पत्रकारितामा अजयको दोस्रो इनिङ्स

झापाको गौरीगञ्जमा पढ्दै गर्दा उनको परिचय एक मेधावी छात्रको थियो । धेरै नबोल्ने स्वभावका उनी विराटनगरको महेन्द्र मोरङ क्याम्पमा स्नातक सकेपछि स्नातकोत्तर पढ्न काठमाडौँ आए । भर्ना भए त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको एम ए अंग्रेजी केन्द्रीय विभागमा । घरको आर्थिक अवस्था सामान्य थियो । खर्च कम गर्न पनि उनी केही समय विश्वविद्यालयको होस्टल बसे । तर, ‘पढन्ते’ उनी होस्टलको होहल्लामा रत्तिन सकेनन् । ट्युसन र कोचिङ पढाएर आएको पैसाले कोठा खोजेर बस्न थाले बल्खुमा ।

रमाइलो गरी जोडिएको साइनो
त्यति बेलासम्म पत्रकारिताको साइनो केही पनि थिएन अजय दाससँग । स्नातकोत्तर अन्तिम वर्षको परीक्षा सकेपछि काम गर्ने दबाब हुने नै भयो । परिवारका सदस्यले मात्र होइन‚ आफ्नै मनले पनि अब त केही ठोस काम गर्नुपर्छ भन्छ नै । यस्तै थियो अजयलाई पनि ।

एक दिन उनले थाहा पाए‚ शहरमा आएको नयाँ एफएम स्टेसनले समाचार विभागमा काम गर्ने मान्छे (पत्रकार) खोजिरहेको छ । निवेदन लेखे र पुल्चोकको कार्यालयमा पुगेर बुझाए । त्यो समयमा मोबाइल फोन हुने कुरै भएन, ल्यान्डलाईन फोनमा पनि डेरावालाको सहज पहुँच थिएन । उनले एकजना पुराना घरबेटीको नम्बर सम्पर्कका लागि दिएका थिए आवेदनमा ।

उनी आस गरेर बसे । सर्टलिस्टिङ नाम भएको खबर त आयो‚ तर सम्पर्क गर्न भनिएको दिनभन्दा ढिलोमात्र उनले चाल पाए । उनी खिन्न भए । तर किन किन उनको मनले ‘एकपटक आवेदन दिएको ठाउँमा जा’ भन्यो । बोलाएको भन्दा २ दिन ढिलो उनी फेरि त्यही कार्यालय पुगे‚ जहाँ उनले आवेदन छाडेका थिए । न धेरै अपेक्षा थियो‚ न पर्याप्त तयारी नै । थियो त केवल केही गर्छु भन्ने आत्मविश्वास ।

अनुरोध गरेपछि बल्लतल्ल हाकिम सा’बलाई भेट्न पाए । उनले बोलाएको समयमा आउन नपाएकोमा दुःख व्यक्त गरे र आफ्नो बाध्यता पनि सुनाए । राम्रोसँग कुराकानी गरे । छुट्टिनुअघि कुरा टुङ्ग्याउँदै आत्मविश्वासका साथ एक वाक्य भने, ‘जे होस्‚ मलाई छनोट गर्नुभएन भने तपाईँहरूले एउटा राम्रो मान्छे गुमाउनुहुनेछ ।’ उनको कन्फिडेन्सले पनि केही प्रभाव पक्कै पार्‍यो । साथमा समाचार कक्षमा अंग्रेजीमा दक्खल राख्ने एकजना व्यक्तिको खाँचो पनि थियो । र उनी थिए‚ अंग्रेजी साहित्यमै स्नातकोत्तर तहको पढाइ सकेर बसेका व्यक्ति ।

उनी छनोट भए र सुरु गरे जागिर, कान्तिपुर एफएम पुल्चोकमा । यो २०५६ सालको कुरा । आफ्ना सिनियरहरूसँग मिलेर न्यूजरुम सेटअपदेखि काम गर्ने तौरतरिका, समाचार बुलेटिनको धुनलगायतका धेरै कुरामा काम गरेको अनुभव सँगाले । ८ जनाको टिमले दिनमा ६ वटा १५ देखि ३० मिनेटसम्मका समाचार बुलेटिन तयार पार्ने काम थाले । समाचार पढ्ने अरू मानिस थिएनन् । रिपोर्टिङ गर्ने, समाचार लेखेर तयार पार्ने र पढ्ने काम सुरु भयो ।

सुनिनेबाट देखिने विधामा पनि
२०६० सालमा कान्तिपुर टेलिभिजन सुरु भयो । उनको काम गर्ने पारा र जुनियरसँग काम लिने शैली न्यूजरुममा परिचित बनिसकेको थियो, त्योभन्दा बढी उनको आवाज र समाचार प्रस्तुतिको शैली लाखौँ श्रोतालाई मुग्ध बनाउने खालको थियो ।

उनलाई टेलिभिजनमा पनि समाचार प्रस्तुत गर्ने अफर आयो । नाइँनास्ती गर्नुपर्ने कारण थिएन । तर उनी रेडियो छोड्न भने चाहँदैन थिए । रेडियोमा बिहानको ‘ड्युटी’ गरेर दिउँसो टेलिभिजनमा जाने गरी कुरा मिल्यो । अनि सुरु भयो‚ कान्तिपुर टेलिभिजनमा अजयको पत्रकारिताको अर्को अध्याय । सुनिनेमात्र अजय अब देखिने पनि भए ।

करिब ३ वर्षपछि दुईतिरको कामले धपेडी बढाएको जस्तो भयो । उनले कलेज पनि पढाउन थालेका थिए । काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ म्युजिकमा उनी अंग्रेजी विषय पढाउँथे ।

धपेडी कम गर्न रेडियो र टेलिभिजनमध्ये एकतिरको काम छाड्नुपर्ने अवस्था आयो । उनी टेलिभिजन छोडेर रेडियोलाई नै निरन्तरता दिने निधोमा पुगे । ‘रेडियोमा सुरुदेखि नै काम गरेकाले पनि होला‚ अर्को चाहिँ मलाई देखिनेभन्दा सुनिने कुरा नै अझ आनन्ददायक लागेकाले पनि होला‚ मैले रेडियोलाई नै निरन्तरता दिने मन बनाएको थिएँ‚’ मकालुखबरसँग अजयले भने ।

टेलिभिजनको क्रेज बढ्दो र राम्रो भएको बेला किन छाड्न लागेको भनी केही सहकर्मीले उनको मन टेलिभिजनमै फर्काउन पनि खोजेको उनी सम्झन्छन् । तर उनलाई रेडियोमै रस बसेको थियो ।

कान्तिपुर रेडियोमा समसामयिक विषयमा छलफल गर्ने दैनिक टक शो ‘हेडलाइनर्स’ सुरु गरे‚ जुन अद्यापि लोकप्रिय छ । माओवादी द्वन्द्व चर्किरहेका बेला विदेशी मिडियाको नेपालप्रतिको चासो बढ्दो थियो । उनले ‘एआरडी जर्मन रेडियो’को नेपाल संवाददाताको रूपमा रिपोर्टिङ गर्ने मौका पाए । माओवादी द्वन्द्व, दरबार हत्याकाण्ड, ६२–६३ को जनआन्दोलन, शान्ति प्रक्रियालगायतका विषयमा रिपोर्टिङको अनुभव सँगाले ।

अनि बाटो मोडियो
करिब ७ वर्ष काम गरिसकेपछि उनले पत्रकारिता छाडे । निर्णय लिन निकै कठिन त भयो‚ तर आफ्ना अघिल्तिर आएको अवसर निकै राम्रो भएकाले उनले करियरलाई पत्रकारबाट एक विश्लेषकका रूपमा रूपान्तरण गर्ने गरी बाटो मोडे । तत्कालीन सरकार र विद्रोही माओवादीबीचको शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन बाँकी रहेका त्यसबेलाका काममा सहजीकरण गर्ने गरी संयुक्त राष्ट्रसङ्घीय मिसन ‘अनमिन’ले नेपालमा काम सुरु गरेको थियो ।

अजयले त्यहीँ ‘राजनीतिक विश्लेषक’ (पोलिटिकल एनालिस्ट)को काम सुरु गरे । डेढ वर्ष जति काम गरेपछि त्यहाँबाट उनले नेपालका लागि बेलायती राजदूतावासमा राजनीतिक अधिकृतको रूपमा काम गरे । त्यसपछि उनले फेरि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को शान्ति निर्माणसम्बन्धी परियोजनामा करिब ५ वर्ष काम गरे । अनि लागे अफगानिस्तान । गृहयुद्धले अस्तव्यस्त बनेको अफगानिस्तानको कान्दाहारमा यूएनडीपीको क्षेत्रीय कार्यालयमा उनले करिब २ वर्ष कार्यालय प्रमुखको भूमिका निर्वाह गरे ।

र, फेरि जोडिए सञ्चारकर्ममा
गएको वर्ष अफगानिस्तानबाट बिदा भएर नेपाल फर्कँदा अजयलाई सञ्चारकर्ममा फेरि जोडिन्छु भन्ने दश मनमा एक मन पनि लागेको थिएन । नेपाल आएको केही समयमै उनलाई खुल्न लागेको नयाँ टेलिभिजनमा काम गर्ने अफर आयो । एक हिसाबले बिर्सिसकेको क्षेत्रबाट आएको त्यो अफरले उनलाई कता कता सञ्चारकर्मप्रतिको सम्मोहन बढाइदियो । मनको एउटा कुनामा मिडिया क्षेत्रमा केही गर्ने हुटहुटी पनि बाँकी थियो क्यार, उनलाई त्यो प्रस्ताव नराम्रो लागेन ।

अर्को मनले छाडेको यतिका समयमा कति कुरा बदलिए, काम गर्ने ढाँचादेखि पाठक र दर्शकका रुचि अनि प्रतिस्पर्धा पनि फेरिए, अर्कातिर बग्रेल्ती सञ्चारमाध्यमका हुलमा उस्तै काम गर्ने हो भने त किन फेरि फर्किने र ? भनेर खबरदारी पनि गर्‍यो । उनले सञ्चारमाध्यम र विषयवस्तुको सूक्ष्म विश्लेषण पनि गरे । केही गर्न सकिने ठाउँहरू भेटिए । सञ्चालकहरूसँग थप भेटघाट र कुराकानीपछि उनी फेरि सञ्चारकर्ममा फर्किन राजी भए ।

अनि जोडिए ग्यालेक्सी फोर के टेलिभिजनको समाचार कक्षमा । उनले समाचार कक्षमा धेरै जनालाई भित्र्याए । टिम ठुलो हुँदै गयो । अहिले उनी सम्पादकका रूपमा काम गरिरहेका छन् । अनि समाचार प्रस्तुत पनि गरिरहेका छन् । भनिन्छ खोला फर्किन १२ वर्ष लाग्छ । अजयलाई सञ्चारकर्ममा फर्किन त्योभन्दा १ वर्षभन्दा बढी‚ अर्थात् १३ वर्ष लाग्यो ।

‘निकै कुराहरू परिवर्तन भएछन्’, मकालुखबरसँग उनले सम्झिए, ‘प्राविधिक परिवर्तन त छँदैछ, पत्रकारहरूको नयाँ पुस्तासँगै आएको परिवर्तन पनि निकै रहेछ ।’ आफ्नो दोस्रो ‘इनिङ्स’मा आफू यस्ता दुवै परिवर्तनहरूसँग समन्वय गर्दै काम गरिरहेको उनले बताए ।

पत्रकारिताका धेरै कुरा र दर्शकको स्वाद पनि फेरिएको सन्दर्भमा अजयलाई सञ्चारमाध्यमले उठाउनुपर्ने विषय सही ढङ्गले उठाउन नसकिरहेको हो कि जस्तो लाग्छ । विषयवस्तुलाई चाखलाग्दो र सटिक तरिकाले प्रस्तुत नगरेसम्म दर्शकलाई भिजुअल मिडियामा टिकाइराख्न गाह्रो हुने उनको बुझाइ छ । यस्तो बेलामा सञ्चारकर्ममा जोडिनुलाई उनले चुनौतीको विषयका रूपमा पनि लिएका छन् ।

‘हेरौँ कत्तिको गर्न सकिन्छ, केही नयाँ गर्न सकियो र पत्रकारिताको धर्म‚ अर्थात् आवाजविहीनहरूको आवाज बन्न थोरैमात्र सकियो भने पनि पत्रकारितामा ‘रि-ईन्ट्री’ गर्ने मेरो निर्णय सही साबित हुनेछ‚’ अजयले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *