तत्कालीन साझा पार्टीका नेताले धोका दिएको भन्दै पाण्डेले मागे पूर्वसहकर्मीसँग माफी

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले विवेकशील पार्टीका नेताहरूसँग माफी मागेका छन् । विवेकशील दल दर्ता गरेकोमा आफ्ना पूर्वसहकर्मी समेत रहेका नेताहरूलाई  फेसबुकमा बधाई दिँदै पाण्डेले साझा पार्टीसँग एकता गर्ने निर्णय गर्दैगर्दाको विश्वास अहिले कायम हुन नसकेको भन्दै तत्कालीन विवेकशील पार्टीमै रहेका साथीहरूले उठाएका विषय अहिले सान्दर्भिक देखिएको भन्दै माफी मागेका हुन् ।

पार्टी एकताका क्रममा ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भनेर पार्टीभित्र कुरा उठाइएको भए पनि साझा पार्टीप्रति आफूले बढी विश्वास गर्नाले अहिलेको अवस्था आएको भन्दै उनले त्यो आफ्नो गल्ती भएको स्वीकारेका छन् । विवेकशील दल हिजो निर्वाचन आयोगमा दर्ता भएको हो ।

पाण्डेको स्ट्याटस

प्रिय साथीहरू,
तपाईँहरूलाई पार्टी दर्ताका निम्ति धेरै धेरै बधाई छ। तपाईँहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ। शुभकामना छ।

आज यही सन्दर्भमा म अर्को एउटा कुरा पनि स्वीकार गर्न चाहन्छु।
गत मंगसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो। दस्ताबेजमा यही शब्द किटान गर्न भन्नु भएको थियो।
त्यहाँ तपाईँहरू सही साबित हुनुभयो।
हाम्रो हकमा,
अर्को पक्षको नेतृत्वले लिखित रूपमा (अग्रगामी, प्रगतिशील, मध्यबामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने) र मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाउनुभएकोले हामीले उहाँहरूलाई विश्वास गर्ने त्यो निर्णय गर्‍यौँ।
हामीलाई लाग्यो लिखित रूपमा पनि यत्ति स्पष्ट छ। मौखिक रूपमा पनि सहमति छ। हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ। यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन। आखिर राजनीति विश्वास न हो। हामीले विश्वास गर्‍यौँ।
त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौँ।
आज दुखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ।
आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो।
तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु। हाम्रो उद्देश्य पवित्र थियो।
खेर अघि बढौँ। तपाईँहरूलाई शुभकामना। राम्रो गर्नुहोस्।
छिट्टै अभियानमा भेट हुने नै छ। साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगैनै हुनेछौँ।
विवेकशील साझा पार्टीलाई अग्रगामी, प्रगतिशील, संविधानवादलाई पालना गर्ने पार्टी र विगतका आन्दोलनका उपलब्धिलाई जोगाउने पार्टीको रूपमा खडा गर्नेछौँ।
आज विवेकशील साझा पार्टीको हाम्रो पक्ष वैचारिक रूपमा स्पष्ट छ। विवेकशील साझा पार्टी भित्रका सयौँ साथीहरू ‘मूल बाटो’ मै हुनुहुन्छ। सङ्गठनका हिसाबले पनि पार्टीभित्र ‘मूल बाटो’ कमजोर छैन। केहि कानुनी काम बाकी छन्।
विवेकशील साझा पार्टीको वैचारिक संस्थापन कमजोर छैन। तसर्थ, विवेकशील साझा पार्टीभित्रको वैचारिक लडाई सकिएको छैन। कमजोर भएको पनि छैन।
विवेकशील साझा पार्टीलाई ‘प्रोग्रेसिभ डेमोक्रेटिक’ पार्टी बनाएर नै छाड्ने हो। आशा छ, तपाईँहरूको साथ पनि हामीलाई हुनेछ।
फेरी पनि, तपाईँहरूलाई शुभकामना छ।
उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *