एमसीसी ‘करेक्सन’ गर्न अमेरिका तयार छ : प्रधान मन्त्री

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले अमेरिका एमसीसी ‘करेक्सन’ गर्न तयार रहेको बताएका छन् । ‘एमसीसी विशुद्ध नेपालको हितमा छ,’ सरकार गठनको १०० दिन पुगेको अवसरमा गोरखापत्रसँग कुराकानी गर्दै प्रधान मन्त्री देउवाले भने, ‘त्यही पनि एमसीसी करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ । अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ ।’

एमसीसी ऋण नभइ अनुदान रहेको स्मरण गराउँदै प्रधान मन्त्री देउवाले केही तत्वले एमसीसीलाई बखेडा बनाएको बताए । एमसीसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि उनले बताए । ‘यो नेपालको हितमा छ । यसलाई चाँडै पारित गर्नुपर्छ,’ उनले भनेका छन् ।

यद्यपि गत महिना मात्रै नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भने एमसीसी सम्झौता संशोधन वा फेरबदल नहुने स्पष्ट बताएकी थिइन् । नेपाली शीर्ष नेताहरूलाई भेटेकी सुमारले एमसीसी सम्झौता कुनै पनि हालतमा संशोधन नहुने र यसमा नेपालले सहमति जनाउने विश्वास रहेको बताएकी थिइन् ।

एमसीसीबारे नेपालमा साझा धारणा बनिसकेको छैन । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी संसद्बाट परित हुनुपर्ने माग राख्दछ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतका सत्तासाझेदारी दलहरू एमसीसी संशोधनसहित मात्रै पारित हुनुपर्ने अडानमा छन् ।

सन् २०१७ मा अमेरिका–नेपालबीच भएको सम्झौतामा नेपालले कदम अगाडि नबढाउँदा अमेरिका रिसाउन थालेको छ । यसबीचमा ‘एमसीसी कार्यान्वयनमा किन ढिलो ?’ भन्दै धेरै वटा प्रतिनिधिमण्डल अमेरिकाबाट नेपाल आइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *