स्कटल्यान्डसँग भारतलाई फराकिलो जित आवश्यक

काठमाडौँ । भारतले टी-ट्वेन्टी विश्वकपअन्तर्गत समूहचरणकाे आफ्नो चौथो खेलमा शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयानुसार राति ७:४५ बजे शुरू हुनेछ ।

शुरूका दुई खेल हारेको भारत अफगानिस्तानसँग फराकिलो जित हात पारेर हौसिएको छ । उसलाई सेमिफाइनलको सम्भावना कायमै राख्न बाँकी २ खेलमा पनि फराकिलो जित आवश्यक छ । तसर्थ भारत आजपनि त्यस्तै प्रदर्शन चाहन्छ । आज र बाँकी रहेको नामिबियासँगको खेलमा फराकिलो जित हात पार्न सके नेट रनरेटमा सुधार गर्दै भारत सेमिफाइनल प्रवेश गर्न सक्नेछ ।

यद्यपि रनरेटका साथै भारतका लागि अर्को एक ‘सिक्वेन्स’ पनि मिल्नुपर्ने छ । त्यो भनेको न्युजिल्यान्डले बाँकी दुईमध्ये कम्तिमा एक खेल हार्नुपर्ने छ। न्युजिल्यान्डले आजै दिउँसाे ३:४५ मा नामिबियासँग खेल्दैछ । किवि टीमले त्यसपछि अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।

स्कटल्यान्डको पनि सनसनीपूर्ण प्रदर्शन

बुधबार न्युजिल्यान्डसँगको खेलमा स्कटल्यान्डले प्रभावशाली प्रदर्शन गर्‍याे ।  जसका कारण अन्तिमसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा स्कटल्यान्ड १६ रनले पराजित भयो ।

तर, भारतसँग पहिलोपटक खेल्न लागेको स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिइसके पनि बलियो टिमलाई हराएर विश्वकप सम्झनायोग्य बनाउन चाहन्छ । तर उसलाई सहज भने हुने छैन ।

ओपनरको फर्म र भारतको आशा

भारतका ओपनर रोहित शर्मा र के एल राहुल फर्ममा फर्किएका छन् । यो प्रतियोगिताका सुरूका दुवै खेलमा खराब प्रदर्शन गरेका उनीहरूले अफगानिस्तानसँगको खेलमा विस्फाेटक ब्याटिङ गरे । उनीहरूले पहिलो विकेटका लागि १४० रनको साझेदारी गरेका थिए । उनीहरूको फर्मले भारत उत्साहित छ ।

यति मात्र होइन, खराब लयबाट गुज्रिरहेका हार्दिक पान्ड्याले पनि अफगानिस्तानसँग चाहिएको बेला चाहिएको जस्तो इनिङ खेले । कप्तान विराट कोहलीले ठूला शट खेल्न आफ्नो ठाउँमा ब्याटिङका लागि पठाएका पान्ड्या र ऋषभ पंतको साझेदारीले पनि भारतको खातामा २०० प्लस रन जम्मा हुन मद्दत पुगेको थियो ।

दुबईमा राति हुने खेलको जवाफी इनिङमा ओस हुने भएकाले टस जित्ने टिमले पहिले बलिङ रोज्ने पक्का जस्तै छ । तर रोचक के छ भने कोहलीले भारतका लागि पछिल्ला १४ मध्ये १३ खेलमा टस हारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *