रवीन्द्रलाई प्रकाशमानको कटाक्ष- ‘सानो पार्टी पनि जोगाउन नसक्नेले ठूला कुरा नगरेकै राम्रो’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा मिठा कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल संवत्‌का अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा नेता सिंहले काम नगर्ने तर लोकप्रिय नारा र मिठा कुरा गरेर मतदातालाई प्रभावित गर्ने काम भइरहेको भन्दै अब कुरा होइन काम गर्नेलाई जिताउनुपर्ने बताए ।

विवेकशील साझा पार्टीका अध्यक्ष तथा काठमाडौँ क्षेत्र नम्बर १ का आफ्ना चुनावी प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई लक्षित गर्दै उनले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए । ‘काम केही गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ सानो पार्टी पनि पटक-पटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ,’ नेता सिंहले भनेका छन् ।

उनले थपे, ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरूबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनुपर्‍यो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपर्‍यो । काम गर्न सजिलो छ र ?’

उनले नेपालको विकासका लागि कांग्रेसको विकल्प नरहेको दाबीसमेत पनि गरे । कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको उनको आरोप छ ।

रवीन्द्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारेकाे आफ्नाे दस्ताबेज भर्खरै पार्टीमा पारित गराएका छन् । पार्टीकै संयाेजक मिलन पाण्डे पक्षले भने अध्यक्ष रवीन्द्रकाे दस्ताबेजलाई नै खारेज गर्नुपर्ने अडान लिँदै आएकाे छ । पार्टीकाे याे निर्णयलाई निर्वाचन आयाेगले अध्यावधिकसमेत गरिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *