सुडानमा सैन्य कू: सेनाले गोली चलाउँदा ७ को मृत्यु

काठमाडाैँ । सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बताइएको छ ।

सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा निस्किएका थिए । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन आयोजकहरूलाई पक्राउ गरेको बताइएको छ ।

सैन्य कूको विश्वभरि निन्दा गरिएको छ र अमेरिकाले सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर रोकेको छ । कूको नेतृत्व गरेका जनरल अब्देल फतह बुर्हानले सैन्य कदमका लागि दलहरूबीचको राजनीतिक झगडालाई दोष लगाएका छन् ।

सुडानमा लामो समय शासन गरेका ओमार अल-बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र गैर सैनिक नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ । सोमवार सेनाले शासन हातमा लिएपछि राजधानी खार्तुमका सडक र अन्य सहरहरूमा प्रदर्शनकारी ठूलो सङ्ख्या भेला भएर गैर सैनिक शासनको माग गरेको बीबीसी अरेबिकका मोहम्मद ओस्मानले बताए ।

एक जना घाइतेले बीबीसी संवाददातालाई सैन्य मुख्यालयबाहिर सेनाले आफ्नो खुट्टामा गोली हानेको बताए । अर्का एक मानिसले सेनाले पहिला स्टन ग्रिनेडहरूको प्रयोग गरेको र त्यसपछि गोली चलाएको भन्दै घटनाको व्याख्या गरे । ‘दुई जना मरेको मेरै आँखाले देखेँ,’ अल-ताएब मोहमद अहमदले भने ।

सुडानस्थित डाक्टरहरूको सङ्घ र सूचना मन्त्रालयले पनि सैनिक भवनको हाताबाहिर गोली चलाइएको भनेर फेसबुकमा लेखेका छन् । घाइतेहरू रगत पच्छे लुगामा अस्पतालमा रहेको तस्बिरहरू सार्वजनिक भएका छन् । बीबीसी संवाददाताले हिंसा भए पनि प्रदर्शनकारीहरूले पछि हट्ने सङ्केत नदेखाएको बताए ।

प्रदर्शनकारीहरूले इँटाको चाङले बाटोमा अवरोध पुर्‍याएका छन् र टायर बालेका छन् । थुप्रै महिलाहरू पनि ‘सैन्य शासन चाहिँदैन’ भन्दै नारा लगाइरहेका छन् । विमानस्थल बन्द छ र अन्तर्राष्ट्रिय उडानमाथि रोक लगाइएको छ। इन्टरनेट र धेरै फोन सेवाहरू पनि बन्द गरिएका छन् ।

केन्द्रीय बैङ्कका कर्मचारीहरू देशैभर आन्दोलनरत रहेको बताइएको छ र चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरिरहेका छन् । सेनाले शासन हातमा लिएपछि विश्व नेताहरूले त्यसको निन्दा गर्दै प्रतिक्रिया जनाएका छन् ।

सुडानसमेत सदस्य रहेको अफ्रिकी सङ्घलगायत युरोपेली सङ्घ, यूके र अमेरिकाले समेत गैर सैनिक नेताहरूलाई रिहा गर्न माग गरेका छन् । सेनाले थुप्रै नेतालाई पक्राउ गरेर अज्ञात स्थलमा राखेको छ । त्यसरी पक्राउ गरिनेमा प्रधानमन्त्री अब्दल्ला ह्यामदुक र उनकी श्रीमती, साथै मन्त्रिमण्डलका अन्य सदस्य र गैर सैनिक नेताहरू रहेका छन् । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *