जनगणनाको लागि छाङरु र तिंकर हिँडेको टोली दुम्लिङ पुग्यो, त्यसउता अनिश्चित

दार्चुला । भारतले अनुमति नदिएपछि जनगणना गर्न गणकको टोली शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिंकरका लागि खटिएको छ । भारतीय बाटो हुँदै छाङरु र तिंकर जानका लागि पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गरेपछि अन्तिममा तीन जनाको गणकको टोली पैदल नै त्यसतर्फ प्रस्थान भएको हो ।

छाङरु र तिंकर पुग्न तीन दिन पैदल हिँडेर जानुपर्ने अवस्था रहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले बताए । उनकाअनुसार शुक्रबार बिहान हिाडेको सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीको नेतृत्वमा गएको टोली ब्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङ पुगिसकेको छ । ‘भारतीय बाटो भएर जाँदा एक दिनमै पुगिन्थ्यो,’ उनले भने, ‘नेपालबाट बाटो नहुँदा तिंकर र छाङरु पैदल जान तीन दिन लाग्छ ।’

भारतले अन्य प्रयोजनका लागि भारतीय बाटोको प्रयोग गर्न दिएपनि जनगणनाका लागि भने जान नदिएको प्रमुख पाण्डेले बताए । छाङरु र तिंकरका लागि खटिएको टोली त्यहाँ पुग्ने/नपुग्ने कुनै ग्यारेन्टी भने नरहेको उनले बताए । दुम्लिङ भन्दा उता बाटा बिग्रिएको भन्ने खबर आएको उनले बताए । ‘टोली आज ब्यासको वडा नम्बर २ मा पर्ने दुम्लिङमा पुगिसकेको छ,’ उनले भने, ‘त्यहाँबाट बाटो सहज छैन । यदि जान सकेन भने फर्किनुको विकल्प पनि छैन ।’

प्रमुख पाण्डेकाअनुसार दुम्लिङबाट छाङरु पुग्न डेढ दिन लाग्छ । त्यसबीचमा गाउँ/पसल पनि नरहेको उनले बताए । यदि बाटो नपाएर गणकहरु तिंकर र छाङरु पुग्न सकेनन् भने यसअघि शुपरिवेक्षकले ल्याएको फोन नम्बरबाट भएपनि जनगणना गरिने उनले बताए । उनकाअनुसार तिंकर र छाङरुमा गरेर जम्मा १ सय १३ घर परिवार बसोबास गर्छन् ।

हेलिकप्टर पनि नआएपछि पैदल

जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेकाअनुसार भारतले अनुमति नदिए हेलिकप्टरमार्फत गएर पनि तिंकर र छाङरुमा जनगणना गरिने बताइएको थियो ।

भारतको अनुमति पर्खेर बसिरहेको जनगणना कार्यालय अन्तिममा हेलिकप्टर पनि नआउने भएपनि पैदल नै गणक खटाउने मूडमा पुगेको हो । ‘सरकारले तिंकर र छाङरुका लागि हेलिकप्टरको व्यवस्था हुन्छ भनेको थियो,’ जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेले भने, ‘तोकिएको समय घर्किनै लाग्दासम्म कुनै खबर नआएपछि गणकलाई पैदलनै पठाउन बाध्य भएका हौं ।’

उनले गणकहरु पनि पैदल यात्रा गरेर त्यसतर्फ जान नमानेको उनले बताए । केन्द्रीय तथ्यांक विभागले कात्तिक २५ गतेदेखि मंसिर ९ सम्म जनगणनाका लागि तथ्यांक संकलन गरिसक्नुपर्ने तालिका बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *