चलचित्रमा आवाज कसरी भरिन्छ ?

जसरी एक चित्रकारले चित्रमा रङ्ग भर्छ, त्यसरी नै चलचित्रको ध्वनि इन्जिनियर र ध्वनि डिजाइनरले चलचित्रमा ध्वनिलाई कलात्मक ढङ्गले भर्छ । उनीहरूले संवाद, सङ्गीत, पार्श्व सङ्गीत चलचित्रमा देखिएका सम्पूर्ण कुराहरूको आवाजलाई समेट्ने काम गर्छन् । वायुमण्डलीय ध्वनि, मौसम ध्वनि र साना साना व्यवहारिक आवाजहरू‚ जस्तैः ढोकाको आवाज, गाडीको आवाजदेखि व्यक्तिको हिँडेको आवाज, ताली पिटेको आवाजजस्ता सम्पूर्ण आवाजलाई कलात्मक रूपमा मिश्रण गरेर फाइनल चलचित्रको साउन्ड ट्र्याक बन्ने गर्छ ।

ध्वनि डिजाइनरहरू रचनात्मक हुन्छन्, जसले ध्वनिको सिर्जना पनि गर्छन् । फिल्डमै गएर उनीहरूले ध्वनि रेकर्ड पनि गर्ने गर्छन् । कलात्मक रूपले त्यही ध्वनिलाई मिश्रण गरेर चलचित्रमा प्रयोग गर्छन् । प्रत्येक चलचित्रलाई ध्वनि डिजाइनरको आवश्यकता पर्दछ । उनीहरू दर्शकका लागि जति सक्दो सुमधुर र चलचित्रलाई अझै रोचक बनाउन ध्वनिको रचनात्मक र वैज्ञानिक अभ्यास गर्छन् । ध्वनिलाई डिभाइसमा कैद गरी त्यसलाई चाहिएको फरक ध्वनि उत्पादन गर्ने कार्य पनि ध्वनि सम्पादकले गर्न सक्छन् ।

ध्वनि डिजाइनर स्क्रिनमा भएका हरेक क्रियाकलापमा आवश्यक आवाज प्रदान गर्न जिम्मेवार छन् । उनीहरू अन्तिममा निर्देशकसँग सहकार्य गरी चलचित्रको मूल ध्वनिको सृजना गर्ने गर्छन् । ध्वनि डिजाइनर विशेष मुड र सही ध्वनि सिर्जना गर्नका लागि चलचित्र सम्पादनको प्रक्रियाको बखत पनि जोडिएका हुन्छन् । धेरै जसो डिजाइनरहरूका फिल्म प्रोडक्सन हाउस छन् । उनीहरू त्यही नै ध्वनिसम्बन्धी कार्यहरू गर्ने गर्छन् भने केही स्वतन्त्र डिजाइनरका रूपमा सम्पूर्ण ध्वनि उपकरणका साथ स्वतन्त्र एवम् सृजनशील तवरले कार्य गर्छन् । उत्कृष्ट तथा रचनात्मक ध्वनि उत्पादनका लागि विशेष गरी ध्वनिको वैज्ञानिक अध्ययन तथा व्यक्तिगत रचनात्मक कार्यकुशलता आवश्यक पर्छ ।

जसरी एक चित्रकारले चित्रमा रङ्ग भर्छ, त्यसरी नै चलचित्रको ध्वनि इन्जिनियर र ध्वनि डिजाइनरले चलचित्रमा ध्वनिलाई कलात्मक ढङ्गले भर्छ । उनीहरूले संवाद, सङ्गीत, पार्श्व सङ्गीत चलचित्रमा देखिएका सम्पूर्ण कुराहरूको आवाजलाई समेट्ने काम गर्छन् ।

लामो समयको अध्ययन, अभ्यास र अनुभवले एनालग एवम् डिजिटल ध्वनि प्रविधिको कलात्मक एवम् उत्कृष्ट सम्मिश्रण सम्भव हुन्छ । त्यसैले राम्रो काम गर्न सक्ने क्षमता विकास गर्न र ध्वनिको ज्ञान प्राप्त गर्न लामो समय लाग्छ ।

ध्वनि डिजाइनर मेहनती हुन जरुरी छ‚ किनभने उसले उद्योगमा प्रवेश गर्नुभन्दा पहिला वर्षौँ ध्वनि रेकर्ड र प्रयोग गरेको हुनुपर्छ । दृश्यमा भएका ध्वनिहरू बदल्नुपर्ने र सफा गर्न पनि धेरै मेहनत चाहिन्छ । र यो टेक्निकल काम भएकाले प्रोसेस जान्न जरुरी छ । दर्शकहरूलाई चलचित्रको सिनको मागअनुसार ध्वनिको उत्तम प्रयोगले मनोरञ्जन गर्नुपर्ने हुन्छ ।

हरेक चलचित्रको प्रकृति फरक हुन्छ, कुनै चलचित्र सिधा हुन्छन् भने कुनैमा जटिल ध्वनिको प्रयोग गर्नुपर्ने हुन्छ । जस्तैः कमेडी, द्वन्द्व, सस्पेन्स, थ्रीलर हरेक चलचित्रका धारमा आफ्नै शैलीको साउन्ड डिजाइन हुन्छ । ध्वनि डिजाइनरका लागि प्रत्येक चलचित्रको काम नयाँ प्रयोग नै हुन्छ । काम सकेर तयार गर्नुपर्ने मिति पहिले नै तोकिएको हुन्छ ।

त्यसैले तालिकामा रहेर समयावधिमा बाँधिएर सिर्जनाको काम गर्न कहिलेकाहीँ अप्ठ्यारो पनि हुन्छ । त्यस्तै एकैपटक धेरै प्रोजेक्टमा काम गर्न सक्दिनन् । जटिलताका कारण कहिलेकाहीँ एउटी चलचित्रको काम गर्न पनि महिनौँ लाग्न सक्छ ।

साउन्ड डिजाइन धेरै टेक्निकल र औजारसँग जोडिएको काम पनि हो । यसका लागि पहिले भने झैँ एनालग र डिजिटल प्रविधिको राम्रो ज्ञान हुनु जरुरी छ । सन् १९२० भन्दा पहिला मोसन पिक्चरमा साउन्ड भर्न जटिल थियो । र त्यति बेला धेरै चलचित्रहरू साइलेट्न (आवाजविहीन) बन्ने गर्थे । पछि ध्वनि प्रविधिको विकाससँगै मोनो स्टेरियो हुँदै हाल हामीले सराउन्ड साउन्डमा चलचित्रको काम गरिरहेका छौँ । हाल सबै चलचित्र घरहरू सराउन्ड साउन्ड टेक्नोलोजीबाट सञ्चालित छन् । हरेक चलचित्रले ध्वनिलाई महत्त्वपूर्ण अङ्गको रूपमा लिन थालेका छन् ।

चलचित्रको फाइनल साउन्ड तयार गर्न, संवाद, सङ्गीत, पार्श्व सङ्गीत पृष्ठभूमि स्वर र परिवेशको स्वरलाई चलचित्रको मागअनुसार सुमधुर र सन्तुलित तरिकाले मिश्रण गरी चलचित्रको साउन्ड ट्र्याक निर्माण गरिन्छ ।

संवाद कलाकार र कथाको ठुलो अंश हो, त्यसैले अडिओ तत्त्व महत्त्वपूर्ण छ । चलचित्रमा ध्वनिको महत्त्वपूर्ण स्थान रहन्छ । जसमा स्थलगत ध्वनि रेकर्डिस्ट, ध्वनि सम्पादक ,साउन्ड एफएक्स रेकर्डिस्ट/सम्पादक‚ फ्लपी आर्टिस्ट, रेकर्डिस्ट, ब्याकग्राउन्ड स्कोर‚ रेकर्डिस्ट‚ डबिङ रेकर्डिस्ट‚ इडिटर सबैसँग सहकार्य गरेर फाइनल साउन्ड डिजाइन, मिक्स र मास्टर गर्नुपर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा – चलचित्रको फाइनल साउन्ड तयार गर्न, संवाद, सङ्गीत, पार्श्व सङ्गीत पृष्ठभूमि स्वर र परिवेशको स्वरलाई चलचित्रको मागअनुसार सुमधुर र सन्तुलित तरिकाले मिश्रण गरी चलचित्रको साउन्ड ट्र्याक निर्माण गरिन्छ ।

संवाद
एउटा चलचित्रमा एक व्यक्तिको स्वर वा धेरै मान्छे बिचको कुराकानीको रूपमा संवाद परिभाषित हुन सक्छ । यी संवाद हरूको सिन/फिल्म ब्याकग्राउण्ड अनुसार सही प्रयोग ध्वनि डिजाइनरले गर्नु पर्छ । १०० वर्ष पहिले अडियो संवाद बिना को चलचित्र को कुरा गर्दा त्यति बेला चलचित्रमा त संवाद कार्डहरू को प्रयोग गरिन्थ्यो । अहिले समय परिवर्तन भएको छ र चलचित्रमा आवाज (संवाद) नै प्रयोग गर्ने गरिन्छ ।

सङ्गीत/पार्श्व सङ्गीत
सङ्गीतको आफ्नै ट्र्याक हुन्छ । चलचित्रको सुरुको क्रेडिट देखि अन्तिम क्रेडिट सम्म सङ्गीत हुन्छ । चलचित्र को दृश्यहरूको मुड अनुसार पार्श्व सङ्गीत बनाइएको हुन्छ । हाम्रो नेपाली चलचित्रमा गीत हुन्छ, त्यो आफैमा एउटा सँग ट्र्याक हो । तसर्थ चलचित्र मा गीत र पार्श्व सङ्गीत को उचित मिश्रण गर्ने काम साउन्ड डिजाइनरले गर्दछ ।

वातावरणीय अर्थात् पृष्ठभूमि ध्वनि
चलचित्रको दृश्यमा कुनै न कुनै स्थान देखाइएको हुन्छ । जस्तै कोठा, घर बाहिर वा कुनै पनि स्थान, प्रत्येक स्थानको वातावरण मिलाउनु पर्ने अथवा सिर्जना गर्नु पर्ने हुन्छ । वातावरणीय ध्वनिका उदाहरणहरू जस्तै हावा, वर्षाको आवाज, बगी रहेको पानी आदिले चलचित्रलाई यथार्थपरक र वास्तविकताको झलक दिन्छ।

परिवेश स्वर
हरेक चलचित्रका हरेक दृश्यमा केही न केही गतिविधि भइरहेका हुन्छन् । जस्तै, पात्रहरूको गतिविधिमा हिँडडुल, द्वन्द्व, कपडा एवम् आभूषणका आवाज हुन्छन् । यति मात्र नभएर दृश्य मा भएका अन्य गति विधिहरू जस्तै ढोका बजेको आवाज, निदाएका बालकको आवाज स्पष्ट सुनिने गर्छन् । ती सबै आवाज अथवा ध्वनि लाई सफा गर्न र आवश्यकता अनुसार फेरी थप सिर्जना गर्नुपर्ने हुन्छ । यी सबै ध्वनिको रचनात्मक एवम् वैज्ञानिक सम्मिश्रण ले चलचित्र दृश्य पूर्ण सुनिन्छ ।

ध्वनि डिजाइनरहरू रचनात्मक हुन्छन्, जसले ध्वनिको सिर्जना गर्छन् । फिल्डमै गएर उनीहरूले ध्वनि रेकर्ड पनि गर्ने गर्छन् । कलात्मक रूपले त्यही ध्वनिलाई मिश्रण गरेर चलचित्रमा प्रयोग गर्छन् । प्रत्येक चलचित्रलाई ध्वनि डिजाइनरको आवश्यकता पर्दछ ।

यी मुख्य चार ध्वनिको सन्तुलित मिश्रण मार्फत साउन्ड डिजाइनरले चलचित्रको माग अनुसार को अन्तिम साउन्ड ट्र्याक तयार पार्छन् । संवाद, ध्वनि प्रवाह र सङ्गीतको छुट्टै ट्र्याक हुन्छ जुन सँगै मिसिएका हुन्छन् जसलाई कम्पोज्ड ट्र्याक भनिन्छ । जसलाई दर्शकहरूले सहजै चलचित्रमा सुन्न र देख्न सक्छन् ।

यी सबै कुरा को उचित प्रयोग साउन्ड डिजाइनरले निर्देशकले चलचित्र को लागि कल्पना गरे अनुरूप ध्वनि को डिजाइन गरेर प्रदान गर्छ ।

अमित श्रेष्ठ पेसागत रूप मा एक ध्वनि सम्पादक (साउन्ड डिजाइनर/इन्जिनियर) हुन् । उनले ल्यासली कलेज अफ आर्ट्स सिंगापुरबाट उच्च शिक्षा हासिल गरेका छन् । अध्ययन पश्चात् श्रेष्ठले सिंगापुर मै रही सोही क्षेत्रमा केही समय काम गरे । त्यहाँबाट फर्के पश्चात् सन् २०१० देखि नेपालको चलचित्र एवम् श्रव्य दृश्य क्षेत्रमा युवा ध्वनि डिजाइनर को रूपमा काम गरिरहेका छन् । यस दौरानमा श्रेष्ठले करिब ३५ भन्दा बढी मूलधारका नेपाली चलचित्रहरूमा प्रमुख ध्वनि डिजाइनर/ इन्जिनियरका रूपमा अनुभव बटुली सकेका छन् । उनले वृत्तचित्र र विज्ञापनको काम समेत गर्ने गर्छन् । हाल उनले आफ्नै नेपासा नामक स्टुडियो सञ्चालन गरी स्वतन्त्र कलाकर्मीका रूपमा काम गरिरहेका छन् ।

(साउण्ड डिजाइनर श्रेष्ठसँग मकालुखबरकर्मी दीक्षा कट्टेलले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *