बाढी/पहिरो: सुदूरपश्चिममा ज्यान गुमाउनेको संख्या २९ पुग्यो

धनगढी । सुदूरपश्चिममा वर्षासँगै आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ । बुधबार रातिसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी डोटीमा १४ जनाको मृत्यु भएको छ । बझाङमा सात, बैतडीमा चार, डडेल्धुरा र कैलालीमा दुई-दुई जनाको मृत्यु भएको छ ।

डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक-एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सायल गाउँपालिका-६ मा पहिरोले घर भत्किँदा १४ वर्षीय सागर कुन्जेडा, ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका-१ का ७४ वर्षीय वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ । पहिरोमा परेर सायल गाउँपालिका-५ का ५८ वर्षीय लहरे लुहार, ५८ वर्षीय हिरुवा लुहार र ७५ वर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

यसैगरी पहिरोले घर पुरिएर जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर-३ का ७३ वर्षीय जोगी सार्की, ६१ वर्षीया झुपरी सार्कीको मृत्यु भएको छ । सोही गाउँपालिका-४ का शेरबहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका-१ का सचिन बिकको मृत्यु भएको छ । शिखर नगरपालिका-११ की ३५ वर्षीया मन्तरा बलायरको पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । यस्तै बोगटान फुड्सिल गाउँपालिका-५ का चन्द्रा नेपालीको पनि मृत्यु भएको छ ।

यसैगरी बझाङमा पहिरोमा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई बालकको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका सात वर्षीय छोरा आयुष पार्कीको पहिचान भएको छ भने अर्को एक बच्चाको पहिचान खुल्न बाँकी छ । मौसम अनुकूल भएपछि पहिरोमा पुरिएकाहरूको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा खटिइसकेको छ । थलारा गाउँपालिका-४ डिक्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए ।

पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । विस्थापित ७ सय जना विद्यालयमा बसिरहेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरूको उद्धार र खोजी कार्यको लागि आवश्यक राहत र औषधिको व्यवस्था गरिएको छ ।

यस्तै, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र एक नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन् । सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ ।

यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका-१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका-३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।

यता कैलालीमा कर्णाली नदीको बाढी गाउँ पसेपछि भएको डुबानमा परेर टीकापुरमा एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीका ९४ वर्षीय करवीरे ढोलीको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लाकै जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ फाडियामा एक करिब दुई वर्षीया बालिकाको शव फेला परेको छ ।

काँडा नदी किनारमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी छ । कैलालीमा अझै एक जना बेपत्ता छन् । सुदूरपश्चिममा भर अझै २५ जना बेपत्ता रहेका छन् । उनीहरूको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *