टी-२० विश्वकप : टस निर्णायक बन्दै

काठमाडौँ । यूएईमा जारी टी-ट्वेन्टी विश्वकपमा अहिले एउटा कुरा देखिएको छ— जसले टस जितेर बलिङ रोज्यो उसले खेल जित्यो । पहिले फिल्डिङ गर्ने टीमले भरपूर फाइदा उठाइरहेका छन् । सुपर १२ मा अहिलेसम्म भएका १० मध्ये ९ खेलमा पहिले फिल्डिङ गर्ने टीमले जितेका छन् । १० खेलमा ८ टीमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे ती सबै टिम विजयी भए ।
मात्र दुई खेलमा टस जित्ने टीमले पहिले ब्याटिङ गर्ने निर्णय गरे । तिमध्ये एक टीम विजयी भयो भने अर्को टीम पराजित भयो । समग्रमा १० मध्ये ९ खेलमा पहिले फिल्डिङ गर्ने टीमले जिते ।
जारी प्रतियोगितामा अहिलेसम्म अफगानिस्तानले स्कटल्यान्डसँग टस जितेर पहिले ब्याटिङ गरेर खेल जितेको एकमात्र खेलका रूपमा रहेकाे छ । बंगलादेशले इंग्ल्यान्डसँग टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्यो । जहाँ बंगलादेश ८ विकेटले पराजित भयो । अर्थात टस जितेर ब्याटिङ गर्ने बंगलादेशको निर्णय इंग्ल्यान्डविरुद्ध दुर्भाग्यपूर्ण रह्यो ।
खेल अबुधाबी, सारजाह या दुबई जहाँ भएको भएपनि पहिलो ब्याटिङ गर्ने टीमले ठूलाे स्काेर बनाउन सकिरहेका छैनन् । किनकी सबै पिच स्लो छन् । यी १० खेलमा केवल दुई खेलमा मात्र पहिलो ब्याटिङ गर्ने टीमले १७० रनको स्कोर पार गरेका छन् ।
अफगानिस्तानले स्कटल्यान्डसँग १९० रन बनाएको थियो भने श्रीलंकाले बंगलादेशले दिएको १७१ रनको लक्ष्य ७ बल अगावै भेट्टाएको थियो । पहिलो ब्याटिङ गर्ने टीमले औषत १५० को स्कोर गर्नसमेत हम्मे पर्ने गरेको ।
दोस्रो इनिङमा मैदान ओसिलाे हुँदा ब्याटिङ सहज हुने र पहिलो इनिङमा ब्याटिङलाई समस्या हुने भएकाले लक्ष्य सामान्य हुने हुँदा सहज रूपमा लक्ष्य भेट्टाउने गरेको देखिएको छ । यूएईमा अक्टोबरको अन्तदेखि रातमा धेरै सित पर्ने गरेको छ । यसले स्पिनर्सलाई बलमा ग्रिप बनाउन मुस्किल पर्छ, जसले ब्याट्सम्यानलाई फाइदा हुने गरेको छ।
जसले गर्दा पछि ब्याटिङ गर्ने टीमले फाइदा उठाइरहेका छन् । ओसको असर कम गर्न क्यामिकलको प्रयोग गरिएको छ । तर यसको फाइदा देखिएको छैन ।








