मुख्यमन्त्री आचार्यले राजीनामा नदिने, विश्वासको मत लिने

विराटनगर । नेकपा (एमाले) संसदीय दल, प्रदेश नं. १ को बैठक सकिएको छ । शुक्रबार (आज) बिहान बसेको दलको बैठकले विश्वासको मत लिएर जाने निष्कर्ष निकालेको हाे ।

बैठकमा विश्वासको मत लिने कि मार्गप्रशस्त गर्नेबारे छलफल भएको थियो । जसमा अधिकांश सांसदहरूले विश्वासको मतबाटै आगामी यात्रा छिनोफानो गर्न मुख्यमन्त्री भीम आचार्यलाई सझाव दिएका थिए । एक सांसदले बताएअनुसार यसपछि मुख्यमन्त्री आचार्य विश्वासको मत लिन राजी भएका छन् ।

कात्तिक ६ र ९ गते नेकपा एमालेको वडा तथा गाउँ नगर अधिवेशन रहेकोले त्यो सकेर आगामी कात्तिक ११ गते मतदान गर्नेगरी सहमति खोज्ने बारेमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाउने तयारीमा एमाले देखिएको छ ।

बैठकमा सहभागी सांसद तथा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले विश्वासको मत लिएर जानुपर्ने भन्ने सांसदको संख्या धेरै भएपछि विश्वासको मत लिएरै जाने निष्कर्ष निकाल्दै बैठक सकिएको हो । कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सहमति खोजेर मिति तोकेर जाने बारेमा आज टुंगो लाग्ने साम्सोहाङले बताए ।

एमालेका सांसद राजकुमार ओझाले राजीनामा दिने भन्दा पनि विश्वासको मत लिएर अघि बढ्ने दाबी गरे । ‘सरकारले विश्वासको मत लिएर अघि बढ्नुपर्छ भन्ने माननीयज्यूहरूको कुरा छ,’ उनले भने, ‘हामीले विश्वासको मत प्राप्त गर्ने आधारहरु पनि रहेकोले दोश्रो विकल्प भनेको मात्र राजीनामा हो ।’ एमालेको बैठकसँगै अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

यसअघि आचार्यले झापाबाट आफू बहुमत जुटाएरै अघि बढ्ने दाबी गरेका थिए । एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग अहिले बहुमत छैन । केन्द्रीय गठबन्धनअनुसार दलहरू यहाँ मोर्चाबन्दी बनेपछि मुख्यमन्त्री आचार्यको पद गुम्ने पक्कापक्कीजस्तै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *