राजेशपायललाई ‘महागायक’का रूपमा स्थापित गरिने

काठमाडौं । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले गायक राजेशपायल राईलाई ‘महागायक’ को रूपमा स्थापित गराउने भएको छ । सम्मेलन शनिवार (आज) बाट नेपालको संघीय राजधानी काठमाडौँको सभागृहमा शुरू हुँदैछ । ३ दिनसम्म चल्ने सम्मेलनले गायक राईलाई महागायकको उपमासमेत दिएको छ ।

मूल आयोजक समितिले यो सम्मेलनलाई ऐतिहासिक भनेको छ । यहीमार्फत गायक राईलाई महागायकका रूपमा स्थापित गराउने समितिका सदस्य खुक्सङ खम्बु राईले जानकारी दिए । दर्जनभन्दा बढी गीतका सर्जकसमेत रहेका खम्बु राईले भनेका छन्, ‘राजेशपायल राई दाइ साँच्चै नै नेपाली साङ्गीतिक आकाशका विश्व चर्चित गायक हुनुहुन्छ । लोक, आधुनिक, पप, रक सबै विधा गाउन सक्ने गला भएका उहाँ नै हो । उहाँले पचासौँ भाषाका गीतसमेत गाउनुभएको छ । यो अर्थमा उहाँ महागायक नै हुनुहुन्छ ।’

गायक राईले सहज तरिकाले दर्जनाैँ भाषामा गीत प्रस्तुत गर्न सक्ने समितिका संयाेजक दिवस राईकाे भनाइ छ । ‘उहाँजत्तिकाे गायक कमै छन्/हुन्छन् जस्ताे लाग्छ,’ उनले भनेका छन्, ‘त्यसैले उहाँलाई हामीले महागायककाे रूपमा स्थापित गर्ने भएका हाैँ । यसलाई सिङ्गाे नेपालले स्वीकार्छ ।’

कार्यक्रममा गायक राईको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । गायक राईसँगै कार्यक्रममा वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राई, पार्वती राई, भीषण मुकारुङ राई, हाँस्यकलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरीवादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राईलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

राजेशपायल राईले अहिलेसम्म हिन्दी, जापनिज, अंग्रेजी, मैथिली, भोजपुरी, आसामीसँगै राई समुदायले बोल्ने २९ वटा भाषामध्ये दर्जन भाषामा गीत गाइसकेका छन् । उनले एकैदिन ३ वटाभन्दा बढी गीतसमेत रेकर्ड गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *