इन्टिग्रिटी अवार्डबाट पाँच जना सरकारी कर्मचारी सम्मानित

काठमाडौँ । इन्टिग्रीटी आइकन नेपाल २०२१ बाट पाँच जना सरकारी कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोकबहादुर लोप्चन छन् ।
यस वर्ष पनि कोभिड– १९ को जोखिम कायमै रहेकोले सम्मान कार्यक्रम सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लाका सञ्जाल पनि परिचालन गरिएको थियो ।
सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको छ । जस अन्तरगत, शिला शर्मा “दृढ र सहृदयी”, मनमाया भट्टराई पंगेनी “प्रेरणादायी र निडर”, चन्दकान्त चौधरी “नवप्रवर्तनकारी र दूरदर्शी”, डा. सुमित्रा गौतम “कर्मनिष्ठ र रुपान्तरणकारी”, र डा. लोक बहादुर लोप्चन “अटल र लगनशिल” टाईटलबाट सम्मानित भएका थिए ।








