुँवाको बादल मडारिएको हुन्छ । जब जाडो महिना सुरु हुन्छ; कम तापक्रम र हावाको गति कम हुनाले धूलो र धूँवाका कणहरू लामो समयसम्म हावामा बसिरहन्छ । आदित्य भन्छन्, ‘जाडो महिना हाम्रा लागि प्रत्येक दिन भोग्नुपर्ने सजाय र यातनाजस्तै बनिसकेको छ । आँखा पोलेर आँसु बगिरहेको हुन्छ । श्वास फेर्न असाध्यै गाह्रो हुन्छ ।’

गतमहिना दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिपावलीमा पटाका प्रतिबन्ध गरेर प्रदूषण बढ्न नदिने प्रयास गरेका थिए । प्रतिबन्ध लगाउँदा पनि अरु समयमा झैँ पर्व मनाएर प्रदूषणको स्तर अझ बढ्न थाल्यो । दिपावलीमा निस्किएका फोहोरहरू जलाउनाले वायु अझ बढी प्रदूषित हुन पुग्यो । नोभेम्बर ५ बाट दिल्लीको धेरैजसो स्थानमा वायु गुणस्तर सूचकाङ्क ५ सय नाघ्यो र प्रदूषण उच्च स्तरमा पुग्यो । त्यही बिन्दूलाई समातेर अभियान्ताले ‘मेरो श्वास फेर्न पाउने अधिकार’ भन्दै दिल्लीको उच्च अदालतमा रिट दायर गरे ।

नोभेम्बर १५ मा अदालतले अभियान्ताको पक्षमा फैसला गर्‍यो र केन्द्रीय सरकारलाई प्रदूषण नियन्त्रण गर्न आदेश दियो । त्यसपछि दिल्लीका शैक्षिक संस्था, अत्यावश्यक बाहेकका सवारीसाधन, भौतिक संरचना र निर्माणका काम, ११ वटा कोइलाबाट चल्ने प्लान्ट नोभेम्बर अन्तिमसम्मका लागि बन्द गरिएको छ । त्यसपछि हावामा प्रदूषणको स्तरमा केही सुधार आएजस्तो देखिएको छ । तर यसले पुर्‍याउने क्षति भने अहिले पनि उस्तै रहेको छ ।

मौन हत्यारा
प्रदूषण मिश्रित हावाले भरिएको शहर दिल्लीमात्र होइन । पोहोर साल विश्वका प्रदूषित शहरको सूचीमा भारतको दिल्लीसहित अरु १० ओटा शहरहरूसमेत परेका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणकै कारण विश्वभरि वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

वायु प्रदूषणले हृदयघात, क्यान्सर, श्वासप्रश्वासको संक्रमणबाट हुने मृत्युदर अहिले बढ्दै गएको छ । यूनिभर्सिटी अफ सिकागोको ऊर्जा नीति संस्थानले हालै गरेको अध्ययनले प्रदूषित हावाले भारतीय नागरिकको औसत आयु ९ वर्ष घट्ने देखाएको छ । अध्ययनले भारतका १ अर्ब ३ करोड जनसंख्याले स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी प्रदूषित हावा सहने गरेको देखाएको छ ।

सन् २०१९ मा भारतको केन्द्रीय सरकारले सन् २०२४ सम्ममा वायु प्रदूषण ३० प्रतिशत घटाउने लक्ष्यले राष्ट्रिय स्वच्छ वायु अभियान घोषणा गर्‍यो । तर विगतका केही वर्षहरूमा भारतमा प्रदूषणको अवस्था झन् बिग्रँदै गएको छ । जीवाष्म इन्धन र कोइलामा भएको निर्भरताको कारण वायु प्रदूषणको अवस्था झन् भयानक हुँदै गएको छ । भर्खरै ग्लासगोमा भएको कोप २६ जलवायु शिखर सम्मेलनमा कोइलालाई ‘फेज आउट’ गर्नुको सट्टा ‘फेज डाउन’ सम्झौता संशोधन गर्न जोड दिने देशमध्ये भारत पनि एक हो ।

सामाजिक अभियान्ता आदित्यले प्रदूषणलाई मौन हत्यारा भनेका छन् । उनी भन्छन्, ‘चेतनाको अभाव छ मानिसहरूले यसको गाम्भीर्य बुझ्दैनन् । ’

सीएनएनबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *