फूलसँगै जीवन बिताइरहेका बाबु-छोरा

ललितपुर । ढकमक्क गोदावरी फूलले भरिएको स्टलमा फोटो खिच्ने र फूल किन्नेको घुइँचो छ । उस्तै उस्तै अनुहारका दुईजना मान्छे मन्द मुस्कानसहित ग्राहकलाई स्वागत गरिरहेका छन् ।

कार्तिक १२ गतेबाट ललितपुरको जावलाखेलमा सुरु भएको फूल मेलामा ४८ वटा स्टल छन् । फूल मात्र होइन‚ फूल खेतीका लागि आवश्यक सामग्रीदेखि विभिन्न जातका फूलका बेर्नाहरूले मेला स्थल भरिभराउ छ । त्यसमा पनि ‘हाम्रो फूल बगैँचा’को स्टलमा ग्राहक झुम्मिएका छन् । यो स्टल चलाइरहेका छन् राजन योञ्जन र सोनम लामा योञ्जनले ।

५८ वर्षीय राजनलाई छोरा सोनमले सघाइरहेका छन् । आफ्नै आँगनको डिलमा लर्किएको गोदावरी हेर्न बगैँचामा पसेको जस्तै अनुभूति गर्न सकिने गरी स्टल सजाइएको छ । राजन १६ वर्षदेखि व्यावसायिक रूपमा नर्सरीको काम गर्दै आएका छन् । ललितपुरको बखुण्डोलमा साढे दुई रोपनी जग्गा भाडामा लिएर ‘हाम्रो फूल बगैँचा’ नर्सरीले बेर्ना उत्पादन गर्छ । बेर्ना जावलाखेलमा बिक्री गरिन्छ ।

विभिन्न कार्यालयमा सेक्युरिटी गार्डको काम गरेर गुजारा चलाउँदा नै राजनले मालीको काम सिकेका थिए । बगैँचामा काम गर्ने, बिरुवा लगाउने, त्यसको हेरचाह गर्ने काम गर्दागर्दै उनलाई सबैभन्दा रमाइलो काम लाग्यो फूलको रेखदेख र गोडमेल । राजन सुनाउँछन्, ‘१५ वर्ष अघिसम्म राज खानदान र राणाहरूले मात्र चिटिक्क राम्रा र ठूला बगैँचा बनाउँथे । उनीहरूसँग प्रशस्त खाली ठाउँ हुन्थ्यो । विदेशबाट समेत बिरुवा ल्याउने पहुँच हुन्थ्यो । मैले त्यस्तै घरानाको माली बनेर काम गरेँ ।’

यो अनुभवले उनलाई फूलसँगै रत्तिन सिकायो । सेक्युरिटी गार्ड छाडेर उनले फूललाई नै आफू रमाउने र परिवार पाल्ने मेसो बनाए । उनलाई फूलसँग आफ्ना सन्तानलाई जस्तै प्रेम छ । तालमेल नमिलेर फूल मर्दा आफूले हुर्काएको सन्तानले छोडेको जस्तै महसुस हुने उनी सुनाउँछन् । फूलसँग रत्तिँदा रत्तिँदा फूललाई कति बेला पानी, मल र काँटछाँट चाहिन्छ भन्ने उनले थाहा पाइहाल्छन् ।

राजनले बखुण्डोलमा सानो लगानीले सुरु गरेको व्यवसायले उनले परिवार पाले‚ छोराछोरी पाले, पढाए, विवाह गर्ने खर्च जुटाए । फूल खेतीले नै उनको परिवारप्रतिको जिम्मेवारी पूरा गर्न सहज बनाइदियो । फूल स्याहार्दा र सुमसुम्याउँदा आफूलाई नयाँ ऊर्जा प्राप्त हुने उनी बताउँछन् । त्यसै कारण जीवनको ६ दशक पूरा गर्न लाग्दा पनि उनमा काम गर्ने जाँगर कम भएको छैन ।

छोराले आफ्नै बाटो पछ्याउनु र सघाउनुले उनलाई अझ हौस्याएको छ । सोनमले पछिल्लो ६ वर्षदेखि निरन्तर बुबाले थालेको फूलको व्यवसायमा सघाइरहेका छन् । उनी अहिले २६ वर्षका भए । २० वर्षको हुँदा उनलाई विदेश जाने जोस चलेको थियो । पासपोर्ट बोकेर धेरै म्यानपावर धाए । तर कतै भिसा नलागेपछि सोनमले बुबाकै व्यवसायमा सघाउने अठोट गरे । सोनमलाई ‘अहिले भने त्यो बेला किन विदेश जान भौँतारिएछु’ जस्तो लाग्ने सोनम बताउँछन् । विदेश गएर गर्नेभन्दा कमै दुःख गर्दा आफ्नो व्यवसाय चलाउन सकेको र खुसी हुन पाएकोमा सोनम दङ्ग देखिन्छन् ।

तर फूल खेतीका लागि उपयुक्त र पर्याप्त ठाउँ भने अभाव हुन थालेको दुखेसो उनीहरूको छ । सोनम भन्छन्, ‘फूल खेती गर्दा राम्रो माटो भएको जग्गा चाहिन्छ । थोरै ठाउँ भएर पुग्दैन । लगातार ७ घण्टा घाम लाग्ने ठाउँ चाहिन्छ । गहिरो अथवा डाँडोमा सबै थरी बेर्ना फस्टाउँदैनन् । त्यसैले अब काठमाडौँमा फूल खेती र बेर्ना उत्पादन झन् चुनौतीपूर्ण बन्दै गएको छ । यहाँ त घर नै घर छ कता नर्सरी बनाउनु ?’

तर पछिल्लो समय मानिसमा बगैँचा बनाउने चेतना बढ्दै गएको सोनम र उनका बाको बुझाइ छ । कोरोनाको महामारीसँगै ‘हाम्रो फूल बगैँचा’को व्यापार झन् फस्टायो । कसरी ? राजनले मुस्कुराउँदै भने, ‘मानिसले बाहिर प्रकृतिमा रमाउन नपाएपछि घरलाई नै प्रकृति बनाउन खोज्ने रहेछ । लकडाउनमा मान्छे फुर्सदिला भए । त्यसपछि त बगैँचा लगाउने, गमलामा सुन्तला कागती फलाउने, घरभित्रका बिरुवा लगाउने ट्रेन्ड ह्वात्तै बढ्यो । नेपाली प्रकृतिप्रेमी रहेछन् भन्ने मैले त्यही बेला थाहा पाएँ ।’

लकडाउनका बेला फूल खोज्दै प्रहरीसँग लुक्दै ग्राहकहरू नर्सरी आउने गरेको उनी सुनाउँछन् । ‘त्यतिबेला मानिसले प्रकृतिलाई कति माया गर्दोरहेछ भन्ने कुरा थाहा पाएँ‚’ उनले भने । हाम्रो फूल बगैँचाले गोदावरी, सयपत्रीलगायतका रैथाने फूल बाहेक हल्यान्डबाट बिउ ल्याएर फूलका बेर्ना र बोट उत्पादन गर्ने गरेको छ । ६ जना कामदारलाई रोजगारीसमेत दिएको छ । सानो नर्सरीबाट सुरु गरेको व्यवसायमा अहिले ८० लाख रुपैयाँ बराबरको बिरुवा रहेको सोनमले बताए ।

फूलमा यति नै नाफा हुन्छ भन्ने यकिन नभए पनि कामदारलाई पारिश्रमिक दिएर पनि राम्रै नाफा गरिरहेको सोनमले बताए । उनीहरूले सामाजिक सञ्जालमा पनि बिरुवाको फोटो राख्ने गरेका छन्‚ तर ‘हाम्रो फूल बगैँचा’ले अनलाइन बिक्री भने गर्दैन ।

अहिले नेपालमा वार्षिक साढे २ अर्ब हाराहारीको फूलको कारोबार हुने गरेको छ । यसमध्ये आन्तरिक उत्पादनले ९० प्रतिशत माग धान्ने गरेको फूल व्यवसायीहरू बताउँछन् । यस वर्ष तिहारमा मात्र साढे १८ लाख मालाको आवश्यकता पर्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

त्यसमध्ये पनि १६ लाख सयपत्रीको माला आवश्यक हुने एसोसिएसनले जनाएको छ । यसपालि तिहारमा साढे दुई लाख माला आयात गर्ने तयारी छ भने बाँकी मालाको माग आन्तरिक उत्पादनले नै धान्ने व्यवसायी बताउँछन् । फूल खेती गर्ने किसानलाई सरकारले प्रोत्साहन गर्ने हो भने बाहिरबाट आयात नै गर्नुनपर्ने यी बाबु-छोराको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *