मुख्य दलहरू महाधिवेशनमा : कुन दलमा के हुँदैछ ?

काठमाडौँ । देशका मुख्य राजनीतिक दलहरू महाधिवेशनमा केन्द्रित भएसँगै देशको राजनीतिक गतिविधि नै महाधिवेशन केन्द्रित हुन पुगेको छ ।

नेकपा एमालेको १०औँ महाधिवेशन यहि मंसिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न तहको अधिवेशन चलिरहेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौँमा हुँदैछ ।

नेकपा माओवादी केन्द्रले देशभर एकसाथ वडा सम्मेलन गरेको छ । मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्ने तयारी छ । राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा हुने तय गरिएको छ ।

यहिबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि महाधिवेशन हुँदैछ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमै हुनेछ ।

एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ ।

जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशन गर्ने भएको छ । विधान अधिवेशनपछि महाधिवेशनबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए ।

जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’

एमालेमा अध्यक्षको मुख ताक्दै नेताहरू
महाधिवेशन हुने भएपछि नेताहरु दौडधुपमा हुनु स्वभाविकै हो । तर, एमालेमा अलि फरक दृष्य छ । पदका अकांक्षी नेताहरु अध्यक्ष केपी शर्मा ओलीको मुख ताकिरहेका छन् । उनीहरू ओलीको आशिर्वाद पाए चुनाव सहजै जितिने आकलनका साथ ओलीलाई रिजाउने प्रतिस्पर्धामा देखिन्छन् ।

उदाहरणका लागि- एमाले महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भन्दै उनी निकटस्थहरूले प्रचार थालेका छन् । बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर भेटिरहेका स्थायी कमिटी सदस्य पोखरेल स्वयंले भने यसबारे मुख खोलेका छैनन् । सामाजिक सञ्जालमा पोखरेलको प्रचार देखेपछि उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेनिकट नेताहरूले पनि प्रचार थालेका छन् । चितवनमा हुने १०औँ महाधिवेशनमा यी तीनै नेताले महासचिव पदको आकांक्षा राखेका छन् ।

तर पौडेल, पाण्डे र पोखरेलको कुन पदमा उम्मेदवारी रहन्छ भन्ने औपचारिक घोषणा हुन सकेको छैन । महाधिवेशन केही दिनमात्रै बाँकी रहे पनि महासचिव पदमा मात्रै नभएर अन्य पदका आकांक्षीहरू पनि अलमलमा देखिन्छन् ।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार, आकांक्षीहरूले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषणा नगर्नुको प्रमुख कारण अध्यक्ष ओलीको संकेतको पर्खाइ हो । ‘अध्यक्षज्यूले अहिले सबैको नाडी छामिरहनुभएको छ । कसको खुबी कति रैछ त भनेर हेरिरहनुभएको छ‚’ उनले भने । उनीहरू ओलीले नै कसलाई कुन पद भनेर पनि भनिदिऊन् भन्ने चाहनामा रहेको ती स्थायी समिति सदस्य बताउँछन् ।

‘अध्यक्षको आर्शिवाद पाइएन भने नजितिने पक्काजस्तै हो । त्यसैले उहाँले के भन्नुहुन्छ भनेर साथीहरू बालकोट धाएको धायै छन्‚’ उनी भन्छन्, ‘मैले पनि उहाँलाई धेरैपटक भेटिसकेँ । तपाईँ यही पोस्टमा तयारी गर्नुस् भन्नुभएको छैन ।’

ओली सचिवालय श्रोतका अनुसार पदाधिकारीका लागि तयारी गरिरहेका नेताहरू दिनदिनै ओलीलाई भेट्न पुगे पनि आफू कुन पदको आकांक्षी हो भनेर भन्न सकिरहेका छैनन् ।

तर १० बुँदे सहमति गरी एमालेमै रहेका र माओवादी पृष्ठभूमिका नेताहरूले भने फाट्टफुट्ट चाहना सार्वजनिक गर्न थालेका छन् । यद्यपि ओलीले ती नेताहरूलाई पनि ठोस् जवाफ दिन सकेका छैनन् ।

यसअघि नेता भीम रावलले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आफ्नै उम्मेदवारीबारे प्रष्ट नभए पनि एमाले नेताहरूले यसपटक प्यानल नबन्ने दाबी गरिरहेका छन् ।

नवौँ महाधिवेशनमा प्रष्ट दुई प्यानलमार्फत् नेतृत्व चयन भएको थियो ।

कांग्रेसमा आकांक्षी नै आकांक्षी
कांग्रेसमा नेतृत्वका आकांक्षी धेरै छन् । उनीहरुको व्यवस्थापन कसरी हुन्छ भन्ने मुख्य चासो देखापरेको छ । ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा म पनि सभापतिको उम्मेदवार हो । शेरबहादुरजी (शेरबहादुर देउवा)ले अब काँध फेर्नुपर्छ ।’ यो भनाइ हो कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको । श्रेष्ठले थपे, ‘शेरबहादुरजी र रामचन्द्र पौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ । अब उहाँहरूले नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मलाई सहयोग गर्नुपर्छ ।’ तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै सभापतिमा लड्ने तयारीमा छन् ।

दोस्रो पुस्ताका विमलेन्द्र निधि पनि सभापतिका एक प्रमुख आकांक्षी हुन् । निधिले देउवालाई भेटेर आफू सभापतिको आकांक्षी रहेको भनी पटक पटक आफूलाई समर्थन गर्न दबाब दिइरहेका छन् । तर, देउवाबाट यस्तो साथ निधिले पाउने सम्भावना एकदमै कममात्र छ ।

१३औँ महाधिवेशनमा सभापतिमा प्रत्यासी बनेका देउवा, पौडेल र कृष्णप्रसाद सिटौलामात्र होइन, उपसभापति निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपभापतिद्वय श्रेष्ठ र प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

संस्थापन इतर समूहबाट एउटामात्र उम्मेदवार नभए युवा नेताले पनि छुट्टै उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, सभापतिका आकांक्षी धेरैले पदाधिकारीमै चित्त बुझाउने अवस्था रहेको विश्लेषण गरिँदैछ । देउवा र नेता पौडेलबाहेक नेतृत्वमा आकांक्षी धेरैको व्यवस्थापन पदाधिकारी र सदस्यमा हुन सक्ने कांग्रेस नेताहरूको बुझाइ छ । पौडेल समूहमा सभापतिका आकांक्षीको ताँती छ भने देउवा पक्षमा महामन्त्रीका आकांक्षीहरू धेरै छन् ।

कतिपयले महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्न र प्रचारको लालसाले पनि सभापतिको प्रत्यासी बन्ने बताइरहेको टिप्पणी पनि छ । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलजस्ता भ्रातृ संगठनमा नेतृत्वको दाबी गर्ने र पछि पदाधिकारीमा सीमित हुने गरेको प्रसङ्ग उल्लेख गर्दै कांग्रेस नेताहरू पार्टीमा पनि त्यही रोग भित्रिन लागेको बताउँछन् ।

तर, केन्द्रीय सदस्य गुरुराज घिमिरे भ्रातृ तथा शुभेच्छुक संगठनमा जस्तो माथिल्लो पदमा दाबी गरेर तल्लो पदमा आफूलाई सुरक्षित गर्ने सम्भावना पार्टीमा नरहेको बताउँछन् । ‘नेतृत्वका लागि प्रतिस्पर्धा गर्छु भनेर पार्टीका नेता तथा कार्यकर्ताको ध्यान आफूतर्फ केन्द्रित (एटेन्सन) गराउने यो पुरानो फर्मुला हो,’ घिमिरे भन्छन्, ‘अब त्यो फर्मुलाले काम गर्दैन । सभापतिमा दाबी गर्ने अनि तल्लो पदमा उठ्ने छुट अब कसैलाई छैन ।’

पार्टीको उपसभापति, महामन्त्रीसहितका पदमा युवाले उम्मेदवारी दिने घिमिरेको दाबी छ ।

अर्कातिर पहिलो चरणको चुनावबाट कसैले बहुमत नपाए त्यसपछि कसले कसलाई समर्थन गर्ने भन्ने कुराले पनि ठूलो अर्थ राख्नेछ ।

माओवादीमा आन्तरिक निर्वाचन खुला
नेकपा माओवादी केन्द्रले आन्तरिक निर्वाचन प्रणाली खुला गरेको छ । विगतमा नेतृत्व चयनमा मनोनित हुने गरेको अवस्थामा यसपटक माओवादीको निर्वाचनमा जोड दिने नीति छ । त्यसैअनुसार केन्द्रदेखि पालिकासम्म संगठन निर्माण र निर्वाचनको तयारी भएको छ ।

