आजबाट बिजुलीकाे नयाँ महशुलदर लागू, कसले कति तिर्ने ?

काठमाडौँ । बुधबार अर्थात १ मंसिरदेखि विद्युत्‌को नयाँ महशुल दर लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको महसुल दरलमा केही परिमार्जनसहित विद्युत् नियमन आयोगले बुधबारदेखि नयाँ महशुलदर कार्यान्वयनमा ल्याएको हो ।

नयाँ विद्युत् महसुल दरअनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लगाइएको छैन भने न्यूनतम मासिक शुल्क ३० रुपैयाँ कायम गरिएको छ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने यो व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

आयोगले ग्राहस्थ वर्गमा विद्युतको उपभोग बढाउन तथा उपभोक्ता माझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न ग्राहस्थ वर्गको महशुलमा औसतमा २.८४ प्रतिशतले घटाएको हो ।

यस्तै सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ ।

चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

ट्युबेल सञ्चालन गर्ने उपभोक्ता तथा सिँचाई उपभोक्ताका लागि अहिले रहेको महशुलमा ४०.६९ प्रतिशत घटाइएको छ । नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमान्ड शुल्क बढाइएको छ भने अफ पिक ९राति ११ देखि बिहान ५ बजेसम्म० समयको इनर्जी शुल्क घटाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *