आमाको गीत, छोरीको अभिनय (भिडिओसहित)

रेणुकाको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक

काठमाडौँ । एउटा समय थियो, बाँचेकाहरू आफैँलाई अनुत्तरित प्रश्न गरिरहन्थे— मरिन्छ कि ? कारण थियो कोरोना भाइरसबाट हुने कोभिड १९ । त्राहिमाम्‌मा परेका ती कतिपय आममनमा विपत्ति पनि आइलाग्यो । सहन सक्नेले सजिलै सहे, सहन नसक्नेले पनि सहे । त्यसो त विपत्तिमा ‘सहनु’ को विकल्प नै पनि कहाँ थियो र ?

उही अप्रसन्न समय दौडिँदै थियो । उही समयको घानमा परिन् साहित्यकार डा. रेणुका सोलुकी साथी । उनको श्रीमान् कोभिडकै कारण बिते । परिस्थिति यस्तो थियो कि, उनी श्रीमान्‌को अन्त्येष्टिमासम्म जान सकिनन् । भनौँ— समय नै उस्तै थियो, चाहेर पनि जान नसकिने अवस्था ।

उसै त साहित्यकारहरूको मनै दयाशील । रेणुकालाई साथीको पीडाले पोलेन मात्रै, उनले आफ्नो साथीत्वको जलनलाई गीतै बनाइन् र भनिन्—
किन लाग्यो इन्द्रेणी खै
किन पर्‍याे झरी
विरहको गीत गाउँदै रुन्छिन् न्याउली चरी
आँसुको सागर नबगाउन म हिँड्ने बाटो छेक्ला नि
यो जुनी यस्तै हुन रै’छ
अर्को जुनी भेटौला नि ।

रेणुकाको यी मिष्ठभाषी शब्दहरूलाई गायक स्वरूपराज आचार्यले स्वरबद्ध गरेका छन् । गीतमा सङ्गीत आरसी थापाले भर्दा एरेन्जको काम फणिन्द्र राईले गरेका छन् । गीतको औपचारिक कार्यक्रममार्फत नै शनिवार काठमाडौँमा सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्री र वरिष्ठ नाटककार अशेष मल्लद्वारा सार्वजनिक गरिएको गीतको भिडिओसमेत बनेको छ ।

भिडिओमा रक्षा थापा बस्नेतसँगै अनुप न्यौपाने, देवना राई फीचर्ड छन् । गीत सार्वजनिक गर्दै नाटककार मल्ल र अध्यक्ष खत्रीले समग्रमा गीत/भिडिओ राम्रो बनेको बताए । नाटककार मल्लले भने, ‘यो सिर्फ एउटा गीत र भिडिओ मात्रै होइन, यो नयाँ पुस्ता तयार हुँदैछ भन्ने प्रमाण पनि हो ।’ उनले खासगरी रक्षाको प्रशंसा गरे । भने— ‘रक्षा कलाकारिताको क्षेत्रमा देशको भविष्य हुन् । उनको भविष्य राम्रो छ ।’

कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा, डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा, समाजसेवी अनन्ता थापा, सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत, सञ्चारकर्मीद्वय शिखर गजरकोटे र धनबल राई, कलाकारहरू रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर, पुरन ओली, मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्कीलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *