उपमेयर कपका लागि पोखराको टोली काठमाडौँ प्रस्थान

पोखरा । काठमाडौँमा आयोजना हुने उपमेयर कप राष्ट्रिय फुटबल लिग प्रतियोगितामा सहभागी हुन पोखराको टोली काठमाडौं प्रस्थान गरेको छ । कार्यवाहक मेयर मन्जुदेवी गुरुङले खेलाडीहरूलाई बिदाइ गरिन् ।

प्रतियोगितामा सहभागी खेलाडीहरूलाई ट्रयाक सुट र नगद हस्तान्तरण गरेर बिदाइ गरिएको हो । उनले पोखरालाई खेलकुद पर्यटनको सहका रूपमा चिनाउन खेलाडीहरूले नयाँ सन्देश दिएर आउने बताइन् । ‘पोखरा पर्यटनको राजधानी हो । हामी सबै गतिविधि पर्यटनसँग जोड्छौँ,’ उनले भनिन्, ‘खेलकुद पर्यटनको पनि यहाँ राम्रो सम्भावना छ । त्यो सन्देश उपमेयर कपमा पोखराका खेलाडीले दिने छन् ।’

पोखराले खेल गतिविधि चलायमान बनाइराख्न खेलकुद विकास समिति गठन गरेको छ । खेलाडीहरूलाई पोखराको प्रतिष्ठा कायम राख्न र अझै उचाइमा पुर्‍याउन आग्रह गरिन् । कात्तिक ४ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३१ टिमको सहभागी छ । प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जित्नका लागि आफूहरूले सहभागिता जनाएको बताए । ‘प्रतिस्पर्धामा जित्ने अपेक्षा सबैको हुन्छ । पोखराको पनि त्यही आसा छ,’ उनले भने, ‘खेलाडीहरू मेहनती र अनुशासित छन् । जित्ने टिम तयार गरेका छौँ ।’ प्रशिक्षक शम्भु केसीले २ महिनादेखि प्रशिक्षणमा रहेकोले राम्रो तयारी गरेको बताए । पार्वती रानामगरको कप्तानीमा पोखराको टोलीले प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *