रजनीकान्त : १० वर्षमा १०० चलचित्र

एजेन्सी । ४१ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका रजनीकान्तको लोकप्रियताको विषयमा सबै दर्शक जानकार छन् । सन् १९७५ मा चलचित्र ‘कथा संगम’ बाट डेब्यू गरेका रजनीकान्तलाई फ्यानहरूले भगवानजस्तै पुज्ने गरेका छन् । हालै उनलाई भारतीय चलचित्रको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिएको छ । आज हामी उनको व्यक्तिगत र व्यावसायिक जीवनसँग सम्बन्धित केही रोचक जानकारी दिन गइरहेका छौँ ।

४ वर्षको उमेरमै मातृशोक
१२ डिसेम्बर १९५० मा बैंगलोरको मराठी परिवारमा जन्मिएका रजनी सम्पन्न परिवारका थिएनन् । रजनीको वास्तविक नाम शिवाजी राव गायकवाड हो । जिजाबाई र रामोजी रावका चार सन्तानमध्ये शिवाजी कान्छा सन्तान हुन् । उनले आफ्नो स्कुले पढाइ बैंगलोरमा गरेका थिए । रजनीकान्तले चार वर्षको हुँदा आमा गुमाएका थिए । घरको आर्थिक अवस्था खासै राम्रो थिएन । त्यही कारण उनले सबै किसिमका कामहरू गरेका छन् । रजनीकान्तले कुलीदेखि बस कन्डक्टरसम्म काम गरेका छन् । बसमा टिकट काट्ने अनौठो तरिकाका कारण उनी बस चालक र कन्डक्टरमाझ निकै लोकप्रिय थिए ।

कन्डक्टर साथीको सहयोग
रजनीकान्तका साथी राजबहादुरले उनको अभिनेता बन्ने सपना पूरा गर्न निकै सहयोग गरे । यसै कारण हालै दादासाहेब फाल्के अवार्ड ग्रहण गर्ने क्रममा रजनीकान्तले उनै साथी राजबहादुरलाई सम्झेर धन्यवाद दिएका थिए । राज बहादुरले रजनीकान्तलाई मदरास फिल्म इन्स्टिच्युटमा भर्ना हुन प्रेरित गरेका थिए । रजनीकान्तका लागि भर्ना हुन सजिलो थिएन । राज पनि उनीजस्तै बस कन्डक्टर थिए । रजनीको सहयोगका लागि उनीसँगै अरू केही साथीहरू अगाडि आए । रजनीले यो आवासको उपयोग गर्दै अभिनयसँगै तमिल भाषा पनि सिके ।

के बालचन्द्रको चलचित्रमार्फत अभिनय यात्रा सुरु
यसैबीच रजनीकान्तको भेट चलचित्र निर्देशक के. बालचन्द्रसँग भयो । उनले नै रजनीकान्तलाई चलचित्र ‘अपुर्वा रागनगाल’मा मौका दिएका थिए । यसमा कमल हासन र श्रीविद्याले पनि अभिनय गरेका थिए । यसमा उनको सानो नकारात्मक भूमिका थियो । त्यसपछि सुरुका दुई–तीन वर्ष उनले यस्तै सानो सानो भूमिका पाए ।

नकारात्मक भूमिका खेलेपछि रजनीकान्तले पहिलो पटक खलनायकको छवि तोड्दै चलचित्र ‘भुवन ओरु केल्विकुरी’ मा नायकको भूमिकामा देखिएका थिए । मुथुरमम र रजनीकान्तको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यसपछि उनीहरूले करिब २५ चलचित्रमा एकसाथ काम गरे ।

डन रिमेकले बदल्यो अभिनय यात्रा
सन् १९७८ मा अमिताभ बच्चनको हिट चलचित्र ‘डन’ को रिमेक चलचित्र ‘बिल्ला’ बक्स अफिसमा निकै सफल भएको थियो । अमिताभको स्थानमा रजनीले अभिनय गरेका थिए । उनलाई सन् १९८२ मा तमिलनाडु सरकारले ‘मुन्दरु मुगम’बाट पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरेको थियो ।

‘बाशा’ मार्फत सुपरस्टार
सन् १९९५ मा रिलिज भएको चलचित्र ‘बाशा’ बाट रजनीकान्त सुपरस्टार बनेका थिए । यसले बक्स अफिसको धेरै रेकर्डसमेत तोडेको थियो । यससँगै उनले तमिल चलचित्रलाई अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याए । उनको ‘मुथु’ चलचित्र जापानमा रिलिज भएको पहिलो तमिल चलचित्र थियो । यसपछि २०१७ मा उनको ‘चन्द्रमुखी’ टर्किस र जर्मन भाषामा रिलिज भएको थियो । ‘शिवाजी’ उनको पहिलो चलचित्र हो‚ जसले बेलायत र दक्षिण अफ्रिकाका बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

१० वर्षमा १०० चलचित्र
रजनीकान्तले आफ्नो १० वर्षको फिल्मी करिअरमा १०० चलचित्रमा अभिनय गरेका छन् । उनले आफ्नो १०० औँ चलचित्र ‘श्री राघवेन्द्र’मा हिन्दु सन्त राघवेन्द्र स्वामीको भूमिका निभाएका थिए ।

फिल्ममा प्रवेश गर्नुअघि, रजनीकान्तले कन्नड नाटकहरूमा अभिनय गरेका थिए । नाटकमा उनले दुर्योधनको भूमिका निभाएका थिए‚ जसले उनलाई निकै लोकप्रिय बनायो । रजनीकान्तले पहिलो पटक तमिल चलचित्रमा एनिमेसन समावेश गरेका थिए । ‘राजा चाइना रोजा’ पहिलो तमिल चलचित्र थियो‚ जसमा एनिमेसन समावेश गरिएको थियो ।

रजनीकान्तले तमिल, हिन्दी, मलयालम, कन्नड र तेलुगुसँगै बङ्गाली चलचित्रमा पनि अभिनय गरेका छन् । उनको पहिलो हिन्दी चलचित्र ‘अन्धा कानून’ थियो । त्यही चलचित्रको बङ्गाली नाम ‘भाग्य देवता’ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *