‘रुकुम जानुपर्ने विमान नेपालगञ्जमै अवतरण गर्ने निगमकै निर्णय हो’

काठमाडौँ । नेपाल वायु सेवा निगमले गएको आइतबार रुकुमका यात्रु बोकेको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको विषयमा स्पष्टीकरण दिएको छ ।

बुधबार विज्ञप्ति निकालेर निगमले काठमाडौँबाट रुकुम जानुपर्ने विमान नेपालगञ्जमा अवतरण हुनुमा चालकको दोष नभएको र समय अभावका कारण यात्रुलाई नेपालगञ्जमा अवतरण गराई निगमकै खर्चमा होटलमा राख्ने निर्णय गरिएको जनाएको हो ।

निगमले बिहान ५:१५ बजेदेखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने भन्दै रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्रै उडान भर्ने निर्णय भएको  जनाएको छ ।

आइतबारको घटना मंगलबार सार्वजनिक भएको थियो । तर चालकले ड्युटी सकिएको भन्दै विमान नेपागञ्ज विमानस्थलमै अवतरण गराएको खबर सार्वजनिक भएको थियो । यसपछि पर्यटन मन्त्रालयले मंगलबार पाइलटलाई  स्पष्टीकरण  समेत सोधेको थियो ।

विभागले विज्ञप्तिमा भनेको छ, ‘आइतबार बिहान ६:१५ मा उडान हुने जहाजका लागि ५:१५ मा उडान कर्मचारीहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बोलाइएको थियो‚ तर मौसम प्रतिकूलताका कारण काठमाडौँ-रूकुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । अपराह्न २:१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो ।

त्यसपछि विमान चालक/परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुलगायत सबै जना आइपुगेर उडान भर्न लाग्दा अपराह्न २:५८ भएको थियो । काठमाडौँ-रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तीमा ५ बज्ने अवस्था थियो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको छ । त्यसैले त्यस दिन रूकुम (सल्ले) उडान नगर्ने निर्णय भएको निगमले बताएको छ ।

‘रूकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौँमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रूकुम जाने यात्रुहरूलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट बिहानै रूकुम पुर्‍याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो,’ निगमले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *