फेरि अभागी रह्यो दक्षिण अफ्रिका

काठमाडौँ । क्रिकेटमा दक्षिण अफ्रिकालाई अभागी टिम भनिन्छ । यो टिम जति बलियो भएपनि विश्वकपमा कहिल्यै बलियो उपस्थिति जनाउन नसक्नुलाई उसको भाग्यसँग जोड्ने गर्छन क्रिकेट पन्डितहरू ।

दक्षिण अफ्रिका सन् १९७५ मा सुरू भएयताका १२ वटा एकदिवसीय विश्वकपको फाइनलमा पुग्न सकेको छैन । यस्तै, सन् २००७ मा सुरू भए यताका ७ वटा पुरुष टी-ट्वेन्टी विश्वकपमा पनि दक्षिण अफ्रिकाले फाइनल खेलेको छैन ।

यसपटक पनि भयो त्यस्तै । दक्षिण अफ्रिका फेरि पनि अभागी सावित हुँदै समूहचरणबाटै घर फर्कियो । समूहचरणको अन्तिम खेलमा शीर्ष स्थानको इङ्ग्लयान्डलाई हराए पनि दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गर्न सकेन । फराकिलो जित चाहिएको खेलमा १० रनको मात्र जित हात पारेपछि नेट रनरेटका आधारमा अस्ट्रेलिया सेमिफाइनल पुग्यो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८९ रनको ठूलाे योगफल तयार पारेको थियो । रश भान डेर डुसेनले सर्वाधिक ९४ रनको अविजित इनिङ खेले । त्यस्तै एडन माक्रमले २५ बलमा ५२ रन बटुले भने ओपनर क्विन्टन डिककले ३४ रन बनाए । तर जबाफमा इङ्ग्लयान्डले ८ विकेटको क्षतिमा १७९ रन बनाएपछि साँघुरो जित दक्षिण अफ्रिकालाई सेमिफाइनल पुर्‍याउन पर्याप्त भएन ।

प्रतियोगितामा इङ्ग्लयान्ड र अस्ट्रेलियाले पनि एक एक खेल हारे तर दुवै टिम प्रतियोगिताको अन्तिम ४ मा पुगे । तर एक खेल नै हारेको दक्षिण अफ्रिका भने नेट रन रेट कम हुँदा बाहिरियो । दक्षिण अफ्रिकाले इङ्ग्लयान्डलाई १० रनले, बंगलादेशलाई ६ विकेटले, श्रीलंकालाई ४ विकेटले र वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो भने अस्ट्रेलियासँग ५ विकेटले हारेको थियो ।

जारी प्रतियोगितामा अविजित रहेको इङ्ग्लयान्डलाई हारको स्वाद चखाउनु र टी-ट्वेन्टी अन्तर्राष्ट्रियमा इङ्ग्लयान्डसँग लगातार ५ हारपछि जित निकाल्नु नै दक्षिण अफ्रिकाका लागि चित्त बुझाउने विषय भयो ।

अस्ट्रेलियाले मार्‍यो बाजी

वेस्टइन्डिजलाई फराकिलो अन्तरले हराएको अस्ट्रेलिया दोस्रो खेलको प्रतिक्षामा थियो । जहाँ १८९ रन बनाएको दक्षिण अफ्रिकाले  इङ्ग्लयान्डलाई १३१ रनमा रोक्न सक्नुपर्ने चुनौती थियो । तर इंग्लिस ब्याट्सम्यानले दक्षिण अफ्रिकाको यो सपना पूरा हुन दिएनन् । इंग्ल्यान्डले १५‍.२ ओभरमै १३१ रनको आँकडा पार गर्‍यो ।

इङ्ग्लयान्डले १३१ रन कटाएसँगै खुसी अस्ट्रेलियाली समर्थकमा छायो । किन भने त्यसपछि खेल जिते नै पनि दक्षिण अफ्रिका सेमिफाइनल पुग्न आवश्यक रन रेट पुग्ने थिएन । र अस्ट्रेलिया सेमिफाइनल पुग्ने थियो । र भयो पनि त्यस्तै, समूह १ मा इङ्ग्लयान्ड समूह विजेता र अस्ट्रेलिया उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल रहे। अस्ट्रेलियाले २०१२ पछि सेमिफाइनलमा स्थान बनायो। अर्थात भाग्यमानी रह्यो अस्ट्रेलिया र अभागी बन्यो दक्षिण अफ्रिका ।

रबाडाको ह्याट्रिक

अन्तिम ओभरमा इङ्ग्लयान्डलाई जितका लागि १४ रन आवश्यक थियो । जहाँ कागिसो रबाडा चम्किए । उनले ह्याट्रिक विकेट लिएपछि इङ्ग्लयान्ड पराजित भयो । उनले पहिलो बलमा क्रिस वोक्सलाई ७ रनमा आउट गरे ।

दोस्रो बलमा १७ रन बनाएका कप्तान इयोन मोर्गनलाई र तेस्रो बलमा क्रिस जोर्डनलाई शून्य रनमा राबाडाले आउट गराए । ओभरका अन्तिम तीन बलमा रबाडाले मात्र ३ रन दिएपछि इङ्ग्लयान्डकाे  रवाफ घट्यो । रबाडा टी-ट्वेन्टी विश्वकपमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी बलर समेत बनेका छन् ।

जारी विश्वकपमा तीन खेलाडीले ह्याट्रिक विकेट पूरा गरेका छन् । कर्टिस कुपर, वानिन्दु हसरंङ्गा र रबाडाले यसै विश्वकपमा ह्याट्रिक लिए । सन् २००७ मा ब्रेट लिले विश्वकपमा ह्याट्रिक लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *