सर्वोच्चको समस्याबारे प्रधान मन्त्रीले पहल गर्ने

काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको समस्याका बारेमा प्रधान मन्त्री शेरबहादुर देउवाले उपयुक्त पहल गर्ने भएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यसबारे पुष्टि गरेका हुन् । बिहीबार धनगढीमा एकीकृत समाजवादी, सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाटनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यसबारे जानकारी दिएका हुन् ।

उनले यस विषयमा पाँचदलीय गठबन्धन एकमत भएको दाबीसमेत गरे । ‘हाम्रो पाँच दलको बैठक बस्यो,’ अध्यक्ष नेपालले भने, ‘बैठकले सर्वोच्च अदालतमा देखिएको समस्यालाई राम्रो वातावरणमा छिटोभन्दा छिटो समाधान हुनुपर्दछ भन्ने निष्कर्षसमेत निकाल्याे । यसैगरी यसकाे समाधान छिटाे हुनुपर्छ पनि भनेकाे छ । त्यस विषयमा गठबन्धन एकमत छ ।’

अध्यक्ष नेपालले सबै पक्षको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको बताए । ‘यसका लागि प्रधान मन्त्रीज्यूले आफ्नो तर्फबाट प्रधान मन्त्रीको हैसियतले पहल गर्नुहुन्छ,’ उनले भनेका छन्, ‘यसमा सबै पक्षकाे ध्यानाकर्षण गर्ने पनि हामीले भनेका छाैँ ।’

सर्वोच्च अदालतमा देखिएको समस्याका बारेमा नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले सरकारमा रहेका दलहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन् । यसअघि प्रधान मन्त्री देउवाले भने यो समस्या न्यायालयभित्रको आन्तरिक भएको जिकिर गर्दै सरकारले कुनै खाले हस्तक्षेप नगर्ने बताएका थिए ।

यद्यपि बुधबार बसेको सत्तासीन गठबन्धनको बैठकले सरकारको पक्षबाट साझा धारणा बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *