चित्रमा रङ लगाउने बानी : स्वस्थ हुन्छन् बाबु नानी

काठमाडौँ । सामान्यतया बालबालिकाले चित्रमा रङ रमाइलोका लागि लगाउने गर्छन् । यसो गर्नु अहिले मानसिक रूपमा स्वस्थ हुन उपयोगी विधि पनि बनेको छ । केही अपवाद बाहेक धेरै विशेषज्ञहरूले चित्रमा रङ लगाउन कागज, पेन्सिल, रङ तयार गर्दा, क्यानभासमा चित्र कोर्न बस्दा मानसिक स्वास्थ्यको लागि थेरापी बराबरको सकारात्मक प्रभाव पर्ने बताएका छन् ।
रङ लगाउने काम अहिले वयस्कहरू माझ पनि रमाइलो र लोकप्रिय बन्दै गएको छ । व्यक्तिले आफ्नो मन मस्तिष्कलाई आनन्दित पार्ने सबैभन्दा राम्रो उपाय चित्रकला हो । त्यसमा पनि विज्ञहरूले चित्रमा रङ लगाउने कामले सतर्क बनाउने पत्ता लगाएका छन् ।

चित्रमा रङ लगाउने बानीले एउटै कुरामा ध्यान दिने, त्यसैमा केन्द्रित हुने र एउटै गतिविधिबाट बाहिर नजाने बनाउँछ । उदाहरणका लागि यदि कोही व्यक्ति कुनै चित्रमा रङ लगाइरहेको बेला एउटा रेखाभित्र ध्यान दिइरहेको छ भने अथवा त्यसमा केन्द्रित छ भने उसले त्यो समयमा आफ्नो दिमाग त्यही काममा मात्र लगाएको हुन्छ ।

आफ्नो वर्तमान बारे मात्र सोचिरहेको हुन्छ । नत्र व्यक्ति प्राय सबै समयमा आफ्नो विगत र भविष्यबारे सोचेर बसिरहेको हुन्छ यो नै एङ्जाइटीको प्रमुख कारण हो । हामी एङ्जाइटीबाट बच्न सक्याैँ भने यसले शरीरमा हुने दुखाई कम गर्छ, निद्रामा आउने समस्या समाधान गर्छ र डिप्रेसनको जोखिम पनि कम गर्छ ।

रङ तनाव कम गर्न र दिमागलाई सन्तुलित गर्न महत्त्वपूर्ण हुन्छ । त्यसैले चित्र बनाउने, रङ लगाउने नै सोख भएका व्यक्तिमा मानसिक समस्या कम हुन्छ । तर, चित्रकला र रङ लगाउनु नै तनाव व्यवस्थापन र एङ्जाइटी हुनबाट बच्ने एक मात्र उपाय नभए पनि यो राम्रो विकल्प भने पक्कै हो । किनभने लामो समय क्यानभासमा बिताउनु मानसिक बिरामीका लागि धेरै महत्त्वपूर्ण हुन्छ ।

चित्रमा रङ लगाउने कामले मानिसको तनाव व्यवस्थापनमा योगदान गर्ने कुरा वैज्ञानिकहरूले नै बताएका छन् । अझ बालबालिकाका लागि त यो काम उनीहरूलाई खुशी बनाउन धेरै नै सहयोगी हुने कुरा सार्वजनिक भइसकेको छ ।

यसबाहेक तनाव व्यवस्थापन गर्न यी विकल्प पनि उपयोगी हुन्छन् :

जनावरलाई साथी बनाउने र समय बिताउने 

जनावरले पनि मानिसलाई खुशी बनाउँछ भन्ने कुरा कुनै अचम्म लाग्ने कुरा होइन । मानिसको जनावरप्रति धेरै लगाव हुन्छ । त्यस्तै जनावरले पनि मानिसलाई विना कुनै स्वार्थ माया गर्ने गर्छन् । घरपालुवा जनावरहरू मानिससँग रमाउँछन् अनि साह्रै राम्रा पनि हुन्छन् ।

जनावरहरूसँग गुणस्तरीय समय बिताउँदा तनाव व्यवस्थापन हुन्छ । आफूले घरमा पालेको छैन भने स्वयंसेवकको रूपमा घरपालुवा जनावर राख्ने ठाउँमा गएर काम गर्न पनि सकिन्छ ।

किताब पढ्ने

किताब पढ्नाले मनमा शान्ति हुन्छ । चित्रमा रङ भर्नुले जस्तै किताब पढ्नुले पनि व्यक्तिलाई त्यही क्षणमा केन्द्रित हुने बनाउँछ । अरू तनावबाट टाढा हुन किताब पढ्न सकिन्छ ।

कानको लोती मसाज गर्ने 

अनौठो लाग्न सक्छ कानको लोतीमा मसाज गर्नाले शरीरमा शान्ति र आनन्दको अनुभूति हुन्छ । केही मिनेटसम्म यही कार्य गरिरहँदा बिस्तारै बिस्तारै आराम महसुस हुन्छ ।

शरीरलाई चलायमान राख्ने 

शरीरलाई चलायमान राख्नुपर्छ । यसको लागि आफूलाई सबैभन्दा धेरै मन परेको नृत्यको स्टेप गर्न सकिन्छ । आफूलाई मन परेको गीत गाउँदै नाच्ने हो भने यसले पनि एक किसिमको थेरापीको काम गर्छ । र यो काम बिस्तारै व्यायामको रूपमा विकास हुन्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *