कुटिएपछि भूमिनन्दले रुँदै भने- ‘राजतन्त्र ल्याउन रगत बगाउन तयार छु’

काठमाडौँ । अधिवक्ता भूमिनन्द चुँडालले नेपाल बार एशोसिएशनले नै आफूमाथि अन्याय गरेको बताएका छन् । शुक्रबार बार परिसरमा कुटिएपछि अधिवक्ता चुँडालले यस्तो बताएका हुन् । प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको पक्षका  रहेका चुँडाल र अधिवक्ता विराट न्यौपानेबीच शुक्रबार कुटाकुट भएको हाे । ‘बारको नेतृत्व नै दलाल छन्,’ अधिवक्ता चुँडालले भने, ‘बारको इतिहास समाप्त भयो । स्वतन्त्र कानून व्यवसायीहरूमाथि बार परिसरमै हातपात हुँदासमेत बार पदाधिकारीहरू हाँसेर बस्छन् ।’

अधिवक्ता चुँडालले नेपालमा गणतन्त्र अन्त्य भइसकेको जिकिर गर्दै भने, ‘अब हेर्नुस् राजतन्त्र आउँछ आउँछ यो देशमा । राजतन्त्रै नल्याइकन हुँदै हुँदैन यो देशमा । राजतन्त्रबिना यो प्रधान न्यायाधीश हट्दै हट्दैन । राजतन्त्रको खम्बा हो हाम्रो प्रधान न्यायाधीश । राजतन्त्र नआएसम्म हाम्रो प्रधान न्यायाधीश रहन्छ ।’

प्रधान न्यायाधीश जबरामाथि पनि बारका पदाधिकारहरूबाट अन्याय भएको अधिवक्ता चुँडालको भनाइ थियो । उनले रुँदै भने, ‘सर्वोच्च अदालतमा आएर एउटा स्वतन्त्र कानून व्यवसायी पिटिँदा बार हाँसेर बस्छ । यस्तो अन्याय छ देशमा हेर्नुस् । आज सर्वोच्च अदालतमा आएर म कुटिएँ । म यही ठाउँबाट भन्छु, यो व्यवस्थाको अन्त्य होस् । त्यसको लागि म रगत बगाउन तयार छु । राजतन्त्र नलाइ म छोड्दै छोड्दिनँ ।’

शुक्रबार सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको समस्याबारे सामान्य कुराकानी हुने क्रममा अधिवक्ताद्वय चुँडाल र न्यौपानेबीच कुटाकुट भएको थियो । तुलनात्मक रूपमा न्यौपानेले भन्दा चुँडालले बढी कुटाइ खाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *