मुन्द्रे, कमेडी क्लब र उतारचढाव

काठमाडौँ । जितु नेपाल ‘मुन्द्रे’ले एक दशकभन्दा लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा अभिनय र निर्देशन गरे । टेलिश्रृंखलाको बजार सुस्ताउन थालेपछि तितो सत्य समूहका दिपकराज गिरी र दीपाश्री निरौलाको अगुवाइमा जिरे खुर्सानी र मेरी बास्सै समूह ठुलो पर्दातिर लाग्यो । जितु पनि यो समूहको एक मुख्य कलाकारका रुपमा रहे ।

हुन त त्यसअघि पनि जितुले ठुलो पर्दामा काम भने गरेका थिए । यो समूहको पहिलो चलचित्र ‘वडा नम्बर ६’ सफल भयो । त्यसपछि यहि समूहले चलचित्र निर्माणलाई निरन्तरता दियो । अनि जन्मियो ‘छक्का पन्जा’ र ‘छ माया छपक्कै’ चलचित्र ।

टेलिभिजनमार्फत् चर्चामा आएका र स्ट्यान्ड अपसमेत गर्ने जितुलाई शायद केही फरक गर्ने मन भयो । त्यसैले ‘मुन्द्रेको कमेडी क्लब’ सुरु गरे । भारतीय टेलिभिजन कार्यक्रम ‘कपिल शर्मा शो’बाट प्रभावित देखिने यो कार्यक्रम १३२औँ शृङ्खलामा आइपुगेर बन्द भएको छ ।

कार्तिक १९, २०७५ बाट सुरु भएको कार्यक्रममा सुरूमा दीपाश्री निरौला अध्यक्षको रूपमा थिइन् । दीपाकै निर्देशनमा बनेका चलचित्रमा अभिनय गर्दै आएका जितुले उनै दीपालाई अध्यक्षको कुर्सीमा बसाए । लकडाउन सुरु भएसँगै जितुले कार्यक्रमको पहिलो भागसमेत सकिएको घोषणा गरे ।

प्रतिकूल परिस्थितिमा शोको दोस्रो भाग केही महिना सुरु हुन सकेन । दोस्रो पटक पुनः शो सञ्चालन हुनै लाग्दा दीपाश्री विवादमा तानिइन् । मुन्द्रेले चुपचाप शोलाई युट्युबमा राख्ने गरिएको च्यानल परिवर्तन गरे र अध्यक्षको कुर्सीबाट दीपालाई हटाए । उनले केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को च्यानल ‘आमा अग्नि कुमारी’बाट आफ्नो शो झिकेर ‘जितु मुन्द्रे’ नामक आफ्नै च्यानलमा शोका भिडिओहरू राख्न सुरु गरे । यता अध्यक्षको कुर्सीमा अभिनेत्री करिश्मा मानन्धर आइपुगिन् ।

उक्त समय दीपाले सञ्चार माध्यममा पुगेर धेरै दुखेसोसमेत पोखिन् । उनले यो कुराले आफूलाई चित्त दुखेको बताइन् भने कतिपय स्थानमा त आँखा रसिलो पार्न समेत भ्याइन् । उनले आफूले धेरै पाहुनालाई क्लबमा आउन निम्ता दिएको समेत बताएकी थिइन् । यो समय भने जितुले केही बताएनन् ।

शो बन्द गर्दा जितुले यसअघि दीपाले त्यस्तै गुनासो गर्न थालेका छन् । आफ्नै समूहका साथीले बुझेनन्, सल्लाह नै नगरी निर्णय गरिसकेछन् । आफ्नै भाइ सोचेका जितुले धोका दिएकोमा दीपाको आँखामा आँसु देखिन्थ्यो भने अहिले जितुले उमेश राई उर्फ फुलन्देको आमालाई आफ्नै भाइ मानेको बताउँदै आएका छन् ।

सम्झौता नगरी कार्यक्रम चलाउँदाको नतिजा भोगेको जितुको बुझाइ छ ।

प्रेस मीटमा उनले उमेश डान्स रियालिटी शोमा अचानक जान लागेका कारण आफू अचम्मित भएको बताएका छन् । उमेश डान्स च्याम्पियनको होस्टको रुपमा देखिने भएपछि जितुले कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन् । एक कलाकार दुई भिन्न शोमा एउटै चरित्रमा रहेर देखिँदा दर्शकको आकर्षण कम हुनसक्छ । तर‚ उमेशप्रति उनको असन्तुष्टि नभएर आफ्नै समूहको अर्को कार्यक्रममा आफ्नै शोका चर्चित कलाकार लगेर धोका दिएकोप्रति गुनासो रहेको बुझ्न सकिन्छ ।

डान्स च्याम्पियन र कमेडी क्लब दुवैको मार्केटिङको जिम्मा ‘की एडभरटाइजिङ’ले लिएको छ । यस्तोमा आफ्नै कार्यक्रमको कलाकार लगेर कार्यक्रम प्रस्तोता बनाउदा आफूमाथि घात भएको जितुको बुझाइ छ । सम्झौता पत्र नै नबनाई आपसी सहमतिमा कार्यक्रम सञ्चालन गरिरहेका जितुले अब भने बिनासम्झौता काम गर्न नहुने रहेछ भन्ने ज्ञान पाएको समेत बताएका छन् । यता जितुले सम्झौताबिना नै राखेका उमेश च्याम्पियनमा गएर सम्झौता पनि गरिसकेका छन् । जितुको चित्त दुखाइ ‘की’को यो व्यवहार र उमेशप्रति हो ।

शोकै कुरा गर्दा पनि फुलन्देकी आमा र राजेन्द्र नेपाली ‘लट्टे’ नभएको एपिसोडमा जितुलाई गाली गर्ने दर्शकको सङ्ख्या ठुलै हुन्थ्यो । पछिल्लो समय उनले शोमा नयाँ कलाकार थपे पनि उनीहरूप्रति भन्दा दर्शकको आकर्षण लट्टे र फुलन्देकी आमाप्रति लक्षित भएको विषय नकार्न सकिँदैन । जितुले खुलेर उमेशले शो छाड्नु कारण भएको नबताए पनि वास्तविकता यही नै भएको कतिपय दर्शकको बुझाइ छ । जितुले समेत ‘आज उमेशले छोड्यो‚ भोलि लट्टे कतै जाला अनि म चाहिँ के गर्ने ?’ भनेर दर्शकको आशङ्कामा बल पुर्‍याएका छन् ।

जितुले दीपालाई आफ्नो शोबाट हटाएसँगै उनी छक्का पन्जा समूहबाट समेत अलग भएको देख्न सकिन्छ । यसको जवाफ खुलेर दुवै पक्षले नदिए पनि ‘छक्का पन्जा ४’ को ट्रेलरमा जितु समेटिएका छैनन् । त्यस्तै यहि समूहद्वारा सञ्चालनमा आएको हलमा समेत जितु समेटिएका छैनन् । एक प्रकारले हेर्दा जितु समूहबाट अलग्याइएका पो हुन् की जस्तो पनि देखिन्छ ।

यता जितु भने आफूलाई धेरै कामको अफर आएको बताउँछन् । उनले प्रेस मिटमा लामै समय आफूलाई ऊर्जा दिने र हौस्याउने व्यक्तिहरूका कुरा सेयर गरे, कमेन्टले रुवाएको विषय उठाए भने आफूले गोल गर्न सके पनि नसके पनि राम्रो खेल खेलेको बताए ।

अन्य शोहरू ३० भागभन्दा धेरै माथि नजानेमा आफ्नो शो बन्द गर्नुपर्ने समय आएको र परिस्थितिले त्यही स्थिति सिर्जना गरेको समेत बताए । कुराकानी अवधिभर भावुक देखिएका जितुले छक्का पन्जा समूहसँगको कुराकानी उठाउँदा भने यसबारे अहिले कुरा नगर्ने भन्दै तर्किए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *