सुडानका प्रधानमन्त्री हम्डोक रिहा

खार्तुम । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राति रिहा गरिएको उनको कार्यालयले जानकारी दिएको छ । अन्तरराष्ट्रिय रुपमा भएको कडा दबाबपछि उनलाई सैन्य ‘कू’बाट हटाइएको छ ।यद्यपी सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताएको छ । अन्य मन्त्रीहरू र नागरिक नेताहरू गिरफ्तारमा नै रहेको समेत उनको कार्यालयले जनाएको छ ।

सैन्य कूपछि अमेरिका र ईयूले सुडानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएको थियो । यसैबीच संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपत्कालीन बैठक सुरु हुनुभन्दा अगाडि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए । बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए ।

लामो समयदेखि निरंकुश शासक ओमार अल-बशिरको सन् २०१९ अप्रिलमा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरूबीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ । गतसोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौँ नेताहरूलाई गरिफ्तार गरेको थियो । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरूद्वारा जारी समाचारमा जनाइएको थियो ।

सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएका थिए । नागरिक अगुवाहरू समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्बन्धमा तिक्तता आएको थियो ।

सोमबार गरेको कूविरुद्ध व्यापक विरोध प्रदर्शनका क्रममा सरकारी सुरक्षाकर्मीले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए ।

नागरिक अगुवा र सैनिक प्रतिनिधि सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको थियो । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा सङ्गठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको थियो ।

तत्कालीन सरकारले मूल्यवृद्धिका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले उक्त सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो ।

प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिकस्तरको सङ्क्रमणकालीन सरकारका रुपमा गठन भएको थियो । सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारसमेतलाई अहिले सेनाले अपदस्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *