जुर्मुराउन थाले नेपाली चलचित्रका निर्माता

काठमाडौँ । कोरोनाले करिब २ वर्ष यता ठप्प भएको नेपाली चलचित्र क्षेत्र चलायमान हुने लक्षण देखिएको छ । भारतीय चलचित्र सूर्यवंशीले दर्शक हलसम्म तानेसँगै बनेर तयार रहेका धेरै चलचित्रले प्रदर्शन मिति तय गर्न थालेका छन् ।

अमेरिकामा छायांकन गरिएको चलचित्र ‘ओभरडोज’ यही मंसिर १७ गते बाट प्रदर्शनमा आउने छ ।त्यस्तै भिन्न कथामा निर्माण गरिएको चलचित्र चपली हाइटको तेस्रो सिक्वेल पुस २ गतेबाट प्रदर्शनमा आउने निर्माता अर्जुन कुमारले बताएका छन् । त्यसको एक हप्तापछि नै ऋषिराज आचार्य को कमेडी चलचित्र चुरीफुरी पुस ९ गतेबाट प्रदर्शनमा आउने छ ।

आज मात्रै पूजा शर्माले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९बाट प्रदर्शनमा आउने बताएकी छन् । उनले दर्शकबाट सहयोगको अपेक्षा समेत गरेकी छन् । मुकुन्द भट्ट निर्देशित ‘लप्पन छपन २’ चलचित्र बनेको लामै समय भयो । यस अघि प्रदर्शन मिति समेत तय गरिएकोमा कोरोनालाई कारण बनाउँदै प्रदर्शन गरिएन ।

यो चलचित्रको हाल प्रदर्शन मिति फागुन १३लाई राखिएको छ । त्यस्तै ‘ए मेरो हजुर ५’ चलचित्रले समेत प्रदर्शन मिति पक्का गरेको लामो समय भयो । यो चलचित्र नयाँ वर्षको छेको पारेर चैत २५ गतेबाट प्रदर्शन हुने निर्देशक तथा निर्माता झरना थापाले यस अघि नै बताएकी छन् ।

दिपेन्द्र के खनालको चलचित्र चिसो मान्छे वैशाख ३०बाट प्रदर्शनमा आउने छ । यस अघि नै तीज नजिक प्रदर्शन गर्ने तयारी भएपनि अन्तिम समयमा आएर चलचित्रको प्रदर्शन मिति परिवर्तन गरिएको थियो । अन्य दुई दर्जन बढी चलचित्र छायांकन सकेर प्रदर्शनको लागि तयारी अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *