धर्नास्थलबाटै गृहमन्त्रीलाई अधिवक्ताको फोन- ‘सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनुस्’

काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई धर्नास्थल [सर्वाेच्च परिसर] बाटै फोन गरेका छन् । अधिवक्ता कार्कीले ‘सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनुस्’ भनेर गृहमन्त्रीलाई आग्रह गरेका थिए ।
आफूहरूको स्वतन्त्र आन्दोलनमा प्रहरी दमन बढेको उल्लेख गर्दै अधिवक्ता कार्कीले आधा घन्टाभित्र सुरक्षाकर्मी हटाउन आग्रह गरेका थिए । अधिवक्ता कार्कीलाई उद्धृत गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामीले उहाँ (गृहमन्त्री) लाई मात्रै होइन, सबै राजनीतिक दलहरूले पनि सर्वाेच्चमा देखिएकाे बेथितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुस् भनेर भनेका छौँ । खासगरी सत्ताधारी दलहरू नबोल्दा पनि प्रधान न्यायाधीश यस्तो साह्रो हुनुभयो ।’
न्यायापालिका सुधारको आफूहरूको अभियानमा प्रहरीले दमन गरेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । ‘समग्रमा धर्नास्थलबाट गृहमन्त्रीलाई फोन गरेर यसो नगर्नुस् भनेर भनेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो राम्रो हुँदैन भनेर भन्यौँ । उहाँले आफ्नाे कुरा भन्नुभयाे ।’
बारले बिहीबार प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च छिर्न नदिने घोषणा गरेपछि शुक्रबार (आज) त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका थिए । त्यसक्रममा वकिलहरू र प्रहरीबीच ठेलमठेलाको अवस्थासमेत देखिएको थियो ।
अधिवक्ताहरूकाे धर्ना र विराेधका बीच प्रधान न्यायाधीश जबरा मूल गेट छलेर अर्कै गेटबाट सर्वाच्च छिरेका थिए ।








