एक कमेडियन, जसको ‘कविता’ले भारतभर तरंग

काठमाडौँ । भारतीय कमेडियन वीर दासको एउटा भिडिओ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल छ । उक्त  भिडिओको अहिले भारतमा चर्चा चुलिएको छ । यसको समर्थन र विरोधमा मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् । मुम्बईमा कमेडियन दासविरुद्ध प्रहरीमा उजुरीसमेत दर्ता भएको छ ।

बिबिसी हिन्दीका अनुसार  दासले नोभेम्बर १२ मा आफ्नो युट्युब च्यानलमा झण्डै ७  मिनेटको एक भिडिओ सेयर गरे । जुन अमेरिकाको वासिङ्टन डिसीस्थित जोन एफ केनेडी सेन्टरमा भएको उनको एक शोको थियो । उक्त शोमा दासले एकालाप पढेका थिए । जसको शीर्षक थियो ‘आइ कम फ्रम टु इन्डियाज’ अर्थात् ‘म दुई भारतबाट आएको हुँ’ ।

उक्त एकालापमा उनले अहिलेको भारतको विरोधाभासको व्याख्या गरेका छन्।  उनी भन्छन्- म त्यो  भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौँ र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ। म त्यो  भारतबाट आएको हुँ, जहाँ बच्चाहरूले पनि मास्क लगाएर एक अर्काको हात समात्छन्, तर नेताहरू मास्कबिना एकअर्कालाई अँगालो हाल्छन्।

म त्यो भारतबाट आएको हुँ, जहाँ एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ९००० छ तर हामी अझै पनि आफ्नो छतमा सुतेर रातमा ताराहरू हेर्छौँ। म त्यो भारतबाट आएको हुँ, जहाँ जनसङ्ख्याको ठूलो हिस्सा ३० वर्षभन्दा कमका मानिसको छ तर हामी ७५ वर्षका नेताहरूको १५० वर्ष पुरानो विचार सुन्न कहिल्यै छोड्दैनौँ।

उक्त एकालापमा उनले भारतमा भइरहेको धार्मिक राजनीति, महिला हिंसा, किसानमाथि दमन, बलिउडको दबदबालगायत तमाम विषय समेटेका छन् । युट्युबमा अपलोड भएको केही घण्टामै सामाजिक सञ्जालमा उक्त भिडिओको चर्चा हुन थालेको थियो। युट्युबमा आइतबार बिहानसम्म उक्त भिडिओ ४६ लाख ४२ हजार बढीले हेरेका छन् भने ७६  हजारभन्दा बढी कमेन्ट आएका छन्।

सत्तारूढ भाजपाका समर्थकहरू विश्वस्तरमा दासले भारतको छवि खराब बनाइरहेको आरोप लगाइरहेका छन्। पछिल्लो समय भाजपाकी कट्टर समर्थक बनेकी अभिनेत्री कंगना रनावतले दासको एकालापलाई आतंकवादको संज्ञा दिएकी छन्। दासविरुद्ध कडा कदम चाल्नु पर्ने उनको माग छ।

भारतीय पत्रकार बर्खा दत्तले भने दासलाई धन्यवाद दिएकी छन्। ‘म यस्तो भारतबाट आएको हुँ जहाँ पत्रकारिता समाप्त भएको छ, पुरुष पत्रकारहरू एक अर्काको प्रशंसा गर्दैछन् अनि महिला पत्रकारहरू ल्यापटप लिएर सडकमा बसेर सत्य बोलिरहेका छन्’ भन्ने राख्दै दत्तले उनलाई धन्यवाद दिएकी हुन्।

दासले भने आफ्नो प्रस्तुतिको उद्देश्य भारतको अपमान गर्नु नभएको स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले आफ्नो भिडिओमा समाचारका हेडलाइन्सभन्दा बाहिर पनि भारतको ठूलो हिस्सा छ भन्ने देखाइएको उल्लेख गरेका छन्। दासको लामो स्पष्टीकरणले पनि उनका आलोचक साम्य भएका छैनन्।


दास अहिले अमेरिकामा रहेकाले उनी फर्किउन्जेलसम्म  सत्तारूढ भाजपाले उनीप्रति कस्तो रबैया देखाउँछ भन्ने स्पष्ट छैन । हिन्दुत्वको नारा दिएर राजनीति गरिरहेको भाजपाले पछिल्लो समय आलोचनात्मक चेत भएका लेखक कलाकारलाई निशाना बनाउने गरेको छ।

गत जनवरीमा हिन्दु भगवानहरूप्रति अभद्र टिप्पणी गरेको भन्दै भारतमा एक जना मुस्लिम कमेडियन मुनावार फारुकीलाई पक्राउ गरिएको थियो। फेब्रुअरीमा सर्वोच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

गत मेमा कोरोनाभाइरसबाट ज्यान गुमाएकाहरूका शवले गंगा नदीको किनार भरिएको थियो। त्यही बेला गुजरातकी कवि परूल कक्करले ‘शववाहिनी गंगा’ शीर्षकमा कविता लेखेकी थिइन्। १४ लाइनको उक्त कवितालाई लिएर भाजपा समर्थकले कक्करको चर्को आलोचना गरेको थिए। बीबीसी हिन्दीबाट

भिडिओ…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *