माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् । बिहान गृहजिल्ला चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’

ओलीले आफ्नो पार्टीको महाधिवेशनमा आउन निम्ता पठाएको तर यसमा सहमति जनाइनसकेको उनको भनाई थियो । ‘अस्ति मलाई निम्ता गर्न आउनुभयो, म अहिले त्योबारे बोल्दिनँ पार्टीमा सल्लाह गर्नुपर्छ भनेँ,’ उनले अगाडि भने, ‘वक्ताको रूपमा चिठी लिएर आउनुभयो एक जना लिडर, कति धेरै माया गर्‍या हो चितवनलाई ! यति धेरै माया नगर्नु है माया बोक्नै नसक्ने हुन लाग्यो भन्या छु मैले ।’

अध्यक्ष प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे । ‘बालुवाटारबाट गलहत्त्याएर बालकोट र सातै प्रदेशबाट गलहत्त्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *