हुम्ला र धनकुटामा घर भत्किँदा १० जनाको मृत्यु

काठमाडौँ । धनकुटा र हुम्ला घर भत्किँदा १० जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

यस्तै पाँचथरमा पनि बाढी पहिरोका कारण ५ जनाको मृत्यु भएको छ । जिल्लाका पाँचथरको फिदिम–५ का ममता लिम्बू र रोमन मगरको मृत्यु भएको हो । मिक्लाजुङका धनबहादुर लावती, फाल्गुनन्दका फुर्जा तामाङ र कुम्मायक गाउँपालिकाका डम्मरकुमार शर्माको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीन राईले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोमा परी ५ जना बेपत्ता भएको छ । त्यस्तै, झापा, मोरङ र सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेको छ ।

हुम्लामा माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँमा लगातारको वर्षासँगै माटोको ढिस्को खसेर घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर घरमाथिबाट माटोको ढिस्को खस्दा धनवीर शाहीसहित उनको परिवारका ६ जना बेपत्ता भएकोमा ४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । उनका अनुसार शाहीको परिवारमा ६ जना रहेको भनिए पनि सबै घरमा थिए/थिएन भन्ने खुलेको छैन । अहिले सेना तथा प्रहरीसहितको टोली घटनास्थल पुगेको र शवहरू निकाल्ने क्रम जारी प्रजिअ आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *