काठमाडौँ फर्किँदै ‘उचाई’ टिम

काठमाडौँ । कोभिड खोपको प्रभाव अहिले प्रष्ट देखिन थालेको छ । सयौँ मानिस एकसाथ छायाङ्कन गरिरहेका छन् तर अहिले कोभिड संक्रमण पहिलेको गतिमा फैलिएको छैन । यसको पछिल्लो उदाहरण नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाई’ लाई लिन सकिन्छ ।

मनाङमा छायाङ्कन भइहेको चलचित्रको पहिलो सेड्युल बिहीबार सम्पन्न भएको छ । टिममा मुम्बईका १२५ जनाको उपस्थिति थियो भने बाँकी ३५० भन्दा बढीको टोली नेपालका स्थानीय थिए । नेपालको छायाङ्कन व्यवस्थापनको जिम्मा लिएका सुरज आचार्यले यसको पुष्टि गरेका छन् । सुरजले बिहीबार पहिलो छायाङ्कन सेड्युलको अन्तिम दिन रहेको बताए ।

‘मनाङमा चलचित्रको छायाङ्कन गरिएको हो,’ उनले भने, ‘मौसमले साथ दिएको छ कलाकारहरु असोज २९ गते काठमाडौं फर्कनेछन् । बाँकी चालक दलका सदस्य ३० तारिकमा भारत प्रस्थान गर्नेछन् ।’

उनी थप्छन्,’नेपालमा छायाङ्कन ३ अक्टुवरबाट सुरु भएको हो । मौसम राम्रो थियो, त्यसैले २५ दिनमा नै सुटिङ सकियो, नत्र ४० दिनको समय तालिका थियो । मौसमले हामीलाई साथ दियो । मौसमको कारण आवत जावतमा भने केही समस्या आयो । उडानमा केही ढिलाइ भयो । तर समग्रमा सहज रुपमा नै छायाङ्कन गरियो । ‘अनुपम, बोमन, परिणितीलाई मनाङ र नाम्चेमा स्थानीयले स्वागत गरेका थिए ।

योजना अनुरुप छायाङ्कन
परिणीति सुरुमा एभरेष्ट बेस क्याम्पमा छायाङ्कनका लागि पुगेकी थिइन् । चलचित्रको क्लाइमेक्स र गीतको छायांकन नेपालमा भएको हो । गीतमा कोरियोग्राफी शबिना खानले गरेकी हुन् ।

सेटमा मेडिकल सुविधा भएको कारण कसैलाई पनि केही समस्या हुन पाएन । दिनमा दुई देखि ४ डिग्री सम्म तापक्रम हुने गर्थ्यो र दिनमा नै अधिकांश छायांकन गरिएको थियो । रातमा माइनस १० डिग्री सम्म कम तापक्रम हुने भएको रातको समयमा छायाङ्कन गर्न सहज थिएन । अनुपम खेर, बोमन इरानी, सारिका र परिणितीले आ-आफ्नो भागको छायांकन गरेका थिए । चलचित्रमा नेपाली कलाकार पारमिता आरएल राणाको समत अभिनय छ ।

नेपालमा छायांकन भएका विदेशी चलचित्र
अमिताभ बच्चनको खुदा गवाह र महानको छायांकन नेपालमा गरिएको थियो । यस बाहेक मिथुन चक्रवर्ती र डेनीको चलचित्र ‘आँधी तुफान’ को छायांकन नेपालमा भएको थियो । डेनीको ‘धुन्ध’ समेत यही छायांकन भएको थियो ।

सञ्जय कपुर र ममता कुलकर्णीको चलचित्रको सुटिङ नेपालमा भएको थियो । देवानन्दको ‘हरे रामा हरे कृष्णा’को सुटिङ यही भएको थियो । हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’, ‘लिटिल बुद्ध’, ‘एभरेस्ट’ बाहेक चिनियाँ चलचित्र ‘अप इन द विन्ड’को छायांकनसमेत नेपालमा भएको हो । त्यस्तै जर्जियाली चलचित्र ‘गाबी कायबा’ को छायांकनसमेत नेपालमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *