कप्तान किरण भन्छन्:

‘तालमेल नहुँदा लक्ष्य पूरा भएन’

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार चेम्जोङ (लिम्बु) ले तालमेल नहुँदा लक्ष्य पूरा नभएको बताएका छन् । माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर सोमबार (आज) स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै किरणले यस्तो बताएका हुन् ।

खासगरी फाइनल खेलको दोस्रो हाफमा आफूहरूको तालमेल नमिलेको किरणले बताए । ‘दोस्रो हाफमा तालमेल मिलेन,’ किरणले भने, ‘यसपछि लक्ष्य पूरा भएन ।’ यद्यपि निराश भइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । योभन्दा अझ माथि उठ्न सकिने कुरामा आफू विश्वस्त रहेको किरणले बताएका छन् ।

यस्तै किरणले यो टिमको भविष्य राम्रो रहेको बताए । खेलाडीहरूले व्यक्तिगत क्षमता देखाएको उल्लेख गर्दै उनले भने, ‘टिम राम्रो हुँदा पनि फाइनल खेलको दोस्रो हाफको पाँच मिनेटले गर्दा हामीले खेल हार्न पुग्यौं । अन्जन विष्ट फाइनलमा नहुँदा मिस भएको थियो । उसलाई पनि फाइनल खेल्ने इच्छा थियो । प्रशिक्षक अलमुइरी र अञ्जन नहुँदा पनि मैले टिमलाई सक्दो उत्साह दिने कोसिस गरेको थिएँ । हामीले केही गल्ती गर्‍याैँ । यसलाई भविष्यमा सुधार गर्नु पर्छ ।’

गत शनिवार राति भएको खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । लिग चरणमा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *