आगामी निर्वाचन चितवनबाटै लड्छु : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका-२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार साँझ उद्घाटन गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको दाबी गरे । ‘यहाँ अझै धेरै काम गर्नुछ । त्यसैले आगामी निर्वाचनमा पनि म चितवन क्षेत्र नं ३ बाटै उम्मेदवार बन्छु,’ प्रचण्डले भने । भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै प्रचण्डले यसलाई अझ उचाइमा पुर्‍याउनका लागि आफू लागि पर्ने बताए । भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । ‘चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उनले भने ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई-मधेश कार्यक्रमअन्तर्गत आयोजनाहरू सुरु गरिएको बताइन् । उनले भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । भरतपुर र माडी क्षेत्रमा चार अर्बको लगानीमा सिँचाइ आयोजनाहरू निर्माण गरिने उनको भनाई थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् । यसबाट २०० हेक्टर जमिन सिञ्चित हुनेछ । जिल्लाका विभिन्न क्षेत्रमा कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न १३ करोड ६० लाख खर्च भएको स्याङ्बोले बताए । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *