विराटनगरमा ‘ठूला माछा–साना माछा’ मञ्चन

विराटनगर । शिल्पी थिएटरको मुक्त रङ्गमञ्च अभियान अन्तर्गत शुक्रवार विराटनगरमा ‘ठूला माछा–साना माछा’ मञ्चन गरिएको छ । शिल्पीले विराटनगरमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेर अभियानको सुरु गरेको छ ।

शिल्पीले प्रदेश–१ का मोरङ, सुनसरी र झापाका २१ स्थानमा सो नाटक मञ्चन गर्नेछ । विराटनगरबाट सुरु भएको नाटक रङ्गेली, विराटचोक, इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोड, काँकडभिट्टालगायतका स्थानमा मञ्चन गरिने नाटकका परिकल्पनाकार समेत रहेका निर्देशक घिमिरे युवराजले जानकारी दिए ।

राजनीतिक नेतृत्व र कर्मचारीले सर्वसाधारणलाई कसरी दुःख दिएका छन् भन्ने विषयलाई नाटकले सशक्त रूपमा उठान गरेको छ । स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमिततालाई पनि नाटकले देखाउने प्रयास गरेको छ ।

किसान, मजदुरहरूले सरकार, ठेकेदार र बिचौलियाबाट कतिसम्म दुःख पाएका छन् भन्ने विषयलाई नाटकले छर्लङ्ग पारेको छ । मञ्चन भएको नाटकलाई आधार मानेर लेखेका उत्कृष्ट ४ कवितालाई जनही २५ हजारका नगदसहित पुरस्कृत गरिने निर्देशक घिमिरेले जानकारी दिए । उनका अनुसार ‘ठूला माछा–साना माछा’ देशभर मञ्चन गरिने र त्यसपछि प्राप्त भएका कवितालाई पुरस्कृत गरिनेछ ।

घिमिरे युवराजको परिकल्पना र निर्देशनमा मञ्चन भएको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगता उराव, मानहाङ लावती, असिम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र संजीत थुलुङ राईले अभिनय गरेका थिए ।

वि.सं. २०६३ सालमा स्थापित शिल्पीले तीन महिने अभिनय तालिमसमेत सञ्चालन गर्दै आएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा समेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको शिल्पीले गाउँमा रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्ने गरेको छ । दर्शकका रूपमा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालासहित विभिन्न राजनैतिक दलका नेता, साहित्यकार, पत्रकार, बुद्धिजीवीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *