फ्लोरेन्स चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘जुलुङ्गो’लाई अवार्ड

एजेन्सी । राजेशप्रसाद खत्री निर्देशित चलचित्र ‘अ स्केरक्रो’ (जुलुङ्गो) ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१  मा युनिसेफ आइरिस ७५ अवार्ड  जितेको छ । अन्तरराष्ट्रिय निर्णायक मण्डलीले निर्माता खत्रीद्वारा लिखित र निर्देशित चलचित्र लाई शीर्ष पुरस्कारको लागि चयन गरेका हुन् । खत्री शिक्षक हुन् र उनको यस चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गरेको छ ।

युनिसेफको अनुसन्धान कार्यालय इनोचेन्टीले आयोजना गरेको महोत्सवले ‘आजको समयमा बालबालिका हुनुको अर्थ के हो’ भन्ने विषय दर्शाएका चलचित्रहरूको उत्सव मनाउने गरेको छ । इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशहरूबाट ३९ वटा चलचित्रहरूको विशेष प्रदर्शन भएको थियो । आइरिस अवार्डको दोस्रो संस्करणमा ११४ देशहरूबाट कुल १७०० चलचित्रहरू प्राप्त भएका थिए ।

यूनिसेफ ७५ आईरिस अवार्ड निर्णायक मण्डलीले ‘अ स्केयरक्रो’ लाई भिजुअल सिम्बोलिजम र बाल अधिकारसम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो । हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केयरक्रो (जुलुङ्गो) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट बन्चित भएकी किशोरीको कथा देखाउँछ ।

१८ वर्षभदा कम उमेरका बालबालिकाले बनाएको सर्वश्रेष्ठ चलचित्र अवार्ड द गेमले प्राप्त गर्‍यो । नैरोबीको बस्तीमा बसोबास गर्ने बालबालिकाको एक समूहद्वारा बनाइएको यो लघु नाटकले उनीहरूलाई मन पर्ने खेल खेल्नका लागि उनीहरूले गरेको दृढ संकल्प र रचनात्मकताको कथा बताउँछ ।

महामारीमा बाल्यावस्थाअन्तर्गत सर्वश्रेष्ठ चलचित्रको अवार्ड अन्तरा चलचित्रले हात पार्‍यो । यो लघु वृत्तचित्रले बन्दाबन्दीको कथालाई बंगलादेशको घना बस्तीमा बस्ने एउटा किशोरीको नजरबाट बताउँछ । यसलाई फरिद अहमदले लेखन तथा निर्देशन गरेका हुन् ।

खुला श्रेणी गैरआख्यानअन्तर्गत चलचित्र बिइङ समओन एल्स चलचित्र सर्वोत्कृष्ट बन्न सफल भयो । यो वृत्तचित्रले कमिक कनका लागि तयारी गर्दै गरेकी एक तेह्र वर्षीय पात्रलाई पछ्याउँछ र उनको असक्षमताका कारण उनलाई पर्ने प्रभावलाई प्रतिविम्बित गर्दछ ।

खुला श्रेणी आख्यानअन्तर्गत ‘द नेम अफ द सन’ नाटकले अवार्ड हात पार्न सफल भयो । यो नाटक १३ वर्षीय ट्रान्सजेन्डर किशोरका बारेमा हो‚ जो छुट्टीमा आफ्नो बुबा र बहिनीसँग एउटा यात्रामा निस्कन्छ र यो नयाँ निकटताले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ ।

निर्देशनमा उत्कृष्ट भिक्टर सिगुर्योन्सन निर्देशित आइल्यान्ड लिभिङ चलचित्र बन्यो । त्यस्तै लेखनमा ‘प्रश्न’ चलचित्र उत्कृस्ट बन्यो । यो चलचित्र सन्तोष रामले लेखेका तथा निर्देशन गरेका हुन् । युआइएफएफ  विशेष पुरस्कार  इराकस लस्ट जेनरेसन र ड सिटी विदीनले प्राप्त गर्न सफल भए ।

यूआइएफएफ का सबै चलचित्रहरू MyMovies.it  मार्फत २९ अक्टोबरसम्म निशुल्क अनलाइन स्ट्रीम गर्नका लागि उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *