उपाध्यक्ष फतिमाले भनिन्- ‘एमसीसीबारे नेपालमा जे भयो, त्यो नहुनुपर्थ्यो’

काठमाडौँ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले एमसीसीबारे नेपालमा भएको विवादबारे चित्त दुखाएकी छन् । विहीबार (आज) बिहान मात्रै काठमाडौँ आइपुगेको फतिमा नेतृत्वको टोलीले सबैभन्दा पहिले विपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । ओलीसँगको वार्ताका क्रममा फतिमाले विवादबारे चित्त दुखाएकी हुन् । ‘एमसीसीलाई लिएर अहिले नेपालमा जे भइरहेको छ,’ फतिमाको भनाइलाई उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, ‘यो नहुनुपर्थ्यो ।’

जवाफमा ओलीले ‘हामी अहिले प्रमुख प्रतिपक्षी बनेका छौँ, हामीले संसद्मा विचाराधीन भएको विषयबारे बोलेर केही हुन्न’ भनेर जवाफ दिएका थिए । फतिमाले नेपालको अवस्थालाई मनन गर्दै एमसीसीले सहयोग गर्न खोजेको बताएकी थिइन् । ‘रुलिङ्ग पार्टी नै यस विषयमा स्पष्ट छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘पहिले उहाँहरू (सत्तासीन दल) लाई आफ्नो आधिकारिक धारणामा प्रष्ट हुन दिउँ । प्रतिपक्षीको हैसियतले भूमिका खेल्ने कुरामा हामी कञ्ज्युस्याइँ गर्दैनौँ ।’

‘सभामुखलगायतको भूमिकाका कारण एमसीसी संसद्मै अल्झ्यो’

वार्ताका क्रममा ओलीले सभामुखलगायतका भूमिका कारण एमसीसी अगाडि बढ्न नसकेको बताएका थिए । ‘हामी सरकारमा हुँदा संसद्मा टेबल गरिसकेकै हो । तर, सभामुखलगायतका भूमिकाका कारण त्यसपछि अघि बढ्न सकेन । अहिले हामी विपक्षमा छौँ । अहिले हामीले केही गर्न सक्दैनौँ । रुलिङ्ग पार्टीले पहिले स्पष्ट पारोस् । हामीसँग राय मागोस्, हामी आफ्नो भूमिका निभाउन तयार छौँ,’ ओलीले फतिमालाई भनेका छन् ।

अमेरिका पनि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने देश भएको र विपक्ष पार्टीले के के गर्न सक्छ भन्ने कुराको जानकारी भएको स्मरण गराउँदै ओलीले भने, ‘अमेरिका पनि लोकतान्त्रिक पद्धतिबाट चलेको छ । संसद्मा विपक्ष पार्टीले के के गर्न सक्छ भन्ने कुरा तपाईंहरुलाई पनि थाहा छ । हामी पनि अहिले अपोजिसनमा छौँ । हामीले गरिहाल्ने केही छैन ।’

एमसीसी संसद्मा टेबल हुँदा सभामुखको भूमिकामा माओवादी केन्द्रको कोटाबाट आएका कृष्णबहादुर महरा थिए । महरा निलम्बनमा परेपछि अहिले पनि माओवादीकै कोटाबाट अग्निप्रसाद सापकोटा सभामुख छन् । माओवादी एमसीसी बिनासंशोधन पारित हुन नहुने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *