इराक र टर्कीबीच २० भन्दा बढी सम्झौतामा हस्ताक्षर

एजेन्सी । इराक र टर्कीले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको इराक भ्रमणको क्रममा विभिन्न क्षेत्रमा २० भन्दा बढी सम्झौताहरू गरेका छन् । एर्दोगान र इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीबीच बगदादमा भएको भेटपछि सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वार्ताका क्रममा दुई नेताबीच सुरक्षा, रेल तथा सडक निर्माण, सिँचाइ पूर्वाधार र खानेपानी व्यवस्थापनमा द्विपक्षीय सहयोगबारे छलफल हुनुका साथै २० भन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सुरक्षा सहयोगको क्षेत्रमा, अल–सुदानीले दुई पक्षले आतंकवादसँग सहकार्य गर्नसक्ने र दुई देशको सुरक्षालाई उल्लङ्घन गर्नसक्ने आतङ्ककारीहरूको उपस्थितिबाट उत्पन्न चुनौतीहरूको सामना गर्नेबारे कुराकानी भएको बताए । एर्दोगानको भ्रमणका क्रममा टर्कीका राष्ट्रपति र इराकी प्रधानमन्त्रीले सडक विकास परियोजनामा सहकार्य गर्न टर्की, इराक, कतार र संयुक्त अरब इमिरेट्सका मन्त्रीहरूले प्रारम्भिक चारतर्फी सम्झौतामा हस्ताक्षर गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

आर्थिक एकीकरणलाई बढावा दिन इराकले मे २०२३ मा यसको मुख्य दक्षिणी बन्दरगाह बसरालाई टर्कीसँग देशको सीमासम्म जोड्ने दक्षिण–उत्तर रेल र सडक कोरिडोर निर्माण गर्न परियोजना प्रस्ताव गरेको थियो । एमओयूहरूमा टर्कियाको उत्तरबाट दक्षिणी इराकको खाडीमा बग्ने टाइग्रिस र युफ्रेटिस नदीहरूको जलस्रोतको लागि १० वर्षको व्यवस्थापन सम्झौता पनि समावेश छ ।

इराकले लामो समयदेखि आफ्नो पानीको हिस्सा घटेकोमा चिन्ता व्यक्त गर्दै आएको छ । आफ्नो इराकी समकक्ष अब्दुल लतिफ रशिदसँगको छुट्टै भेटमा एर्दोगानले टर्की इराकको पानीको आवश्यकता बुझेको र सम्बन्धित सम्झौता अन्तर्गत बनेको संयुक्त समितिमार्फत यस क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको इराकी राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *