एक सरदार : जो गीतकार

ईश्वर बल्लभका बारेमा एकपटक टेलिफोनमा मसित कुरा गर्दै कवि ईश्वर बल्लभले निबन्धकार ईश्वरबल्लभका बारेमा यसो भन्नुभयो, ‘निबन्धकार ईश्वर बल्लभलाई चिन्नुभएको छ, भाइ ? चिन्नुभएकै छैन । मै हुँ, निबन्धकार ईश्वर बल्लभ ।
शंकर दाइ (लामिछाने) ले यस्तो निबन्ध लेखेर भएन, पढ्नुपर्याे भन्दा मैले के पढ्ने भनेर सोधेँ । उहाँले विलियम सारोयानजस्तो निबन्ध लेख्नुपर्याे भन्नुभयो । मैले एउटा निबन्ध लेखेर शीर्षक नै राखिदिएँ, यो विलियम सारोयानजस्तो भएन त शंकर दाइ ?
यो निबन्ध पढिसकेपछि शंकर दाइसित मेरो बोलचाल नै बन्द भयो । खै उहाँ किन रिसाउनुभयो । म त त्यस्तो निबन्धकार पो थिएँ त भाइ ।’
बल्लभ मेमोरीमा आएका निबन्धकार विलियम सारोयानबारे शंकरले आफैँ लेखेका छन्, ‘र म ? मचाहिँ विदेशी साहित्य चोर्दछु । विलियम सारोयान पढेँ, मेरो शैली परिमार्जित भयो । हेनरी मिलर पढेँ, लेख्ने कुरामा सत्यवादीताको पुट बढ्यो । एनास निन् पढेँ, गद्य काव्यात्मक रूपमा ढाल्न मन लाग्यो । सात्र्र र क्यामु पढेँ, शून्यवादको अध्ययन गर्न पुगेँ ।’
बल्लभले पनि यी सबै पढेका होलान् र लेखेका होलान्, हामीलाई पनि पढ्नुपर्छ भनेर गएका हुन् । कवि ईश्वर बल्लभसित प्रायः फोनमा धेरै यस्ता कुरा हुँदा निबन्धकार बल्लभ सधैँ चर्चामा रहे ।
छ त्यो अझै पनि सम्झना छ । त्यही वार्ता क्रममा ईश्वर बल्लभ, दार्जिलिङ र गीतियात्राको प्रसंग भएकै हो । उनी कुनै समय दार्जिलिङको डाँडामा पुगे । त्यही डाँडाको पहाडी मन्दिर महांकाल थानमा उनले काठमाडौँबाट गएका नारायणगोपाल र दार्जिलिङमा जन्मेका गोपाल योञ्जनलाई मकलमा आगो बालेर मीत लगाइदिए, इतिहास बन्यो त्यो ।
यस्ता शृङ्खलामा कवि ईश्वर बल्लभसित कहिलेकाहीँ गीतकार ईश्वर बल्लभका कुरा पनि मैले धेरै गरेको छु, तर गीतकार ईश्वर बल्लभको चर्चाचाहिँ विरलै हुने गर्छ । नभएको पनि होइन, तर आकस्मिक रूपमा तीन सन्दर्भमा मात्र हुने गर्थे;
१, नारायणगोपाल र गोपाल योञ्जनलाई मीत लगाइदिएको प्रसंगमा ईश्वर बल्लभलाई चाहिएको सही मितिका बारे ।
२) ईश्वर बल्लभले लेखेका गीत रेडियो नेपालले अरु नै गीतकारको नाउँ प्रयोग गरेर प्रस्तुत गरेका सन्दर्भमा ।
३) ईश्वर बल्लभका हराएका गीत खोज्ने क्रममा ।
यीबाहेक फरक प्रसंगमा ०५७ सालमा रेडियो सगरमाथाको अजम्बरी गीत/संगीतमा ईश्वर बल्लभसित गीतियात्राबारे पनि धेरै कुरा भएको सम्झन्छु, मात्र एक घन्टा भएको थियो कुराकानी तर त्यसको असर वर्षौंसम्म रह्यो, मेरो सूचना चक्रमा ।
छ त्यो अझै पनि सम्झना छ । त्यही वार्ता क्रममा ईश्वर बल्लभ, दार्जिलिङ र गीतियात्राको प्रसंग भएकै हो । उनी कुनै समय दार्जिलिङको डाँडामा पुगे । त्यही डाँडाको पहाडी मन्दिर महांकाल थानमा उनले काठमाडौँबाट गएका नारायणगोपाल र दार्जिलिङमा जन्मेका गोपाल योञ्जनलाई मकलमा आगो बालेर मीत लगाइदिए, इतिहास बन्यो त्यो ।
गीतकार ईश्वर बल्लभलाई सम्झना गर्दै यस पंक्तिकारलाई एकपटक आदरणीय गायक योगेश वैद्यले भनेका थिए- ‘बुझ्नुभयो सायमीजी ? गीतकारमा मलाई सबभन्दा मनपर्ने स्रष्टा को हो, ईश्वर बल्लभ । ईश्वर बल्लभको गीतका पोयटिक सेन्स् पावरफुल छ, मलाई उनी नेपालका साहिरजस्तो लाग्छन् । साहिर लुधियानबी के ?’
गायक योगेश वैद्यले नाम लिएका साहिर हिन्दी फिल्म जगत्मा कवि प्रदीपपछि आफ्नो नाउँ र ठाउँ सुरक्षित राख्न सक्ने एक अद्वितीय गीतकार हुन् । साहिरका बारेमा फिल्मकार एवं कवि गुलजारले भनेका छन्— ‘साहिर लुधियानबीको दायरा धेरै ठूलो छ । यो पहिलोपटक भएको थियो कि साहिरले फिल्म क्षेत्रलाई अपनाएनन्, बरु फिल्म क्षेत्रले साहिरलाई अपनायो । उनीजस्तो लेख्थे, त्यस्तै रहे ।’
गुलजारले साहिरको बारे जसरी बोले, त्यसरी नै अहिलेका बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले भनेका छन्— ‘साहिरका गीतले मलाई दिशा दिएको छ । आफ्नो आवाज मैले उनकै गीतमा पाएको थिएँ ।’
शायद हामीले पनि यस्तै दिशा खोज्यौँ, बल्लभका गीतमा । बल्लभियन गीतको आकाश विशाल छ, ‘बल्लभियन थट’ अपार छ, सत्यजित रेको अपूर संसारजस्तै ।
भारत सरकारले साहिरलाई सन् १९७१ मा पद्मश्री दिँदा हाम्रा वल्लभले मदन पुरस्कारको दश हजार रुपैयाँ धनराशी बोकेर घर आइसकेका थिए, कविता माथिको त्यो पुरस्कार बल्लभले ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ का लागि पाएका थिए ।
एक दिन नारायणगोपालले आफ्नो जीवनकालको अन्तिम कार्यक्रममा स्वर्णिम सन्ध्यामा मञ्चमै भने, ‘जनसाधारणले ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् । मलाई लाग्छ, ईश्वर बल्लभको जीवनलाई बुझ्यो भने उनको गीत बुझ्न गाह्रो छैन ।’
बल्लभियन टेक्स्ट ‘मेरी आमाले आत्महत्या गरेको देशमा’ व्यापक छ, उनकी आमा रामदेवीमाया भट्टराईले कालीमाटीको घरडेरामा सूसाइड गर्दा वल्लभ सानै थिए, देखेका थिए । उनले आमाको बग्दै गरेको तातो रगत…। तर त्यो गीतमा आएन कवितामा ह्वास्सै आयो ।
गीतमा उनी एउटै पंक्ति लेखिरहे;
मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्दछौँ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्
तिमी भन्दछौ यो प्यार हो…।
उनकै घरमा कुनै समय भाडामा बसेका पत्रकार किशोर नेपालले आफ्नी आमालाई भेट्न ग्वालियर जाँदा यो गीत रेलको यात्राभरि गाएको कथा कति अजर-अमर छ । उनको आत्मकथामा पढ्न पाइन्छ र पढिएकै हो ।
बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु,
खाली भएर शून्यझैँ यहाँ खण्डहरझैँ जिउँदछु,
मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु,
तर मोहलाई म के भनूँ,
तिमी भन्दछौ यो भार हो ।
ईश्वर बल्लभलाई गीतले कहिले चिनाउन सकेन भन्ने समालोचक, संगीत अध्येतालाई मेरा हजार प्रश्नका बीच एउटा मात्र उत्तर छ- गायक नारायणगोपालको स्वर र उनले गाएर दिएको त्यो आकाश ।
गायक नारायणगोपाल सधैँ भन्ने गर्थे, ‘ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन्, किन नबुझ्नु सुनेपछि बुझिन्छ ।’
एक दिन नारायणगोपालले आफ्नो जीवनकालको अन्तिम कार्यक्रममा स्वर्णिम सन्ध्यामा मञ्चमै भने, ‘जनसाधारणले ईश्वर बल्लभका गीत बुझिँदैन भन्छन् । मलाई लाग्छ, ईश्वर बल्लभको जीवनलाई बुझ्यो भने उनको गीत बुझ्न गाह्रो छैन ।’
ईश्वर बल्लभ नबुझिने गीतकार होइनन् भन्ने नारायणगोपालको वक्तव्यमा साक्षीकिनार बस्ने अजरअमर गीतहरू मनपराउने धेरै रमेशानन्द वैद्य, धेरै राजेश्वर उदय, धेरै सुष्मादीप वाइबा, धेरै सुवासचन्द्र ढुंगेलको भीडमा म पनि छु र रहिरहनेछु ।
बल्लभियन गीतले कुनै बेला गजल शैलीको बाटो अपनाएर अम्बर गुरुङको संगीतमा ‘जली खरानी भइसकेँ’ पनि गुन्जिएकै हो । नरसिंह चोकमा डेरा बस्दा नारायणगोपालले संगीत गरेको यो गीत पनि वल्लभियन गजल नै हो—
यो नशा जिन्दगीको या हो नशा रक्सीको
के हो यो पिरती हो, नयाँ-नयाँ प्रेयसीको
जे थिए स्वप्न सबै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो…।
गीतमा महाकवि देवकोटा पछि ‘पर्दा’ शब्द प्रयोग गर्ने काबिल गीतकार ईश्वर बल्लभ नै हुन् । देवकोटाले मुना–मदनमा ‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो ए दिदी मलाई’ लेखिसकेका थिए र त यो कुरा पुरानो भएन ।
पर्दाका धेरै अर्थ छन्, गीतमा कता-कता मात्र खोज्नू ।
संगीतकारले हार्बिन बाजा (झलकमान गान्धर्वको भाषा) मा पर्दा देख्छन्, घर चलाउने महिलाले ‘डे कर्टन’ र ‘नाइट कर्टन’ लाई पर्दा देख्छन्, यहाँ बल्लभियन लिरिक्स्मा पर्दा अर्कैै हो-
मेरो बेहोशी आज मेरा लागि पर्दा भो,
छोपिएर पीर सबै दुःख सबै पर्दा भो ।
पर्दाका गीतकार हुन्, ईश्वरवल्लभ तर उनी आपत पर्दा, कसैलाई आवश्यक पर्दा वा कसैले माग्दा मात्र गीत लेख्ने गीतकार होइनन् ।
उनी आफूलाई पर्दा गीत लेख्ने गीतकार हुन्, लेखक इन्द्रबहादुर राईले त्यही सम्झना गरेर एक भेटमा भनेका छन्, ‘म त्यसबेला दार्जिलिङ नगरपालिकाको उपाध्यक्ष थिएँ । अनि ईश्वर बल्लभ पनि त्यसै नगरपालिकामा ठेकेदार हुनुहुन्थ्यो । उहाँले सडक बनाउनुभो । उहाँले भित्ताहरू गाह्राहरू, कति लम्बाइका के कस्ता भनेर यस्ता पुलहरू बनाउनुभयो, धेरै काम गर्नुभयो । ठेकेदारी लिएर एउटा काम उहाँले त्यसबेला पाउनुभएको थियो, एउटा स्कुल बनाउने । दार्जिलिङ म्युनिसिपलिटीको गर्ल्स हाइस्कुलको कति भाग मर्मत गर्नुपर्ने, कति नयाँ भाग जोड्नुपर्ने । म काम सकेर उहाँलाई भेट्न साढे ५ बजेतिर दगुरेर उहाँको काम भइरहेको जग्गामा पुग्थेँ । एक दिन म ढिलै गएको थिएँ, काम गर्नेहरू सबै गइसकेका थिए । एकजना मात्र बाहिर थियो । मैले उसलाई सोधेँ- सरदार कहाँ छ ?
उसले भन्यो- सरदार भित्र छ ।
कहाँ भित्र ?
उहाँलाई खोज्दै म भित्र गएँ, काठपात बोराहरूको माथि बसेर केही लेख्दै हुनुहुँदो रहेछ । मैले पछि थाहा पाएँ, उहाँ गीत लेख्दै हुनुहुँदो रहेछ । सारा दिन म्युनिसिपलिटीको काममा फ्याँकेर, कुल्लीहरूसँग बिताएर, अनि बालुवा–सिमेन्टसँग समय फ्याँकेर रातमा चाहिँ मेरो भन्ने भाव लिएर लेख्दै हुनुहुँदोरहेछ । त्यो अलिकति मलाई देखाउनुभयो ।’
इन्द्रबहादुर राईले सम्झिनुभएको त्यो गीत थियो-
‘सारा दिन अरुलाई बाँडे,
सायद यी रात मेरा,
मेरा सुखहरू अरुको,
सायद यी आँसु मेरा…।’
सरदारले लेख्नुभएको यो गीतमा वल्लभियन अप्रोच बलियो छ । यो कुरा इन्द्रबहादुर राईले २०५८ भाद्र २८ गते पोखरा आउनुहुँदा सुनाउनुभएको हो, राई त्यो बेला पोखराको कुमुदिनी होम्स्का प्रधानाध्यापक योगेन्द्र शर्माको निम्ता मानेर आउनुभएको थियो ।
राईले सम्झेका गीतकार बल्लभ पहिले सरदार गीतकार थिए र सरदार नै रहे;
‘यी चर्किरहेका भित्तालाई सोधेँ
के हो भनेर केही होइन भन्छन्
यी सल्किरहेका आगोलाई सोधेँ
के हो भनेर केही होइन भन्छन् ।’
ब्राह्मण पिता र नेवार आमाका जेठा छोरा बल्लभले आफ्ना भाइ स्वतन्त्र बल्लभको मृत्यु देखे । बाबु जेल पर्दा आमाले जुद्धशमशेर महाराजको सवारी हुँदा भुइँ ढोगेर महाराजका सामु हात जोडेको दृश्य देखे । पतिलाई पर्खेर बसेकी आमाले पतिले अर्की बिहे गरेर नयाँ घर बसाउँदा खुकुरीको सहायता लिएर जीवन सकेको दृश्य देखे । यी सबै दृश्य पर्दामा समेटेर एक दिन उनी राजनीतिज्ञ रामहरि जोशीको सिफारिसमा मलंगवाको स्कुलमा पढाउन हिँडे ।
यो कस्तो रहर हो बोकेर एक्लै हिँडिरहेछु
यो कस्तो व्यथा हो, मनमा लिएर हिँडिरहेछु…।
कान्छा भाइ विश्व बल्लभलाई काठमाडौँ एक्लै छोडेर उनी मलंगवाबाट भारतको कटिहार हुँदै फेरि दार्जिलिङको डाँडामा पुगे । त्यहीँ डाँडाको पहाडी मन्दिर महांकाल थानमा उनले काठमाडौँबाट गएका नारायणगोपाल र दार्जिलिङमा जन्मेका गोपाल योञ्जनलाई मकलमा आगो बालेर मीत लगाइदिए, इतिहास बन्यो त्यो ।
त्यही इतिहासमा हाम्रा गीत जन्मे, हुर्के, बाँचे र आज हामी बाँचेका छौँ, त्यो इतिहास बोकेर ।
‘दुइटा फूल देउरालीमा साथै राख्यौँ जस्तो लाग्छ,
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौँ जस्तो लाग्छ,
देखेजस्तो पनि लाग्छ, बोलेजस्तो पनि लाग्छ…।’
गीतमा ईश्वर बल्लभ कहाँ छन्, कसैलाई थाहा छैन तर नारायणगोपालको स्वर अनि संगीतमा उनलाई सुन्ने हो भने उनी सर्वत्र छन् । शाश्वत छन्, करेक्ट छन् । हन्ड्रेड पर्सेन्ट करेक्ट छन् ।
यसपाली (असार २८ मा) बल्लभको ८३औं जन्मजयन्ती चल्दै थियो, भानुजयन्तीको अघिल्लो दिन । भुटानका प्रथम नेपाली गायक प्रतापसुब्बा गाउँदै थिए । नारायणगोपालको संगीतको यही गीत;
गुलाफको तरेलीमा शीतको थोपा परेजस्तो,
टल्किने त्यो निधारमा पसिना ।
सुकाइदिएजस्तो लाग्छ, पात हम्की पिपलको,
बिसाउनीमा जिन्दगीको पसिना ।
लत्रेका ती परेलीमा सम्झना छ जस्तै लाग्छ…।’
वल्लभियन गीतको लहरमा ‘बेहोसी’, ‘सपना’, ‘आगो’, ‘बिहान’, ‘पीर’ शब्द साह्रै भेटिन्छन् । यो चाहेर होइन, त्यो उनकै जीवनको एउटा चलायमान चित्र हो-
‘बिहान नभई बतासले शीत किन सुकाइदिन्छ,
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ ।’
वल्लभियन गीतमा हामीले जे खोज्यो, त्यही भेटिँदैन, हामीले चाहेर पाउने पनि होइन । गीत त उनले चाहेर लेखेका हुन्, त्यसैले उनका गीत उनीजस्तै अटल र अजर बनेका हुन् ।
उनी आफ्ना कामले सरदार भएका हुन्, कसैले बनाएको होइन । उनी गीतकारिताका पनि सरदार नै हुन्, एक्ला सरदार तर उनले गीत ठेकेदारीमा लेखेका होइनन् वा कुनै सर्तमा लेख्न चाहेका पनि होइनन् ।
उनको गीतमा गोपाल योञ्जनले संगीत गरेर नारायणगोपालले गाएका छन् । तारादेवी, प्रेमध्वज प्रधान, दिलमाया खाती, कुमार सुब्बा, अरुणा लामा, योगेश वैद्य, दीप श्रेष्ठ, भक्तराज आचार्य, रामभक्त जोजिजू, शैलेश सिंह आदि अनेकन् कलाकारले गाएका छन् ।
बल्लभलाई रेडियोको इतिहासमा गीतकारमा दर्ता गराउने श्रेय नातिकाजी श्रेष्ठलाई जान्छ, नातिकाजीकै संगीतमा तारादेवीले २०१८ सालमा गाइन्-
फुलाई फूल फूल न धरती
आकाश ओर्ली आउला…।
त्यसै समय उता दार्जिलिङमा अम्बर गुरुङले उनका गीत गाउन थालिसकेका थिए । तर रेकर्डमा पछि आए, सायद भारतकै परिवेशमा गायिका शान्ति ठटालले आफ्नो सांगीतिक यात्रा सुरु गर्दा पहिलो गीत नै वल्लभकै गीति नाटक एउटा नीलो सूर्यास्तबाट सुरु गरे ।
नाटक बाहेक चलचित्रमा पनि उनले गीत लेखे ।
चलचित्रमा उनले एउटै गीत गीत लेखे, ‘अन्याय’ मा । उनका शिष्य रञ्जित गजमेरको संगीतमा प्रेमध्वज प्रधानले गाए । यही एउटा गीत हो, उनले चलचित्रका लागि लेखेको तर चलचित्रसित उनको गज्जबको नाता त्यतिबेला बन्यो, जब शाही नेपाल चलचित्र संस्थानका महाप्रबन्धक यादव खरेलले उनलाई ‘चलचित्र संगोष्ठी’ नामक पत्रिका सम्पादन गर्न दिए, उनी चलचित्रसित पत्रिकामार्फत जोडिए ।
उनी दुईपटक चलचित्रको पर्दामा टाइटलमा आए र गए- मनको बाँध र अन्यायमा ।
गीतकार ईश्वर बल्लभलाई मैले पहिलोपटक ०३७ सालमा रेडियो नेपालले सुरु गरेको नयाँ कार्यक्रम ‘झरना र झंकार’ कार्यक्रम सञ्चालन गर्दै गरेको सुनेको सम्झिन्छु, रेडियो नेपालका लोकप्रिय कार्यक्रममध्ये ‘झरना र झंकार’ राति ८ बजेको समाचारपछि आउँथ्यो । आफ्ना गीतका कथाबारे भन्दै गर्दा ईश्वर बल्लभलाई पछि मात्र मैले उनलाई उनकै भाइ विश्वबल्लभ जस्तै एक रेडियो प्रस्तोता वा सञ्चारकर्मी हुन् भनेर चिनेँ, ढिलै चिने पनि सही चिनेछु भन्ने लाग्यो ।
०३६ सालको सडक कविता क्रान्तिमा ईश्वर बल्लभलाई सडकमा कविता पढ्दै गरेको पनि देखेँ, त्यसअघि रामलाल अधिकारीले सम्पादन गरेको नेपाली एकांकी यात्रामा बल्लभलाई नाटककारका रूपमा पनि पढ्ने संयोग जुरेको थियो ।
म व्यक्तिगत रूपमा उनको अगाडि सामाजिक दूरी कायमै राख्दा पहिलोपटक नेपाल–भारत पुस्तकालयको कला परिसरमा उभिएको थिएँ, उनको मन्तव्य सुन्न । कलाकार जीवन आचार्यले उनको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवितालाई क्यानभासमा उतारेको अद्वितीय समय थियो र रही रह्यो मेरो मस्तिष्कमा ।
उत्तम कुँवरले सम्पादन गर्ने ‘रूपरेखा’ मा उनको आफ्नो हस्ताक्षरसहित बल्लभले लेख्ने स्तम्भ पनि पढ्थेँ, म नियमितजसो । मेरो घरको छेउको ढोकाटोलबाट निस्किने ‘रूपरेखा’ मेरा निम्ति चामुन्द्रा प्रेसमा जाने बाटोमा पथ्र्यो र कहिलेकाहीँ बाटोमा रूपरेखा र ईश्वर बल्लभलाई मैले सँगै भेट्थेँ ।
ढोकाटोल, यटखा टोलपछि मेरो भेटघाटको आत्मीयस्थल थियो, ईश्वर बल्लभको मनपर्ने रेस्टुराँ आरसी मःमः । त्यहाँ समोसा र झोल हामीसँगै खान गएका छौँ, जीवन आचार्य, फणीन्द्र नेपाल, सौरभ, अवि राई वा अरु कोही ।
पिपलबोटमुनि उभिने कविहरूमध्ये मधुर स्वरमा बोल्ने आदरणीय स्रष्टा ईश्वर बल्लभको लामो यात्रामा परिवार नियोजनको जागिर अनि त्यसपछिको ढाक्रे जीवनको चर्चा त्यो बेला भर्खर–भर्खर सुरु भएको थियो ।
एउटा कविलाई गीतकारको रूपमा चिन्ने सौभाग्य मलाई पछि मिल्यो, जब उनले हरिभक्त कटुवालको अन्तिम अन्तर्वार्ता लिए र छापे, आकुञ्चनमा । आफ्ना कवि मित्र कटुवाललाई हृदयले माया गर्ने वल्लभियन थ्यौरी पछिसम्मै कायमै रह्यो, जब उनी नेपालको एक राष्ट्रिय दैनिकमा सीमान्तवर्ती लेख्थे ।
ईश्वर बल्लभको लेखनबाट म प्रभावित थिएँ तर त्यस्तै उनको बोल्ने शैलीको म फ्यान भएँ । उनले खेलबारे एकपटक बोले, ‘खेलको आफ्नै छन्द, गन्ध र रंग हुन्छ, कसैले हुँदैन भन्दिए भने म भन्छु हुन्छ ।’
यो थियो, वल्लभियन स्पिच ।
उनले अन्तिमपटक बोलेको मैले सुनेँ, गोधूली संसारको मेरै निवासमा, ‘शुभारम्भ द म्युजिकल जर्नी’को पहिलो कार्यक्रममा । उनले भनेका थिए, ‘मैले नारान र गोपाललाई मीत लगाइदिएको मीतकथा त अब मिथ भइसकेछ ।’
झुक्किएर उनलाई घर पुर्याउन गएको त्यो दिन मैले उनलाई सोधेँ, ‘तपाईंले आफैँ चैँ किन मीत लगाउनुभएन, दाजु ?’
उनले जबाफमा जे भने मैले सही कहिले बुझ्न सकिनँ ।
त्यसको केही वर्षपछि उनी बिते, समय पनि बित्दै गयो । उनलाई आर्यघाटमा बिदा गरेर आएको अन्तिम क्षण मेरा लागि एउटा शून्य समय थियो । त्यो शून्य समयपछि धेरैपटक उनी नभएको घरमा म पुगेको छु, पहिले म उनलाई घरको ग्राउन्ड फ्लोरमा भेट्थेँ । आजकाल उनको घर जाँदा एक तलामाथि चढेपछि भाउजूलाई भेट्छु र भाउजूसँग सुखदुःखका कुरा गर्दा दुःखका धेरै कुरा गर्छु, किनकि कवि-लेखकले जाने बेला दुःख नै छाडेर गएका हुन्छन् ।
उनले अन्तिमपटक बोलेको मैले सुनेँ, गोधूली संसारको मेरै निवासमा, ‘शुभारम्भ द म्युजिकल जर्नी’को पहिलो कार्यक्रममा । उनले भनेका थिए, ‘मैले नारान र गोपाललाई मीत लगाइदिएको मीतकथा त अब मिथ भइसकेछ ।’
पछिल्लोपटक बल्लभ निवास जाँदा भाउजूसँग छुट्टिएर उनी छोरी रेखाजीसित सभागृहसम्म सँगै जाने काम बन्यो । बाटोमा रेखाजीले भन्नुभयो, ‘बाबाका सारा पुस्तकको लाइब्रेरी बनाउन मन थियो । म आफैँले राख्नुपर्ने थियो । आमाले अरुलाई दिनुभयो ।’
लेखक-कविका यस्ता दुःख पनि धेरै छन्- उसको निधनपछि उसले पढेका पुस्तक, टेबल कलम वा मसीदानी कता-कता हराउँछन् । हराएका सबै समेट्ने कसैसित समय हुँदैन ।
हाम्रा कैयन् महान् लेखकका हस्ताक्षर गरिएका पुस्तक, पढेर बुकमार्क लगाएका पुस्तक अन्ततः कहाँ जान्छ वा फर्किन्छ कि फर्किंदैन । यी सबै कुरा सम्झिँदा धुँस्वा सायमीका अगणित पुस्तकहरू नेपाल भाषाका एकेडेमीमा सुरक्षित होला कि नहोला ?
देवकोटा, शंकर, भूपि वा रोकाले पढेका किताब अब हामीले कहाँ देख्न पाउँछौँ ? यदि ईश्वर बल्लभलाई सोधिएको भए यसको वल्लभियन जवाफ के हुन्थ्यो होला ?