तथापि, नेतृत्व चयन सर्वसम्मत गर्ने विषय अहिले पनि प्राथमिकतामै रहेको नेताहरूको दाबी रहने गरेको छ । सर्वसम्मत हुन नसके आन्तरिक चुनावका लागि खुला रहने नीति पार्टीले अख्तियार गरेको बताउँछन् माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ ।

नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन्, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने सम्बन्धित निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ । र जसले बढी मत ल्याउँछ‚ उही विजयी भएको घोषणा हुन्छ ।’

निर्वाचन आयोगका प्रमुख श्रेष्ठ यसपटक पार्टीका सबै तहका सबै संरचनामा निर्वाचित भई ३ लाख बढीले जिम्मेवारी लिने बताउँछन् । ‘करिब ३ लाख कार्यकर्ता निर्वाचत भई जिम्मेवारीमा आउनेछन्‚’ उनले भनेका छन् । उनका अनुसार निर्वाचनको प्रक्रियाबाट कमिटी चयन गर्ने विधिलाई अवलम्बन गरिनेछ ।

केन्द्रीय समिति पार्टीको महाधिवेशन प्रतिनिधिबाट निर्वाचित हुनेछन्, र केन्द्रीय समितिका पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो सदस्य केन्द्रीय समितिका सदस्यहरूको मतबाट निर्वाचित हुनेछन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले भूमिगत संरचनालाई नै विस्तार गर्दै कमिटीहरू सक्रिय बनाउन खोज्यो । केही समय ती किमिटीहरू सक्रिय भए । तर, नेतृत्व विकासका आकांक्षा राख्नेहरू पाखा लाग्दै गए । नेपाली कांग्रेस, नेकपा एमालेले आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रियालाई दखाएर प्रश्न गर्नेहरू पार्टीभित्र छायामा पर्दै गए, नेताका वरिपरिकाले अवसर लिँदै गए । कार्यकर्ताको यस्तो गुनासो नेतृत्वले खासै सुन्दैनथ्यो । र माओवादीभित्र आन्तरिक लोकतन्त्रको विषय उठिरह्यो । यसलाई सम्बोधन गर्ने प्रयास माओवादीले यसपटक गरेको नेताहरूको दाबी छ ।

माओवादी नेताहरू पार्टीलाई पुनर्जीवन दिन र पुराना पार्टीहरूले गर्दै आएका राम्रा अभ्यासलाई अंगीकार गर्दै आन्तरिक निर्वाचनलाई प्रोत्साहन गरिएको जिकीर गर्छन् ।

‘विगतमा आन्तरिक निर्वाचन नहुने भन्ने होइन । तर, हामी विचार र पार्टीभित्र कटिबद्ध व्यक्ति खोज्थ्यौँ । अहिले पनि यो प्राथमिकतामै छ । तर, पार्टीप्रति कटिबद्ध र वैचारिक व्यक्तिहरूबीचकै प्रतिस्पर्धालाई रोक्न हुन्न भन्ने प्रयास हो‚’ माओवादी केन्द्रका नेता चौलागाईंले भने ।

तर, आन्तरिक निर्वाचनले कतै पार्टीमा विभाजित मानसिकता विकास हुन्छ कि भन्ने चिन्ताबाट भने नेतृत्व मुक्त हुन सकेको देखिँदैन । यसको उदाहरण हो – प्रवक्ता कृष्णबहादुर महराद्वारा शुक्रबार जारी विज्ञप्ति । उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकतावद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपील गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ ।’

राप्रपाको बेग्लै परिदृष्य
महाधिवेशनको तयारी गरिरहेको राप्रपामा यसपटक दोस्रो पुस्ताले नेतृत्वको दावेदारी पेश गर्ने बताइएको छ । यसको नेतृत्व गरिरहेका छन् सांसद राजेन्द्र लिङ्गदेन र नेपालगञ्ज महानगरपालिकाका मेयर धवलशमशेर राणाले ।

उनीहरूमध्ये को अध्यक्ष र को महामन्त्रीमा उठ्ने भन्ने तय भई नसकेपनि आफूहरूले सहमतिमै तय गर्ने उनीहरूको भनाइ छ । यससँगै राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीचको तानातानमा रहेको राप्रपाभित्र नयाँ धार पनि जन्मिएको छ । भलै, महाधिवेशनसम्म समीकरण कसरी विकास हुने हो‚ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *